कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

लगातार तीन पटक शिल्ड जित्दै कोहलपुरको ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 325 पटक हेरिएको

‘१५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएको छ । योसँगै लगातार तीन पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रिक गर्न सफल भएको हो ।

यसअघि कोहलपुरले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि थियो । यो जितसँगै जिल्ला राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरले ह्याट्रिक गर्न सफल बन्यो ।

प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबिच ६ वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो । यस्तै दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल प्राप्त गर्न सफल भयो ।

तेस्रो स्थानमा नेपालगन्ज उपमहानगरपालिकाले चित्त बुझाउन पुग्यो । नेपालगन्ज उपमहानगरपालिकाले कुल ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडल जित्न सफल भएको हो । यसैगरी चौथो स्थानमा चित्त बुझाएको बैजनाथ गाउँपालिकाले ६ गोल्ड, १४ सिल्भर र १५ ब्राउन्ज मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्जसहित पाँचौँ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक गोल्ड र जानकीले २ सिल्भर मेडलमा चित्त बुझाउनु परेको छ ।

रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड,५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो । उसुमा कोहलपुर बाहेक कुनै पनि पालिकाले सहभागिता जनाएका थिएनन् ।

रनिङ शिल्डको उपविजेता बनेको  राप्तीसोनारीले एथलेटिक्सतर्फ १२ गोल्ड,७ सिल्भर र ९ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक ब्राउन्ज, कबड्डीमा शून्य, कराँतेमा २ सिल्भर र ७ ब्राउन्ज, तेक्वान्दोमा ८ सिल्भर र ३ ब्राउन्ज जित्न सफल भएको हो ।

यस्तै रनिङ शिल्डको तेस्रो स्थान प्राप्त गर्न सफल नेपालगन्ज उपमहानगरपालिकाले एथलेटिक्सतर्फ ६ गोल्ड, ५ सिल्भर र ६ ब्राउन्ज, भलिबलतर्फ शून्य, कबड्डीमा एक गोल्ड एक सिल्भर जित्न सफल भएको हो ।

यसैगरी उत्कृष्ट खेलाडीतर्फ एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगन्जका आरुषि भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका सङ्गम तारामी मगर, भलिबल छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी हुन सफल भइन् ।

यस्तै उत्कृष्ट खेलाडी कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दीपशिखा रानाभाट, छात्रतर्फ कोहलपुरकै सुवर्ण सिग्देल हुन सफल भए ।

यसैगरी उत्कृष्ट खेलाडी कराँते छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोका मगर हुन सफल भए ।

शनिवारबाट सुरु भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी मार्च पासमा प्रथम बैजनाथ गाउँपालिका, दोस्रोमा नेपालगन्ज र तेस्रोमा राप्तीसोनारी गाउँपालिका हुन सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।

विजयी खेलाडी तथा पालिकालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजंग शाह, प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद माया पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, एमालेका मीन बहादुर मल्ल, जिल्ला खेलकुद विकास समिति बाँकेका पुर्वअध्यक्ष आतङ्क बस्नेत र मोहित शाह, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतले प्रमाणपत्र, मेडेल तथा ट्रफी वितरण गरेका थिए।

समितिका अध्यक्षले प्रतियोगिता सम्पन्न गराउन उल्लेख्य भूमिका खेल्नेलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष शाहका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।

बाँके जिल्लाले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेकाले यस पटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रिक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey