मनिष जोशीले दिए ओलम्पिक कमिटीबाट राजीनामा

-
नेप्लेज
- |
- २०८१-०९-२९
- |
- 2374 पटक हेरिएको
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य मनिष जोशीले नेपाल ओलम्पिक कमिटीबाट राजिनामा दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय, राखेप, एन्फा र ओलम्पिक कमिटीलाई पत्र लेख्दै राजिनामा दिएका हुन् ।
जोशीका अनुसार नेपाल ओलम्पिक कमिटीले २०२४ डिसेम्बर ६ मा जारी गरेको पत्रअनुसार उनलाई मताधिकार प्रतिनिधिका रूपमा मनोनीत गरिएको थियो।
सोही अनुसार उनले कार्यसमितिको केन्द्रीय सदस्य पदका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ता गरेका थिए। तर, मिति २०८१ पौष ११ मा सम्मानित सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको साधारण सभा र निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो।
साथै, राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई साधारण सभामा सहभागी नहुन निर्देशन दिएको थियो। जोशीले राष्ट्रिय खेलकुद परिषद र अदालतको निर्देशनको पूर्ण पालना गर्दै साधारण सभामा उपस्थित पनि भएका थिएनन् ।
तर, सोही साधारण सभाबाट आफू केन्द्रीय सदस्य पदमा सर्वसम्मत निर्वाचित भए पनि उनले उक्त प्रक्रिया र निर्णयप्रति असहमति जनाएका हुन्।
जोशीले स्पष्ट रूपमा भनेका छन्, “सम्मानित अदालतको आदेशको सम्मान र राष्ट्रिय खेलकुद परिषदको निर्देशनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै म नेपाल ओलम्पिक कमिटीको साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया, काम कारबाही र नतिजामा असहमति व्यक्त गर्दछु।” यसअघि प्रकाश समशेर राणाले पनि ओलम्पिकको उपाध्यक्षबाट राजीनामा दिएका थिए ।