यु-१९ महिला क्रिकेटको बन्द प्रशिक्षण लमहीमा सुरु
- नेप्लेज
- |
- २०८१-०५-३१
- |
- 543 पटक हेरिएको
नेपालको यु–१९ महिला क्रिकेट टोलीले आगामी नोभेम्बरमा युएईमा हुने आइसीसी यु–१९ महिला क्रिकेट विश्वकप एशिया क्वालिफायर प्रतियोगिताको तयारीका लागि दाङको लमहीमा बन्द प्रशिक्षण सुरु गरेको छ। यस बन्द प्रशिक्षणमा १५ देखि १९ वर्ष उमेर समूहका २९ जना खेलाडी सहभागी छन्, जसमा सिनियर टोलीबाट खेलिसकेका र उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू पनि समावेश छन्।
प्रशिक्षण १५ दिनसम्म चल्नेछ र यसपछि आन्तरिक प्रतिस्पर्धा गर्दै अन्तिम चरणका लागि १७ जनाको टोली चयन हुनेछ। अन्तिम चरणमा १४ जना खेलाडी छनोट गरेर नेपाललाई प्रतिनिधित्व गर्ने टोली तयार पारिनेछ।
पहिलो चरणको बन्द प्रशिक्षणको लमही नगर पालिकाका प्रमुख जोगराज चौधरीले उदघाटन गरेका छन्।
सो अवसरमा नगरप्रमुख चौधरीले दाङमा क्रिकेट संघ नेपाल क्यानले पहिलो पटक यस प्रकारको खेल आयोजना गरेर यहाँको क्रिकेट विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले लमही क्रिकेट रंगशालामा राष्ट्रिय स्तरको बन्द प्रशिक्षणको कार्यक्रमसँगै अब अरु प्रतियोगिता पनि गर्ने वातावरण बनेको हुँदा यसतर्फ क्यानले ध्यान दिनुपर्ने बताए । दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य प्रदीप मजगैयाँको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले महिला क्रिकेटमा नयाँ पुस्ताको आवकर्षण लोभलाग्दो रहेको बताए ।
उनले नेपालको क्रिकेट विकासमा महिला टीमले पछिल्लो समय खेल्दै आएको भूमिका स्मरण योग्य रहेको भन्दै बन्द प्रशिक्षणमार्फत बन्ने नयाँ टीमले पनि नेपालको नाम विश्वमा चिनाउन सक्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो। बन्द प्रशिक्षणका क्रममा कुनै समस्या भएका लमही नगरपालिकालाई तत्काल जानकारी गराउन पनि उनले आग्रह गरे।
लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले दाङमा यस प्रकारको कार्यक्रमले स्थानीय क्रिकेट खेलाडीमा थप हौसला थप्ने काम गरेको बताए । क्रिकेटको जग बलियो बनाउन क्यानले केन्द्रदेखि जिल्ला तहसम्म पछिल्लो समय क्रिकेट गतिविधि लैजाने काम गरेको भन्दै यसबाट नेपालको १९ वर्ष मुनिको बलियो नयाँ टीम बन्ने विश्वास व्यक्त गरे।
बन्द प्रशिक्षणमा परेका खेलाडीलाई पाएको अवसरलाई खेर जान नदिने गरी मन, वचन र कर्मले खेलमा ध्यान दिन तथा लक्ष्य प्राप्तिमा केन्द्रित हुन सुझाव दिए। युएईमा नोभम्बर ६ देखि १४ तारिखसम्म एशिया क्षेत्रबाट नेपालसहित थाईल्याण्ड, युएई, कुवेत खेल्दै छन्।
राउन्ड रोविनका आधारमा उत्कृष्ट हुने टीमले २०२७ मा बंगलादेश र नेपालको आयोजनामा हुने विश्व कप लिन पाउने छ। एशिया क्षेत्रबाट क्वालिफायर खेल्न लागेको नेपालका लागि १९ वर्ष मुनिको विश्वकप खेल्ने सुनौलो अवसर पनि हो। यसका लागि अहिले १५ देखि १९ वर्षसम्मका खेलाडी समावेश गरेर बन्द प्रशिक्षण गराईरहेको मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए।
यो टीमले एशिया कप क्वालिफायर जित्ने विश्वासका साथ बन्द प्रशिक्षणमा उत्रिएको उनले बताए । मुख्य प्रशिक्षक रिजालसँगै सहायक प्रशिक्षकमा सन्जु केसी र जानकी भट्ट रहेका छन्।
यसैगरी, फिजियोमा कमला चौधरी र अरु ट्रेनरहरु पनि सहभागी हुनेछन्। दाङमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा इतिहासमै पहिलो पटक आयोजना हुनु दाङबासीको लागि गौरवको विषय भएको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले बताए ।
यहाँबाट क्रिकेट खेलीरहेका तथा नयाँ पुस्ताका लागि क्रिकेट बुझ्ने र सिक्ने अवसर पनि भएको उनको भनाई छ। यस्तै अध्यक्ष मजगैयाले बन्द प्रशिक्षणमा सहभागी भएका महिला खेलाडीलाई नेपाललाई सुखद नतिजा दिने लक्ष्यका साथ प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। बन्द प्रशिक्षणमा सहभागी सिनियर टीमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सक्नुभएकी पूजा महतोले नेपालका लागि यो सुनौलो अवसर भएको बताए ।
सबै क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेर बन्द प्रशिक्षणमा सहभागी भएको भन्दै १९ वर्ष मुनिको नयाँ टीम निकै बलियो बन्ने विश्वास व्यक्त गरे। उदघाटन समारोहमा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सागर सुवेदी, वडा सदस्य केशव अधिकारी, देउखुरी क्रिकेट क्लवका कार्यवाहक अध्यक्ष प्रकाश जिसी, सदस्य पवन रिजाललगायत उपस्थित थिए। दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती मगरले स्वागत गरेको कार्यक्रमको सहजीकरण जिल्ला क्रिकेट संघका सचिव सञ्जु केसीले गरेका थिए।