वरिष्ठ कराते प्रशिक्षक महेन्द्रकुमार राईको बिदाइ

- |
- २०८१-०६-२३
- |
- 955 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ कराते प्रशिक्षक महेन्द्रकुमार राईलाई बुधबार एक विशेष कार्यक्रमका बीच बिदाइ गरिएको छ। राई ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन्। मंगलबार अवकाश पाएका राईले २०५२ सालदेखि कराते प्रशिक्षकका रूपमा आफ्नो सेवा सुरु गरेका थिए।
राईले आफ्नो करिअरको क्रममा कराते खेलको विकास र खेलाडीहरूको प्रशिक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा कराते प्रशिक्षकका रूपमा राखेपमा प्रवेश गरेका राईले तालिम तथा प्रशिक्षण विभागमा लामो समय योगदान दिए। त्यसपछि, उनले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) मा उप–निर्देशकको जिम्मेवारी समेत सम्हाले।
राईको करिअरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) निकै महत्त्वपूर्ण क्षण रह्यो। नेपालमा आयोजित उक्त सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जित्न सफल भएको थियो, जसमा राईले राष्ट्रिय टिमको तयारीका निर्देशकको भूमिका निर्वाह गरेका थिए। यसबाहेक, उनले तेश्रो वृहत राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनुका साथै करातेका विभिन्न अन्तर्राष्ट्रिय रेफ्री सेमिनारहरूमा पनि सहभागी भएर आफ्नो अनुभवलाई विस्तार गरेका थिए।
बिदाइ समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, र अन्य कर्मचारीहरूले राईलाई बिदाइ गर्दै उनको योगदानको प्रशंसा गरे। राईको लामो सेवाले नेपाली खेलकुद, विशेषगरी कराते खेलमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै, उनको अनुभवले आगामी पुस्ताका प्रशिक्षकहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरियो।