यू-१९ महिला टी-२० विश्वकपमा भारतको विजयी सुरुआत

-
एजेन्सी
- |
- २०८१-१०-०६
- |
- 2384 पटक हेरिएको
डिफेन्डिङ च्याम्पियन भारतले यू-१९ महिला टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। आइतबार कुआलालम्पुरमा वेस्टइन्डिजविरुद्ध भएको पहिलो खेलमा भारतले ९ विकेटको जित दर्ता गर्यो। वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै ४४ रन मात्र बनाउन सक्यो, जसलाई भारतले ४.२ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो।
भारतीय कप्तान निक्की प्रसादले टस जितेर पहिले बलिङ रोजिन्। वेस्टइन्डिजले खेलको सुरुका तीन ओभर विकेट नगुमाए पनि चौथो ओभरमा कप्तान समारा रामनाथ ३ रनमा आउट भएपछि टोलीको विकेट पतन सुरु भयो।
ओपनर असाबी क्यालेन्डरले १२ रन र केनिका कासारले १५ रन बनाइन् । वेस्टइन्डिजका ५ ब्याटर खाता खोल्न सकेनन्, भने ४ खेलाडीले ५ रनको आँकडा पार गर्न सकेनन्।
भारतीय बलर पारुणिका सिसोदियाले ३ विकेट लिँदै ७ रन खर्चिइन् । वीजे जोशिथाले ५ रन खर्चेर २ विकेट र आयुषी शुक्लाले ६ रन खर्चेर २ विकेट लिइन् । वेस्टइन्डिजका ३ खेलाडी रनआउट भए।
४५ रनको लक्ष्य पछ्याउँदै भारतका ओपनर गोंगडी त्रिषाले पहिलो बलमै चौका प्रहार गरिन्। तर, दोस्रो बलमै आउट भइन्। त्यसपछि विकेटकिपर जी कमलिनीले १३ बलमा १६ रन र सानिका चाल्केले ११ बलमा १८ रन बनाइन् ।
भारतले ४.२ ओभरमा १ विकेट गुमाएर ४७ रन बनाउँदै खेल जित्यो। प्लेयर अफ द म्याच वीजे जोशिथा घोषित भइन्। उनले २ विकेट लिँदै ५ रन मात्र खर्चेकी थिइन्।
ग्रुप ‘ए’ को अर्को खेलमा श्रीलंकाले मलेसियालाई १३९ रनले हरायो। पहिले ब्याटिङ गर्दै श्रीलंकाले ६ विकेट गुमाएर १६२ रन बनायो। दाहामी सानेथमाले अर्धशतक प्रहार गरिन्। जवाफी ब्याटिङमा मलेसिया १४.१ ओभरमा २३ रनमा समेटियो। टोलीका ६ ब्याटर खाता खोल्न सकेनन्।