एनपीएल : नयाँ पिच, ब्याटिङमै संघर्ष

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१५
  • |
  • 2274 पटक हेरिएको

नयाँ सुरुआत, नयाँ लिग, नयाँ स्वरुप अनि नयाँ पिच । बाहिर सबै थोक नयाँ भएको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमा मैदानभित्र पनि धेरै कुरा नयाँ नै देख्न पाइने आशा गरिएको थियो । तर, जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेल भने आशातित हुन सकेन ।

यसको मुख्य कारण पिच नै रहेको बताउँछन्, जनकपुरका कप्तान अनिलकुमार साह । ‘हेर्दाखेरी विकेट १६० जस्तो लागेको थियो । त्यति बनेको भए खेल रोमाञ्चक र कठिन दुवै हुन्थ्यो । तर, विकेट अलिक लो बस्यो र बल ब्याटमा आइदिएन । त्यसैले पहिलो खेल एकदमै गाह्रो बन्यो,’ खेलपछि उनले भने । 

बिहानको समयमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान ब्याटिङका लागि गाह्रै मानिन्छ । तर, शनिबारको खेल भने दिउँसो १२ः१५ बजे तय गरिएको थियो । तर, दिउँसोको समयमा पनि अनिलले आशा गरेजस्तो विशाल रन बनेन र विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पनि सामान्य लक्ष्य भेटाउन उत्तिकै संघर्ष गर्नुपर्‍यो । तर, उसका लागि भने नेपाली पिचबारे नजिकबाट जानिसकेका लाहिरु मिलिन्था नायक बन्दिए । उनकै अविजित ७५ रनको इनिङको मद्दतसँगै जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाउँदै १३१ रन बनायो र खेल जित्यो । 

अघिल्लोपल्ट नेपाल ट्वेन्टी ट्वेन्टी लिग खेल्न लुम्बिनी अल स्टारर्ससँग जोडिएका लाहिरुको ५३ बलमा नौ चौका र तीन छक्काको इनिङ र क्यानडाका हर्ष ठाकेरको साथलाई मात्रै भुल्ने हो भने जनकपुरको ओपनिङ नै ध्वस्त रह्यो । कप्तान अनिल पाँच रनमै प्रतीश जिसीबाट बोल्ड भए भने आसिफ शेखले खातासम्म खोल्न सकेनन् । तर, लाहिरु र हर्षले तेस्रो विकेटका लागि ११६ रनको विशाल साझेदारी गरे । हर्ष ३३ बलमा दुई चौकासहित २९ रन बनाउँदै अविजित रहे । 

‘ओपनिङमा पुरै फेल भयौं, यो कुरा हामीले स्वीकार गर्नुपर्छ । तर, विदेशी खेलाडीसँग हामीभन्दा धेरै खेलेको अनुभव छ । त्यसैले उनीहरूले टिकेर खेले र राम्रो रन बनाए । कठिन परस्थितिमा कसरी खेल्ने भन्ने कुरा हामीले सिक्नुपर्छ,’ उनले भने ।

जनकपुरलाई जित दिलाउन विराटनगरको खराब बलिङले पनि साथ दियो । २२ रन अतिरिक्त खर्चिँदा उसले १४ रन ह्वाइड र आठ रन लेग बाइबाट दिएको थियो । त्यसैले एनपिएलमा पहिलो अर्धशतक बनाउने कीर्तिमान मार्टिन गप्टिलले राखे पनि ‘प्लेयर अफ द म्याच’ लाहिरुको विजयी इनिङ अगाडि छायाँमा पर्‍यो । हुन त टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले पनि जनकपुर झैं बलियो सुरुआत गर्न सकेन । 

उसका ओपनर लोकेश बम पाँच रनमै ललितनारायण राजवंशीबाट बोल्ड हुन पुगे । त्यसपछि ओमानी अलराउन्डर अकिब इलियास र गप्टिलले इनिङ ४७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे पनि मोहम्मद मोहसिन खलनायक सावित भइदिए । नवौं ओभरको दोस्रो बलमा अकिब १५ रनमा एलबिडब्यु आउट भएपछि जनकपुर खेलमा पुनरागमन गर्न सफल भयो । एक ‘एन्ड’बाट विराटनगरले लगातार विकेट गुमाइरहे पनि गप्टिलले भने धैयतासाथ ब्याटिङ गर्दै ३६ बलमा अर्धशतक प्रहार गरे । थप आठ बल खेल्दै पाँच रन बटुल्दा उनी पनि १४औं ओभरको अन्तिम बलमा ‘लङ अन’मा तैनाथ कप्तान अनिलबाट ५५ रनमा क्याच आउट भए । त्यसपछि पुनः विराटनगरले ब्याटिङमा संघर्ष गर्न थाल्यो । बसिर अहमद सात, राजेश पुलामी एक र प्रतीश दुई रनमा पभेलियन फर्किए । 

तल्लो क्रमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र क्रिस सोलले ब्याट चलाउन नसक्दा विराटनगर १९ ओभरमा १२७ रनमै अलआउट हुन पुग्यो । यसमा अनिलको कप्तानी रणनीति पनि सफल देखियो । उनले बायाँ हाते ब्याटरलाई रोक्न हर्षलाई प्रयोग गरे । विकेट निकाल्न उनी अनुभवी स्पिनर ललितनारायण राजवंशी र तीव्र गतिका बलर किशोर महतोमा अन्त्याधिक निर्भर देखिए । हर्षले आफ्नै राष्ट्रका किर्टनको विकेट मात्रै लिएनन्, एक समय खतराको संकेत दिइसकेका दायाँ हाते ब्याटर गप्टिललाई पनि पभेलियन फर्काए । ललितले बसिर अहमदसँगै प्रतिश र लोकेशलाई आउट गरे । अस्ट्रेलियाबाट लामो समयपछि स्वदेशमा घरेलु लिग खेल्न फर्किएका किशोरले पनि विराटनगरका कप्तान सन्दीप र जितेन्द्र मुखियाको विकेट लिएर आफूले अझै बलिङ नभुलेको प्रमाणित गर्दिए । बाँकी काम भने बेन मिके र मोहसिनले सहज बनाइदिए । 

सन् २०१५ को एकदिवसीय विश्वकपको क्वार्टरफाइनलमा वेस्ट इन्डिजविरुद्ध कीर्तिमानी २३७ रन बनाउँदै न्युजिल्यान्डलाई सेमिफाइनल पुर्‍याएका गप्टिल खेललाई अगाडि बढाउन समय लिनुपरेको बताउँछन् । ‘यो कठिन विकेट थियो, मेरो लागि पनि गाह्रो रह्यो । बल सजिलै ब्याटमा आएन, समय लिनुपर्‍यो । त्यसैले रन पनि पर्याप्त बनेन,’ उनले भने । विराटनगरले बुधबार आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्ने छ । पहिलो खेलको यो अवस्थालाई बुझेर उक्त खेलमा सोचविचार गरेर खेल्ने उनी बताउँछन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal