ब्राइटनसँग हार्यो म्यानचेस्टर युनाइटेड

-
एजेन्सी
- |
- २०८१-१०-०६
- |
- 2385 पटक हेरिएको
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाइटेड ब्राइटनसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो पाँच मिनेटमै ब्राइटनले अग्रता लिएको थियो । काओरु मितोमाले उत्कृष्ट खेल प्रदर्शन गर्दै यानकुवा मिन्टेहलाई सहज गोलको अवसर सिर्जना गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले २३औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । जोसुआ जर्कजीलाई तानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
तर दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई थप गोल गर्यो । ६०औं मिनेटमा काओरु मितोमाले हेडिङमार्फत गोल गरे भने ७६औं मिनेटमा ब्राइटनका बैकल्पिक खेलाडी जोर्जिनियो रुटरले म्यानचेस्टरका गोलकिपर आन्द्रे ओनानाको गल्तीको फाइदा उठाउँदै गोल थपेका थिए ।
हारसँगै म्यानचेस्टर युनाइटेड तालिकाको १३ औं स्थानमा छ भने विजयी भएको ब्राइटनले एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएको छ ।