१९औं सामूहिक खेलकुद महोत्सव सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२०
  • |
  • 617 पटक हेरिएको

‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न १९ वर्षअघिदेखि प्रतियोगिता आयोजना गरेको हो । 

महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरेकी छन् । उद्घाटनपूर्व खेलकुद र्‍याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो । र्‍यालीमा छात्रछात्रा, शिक्षक, प्रशिक्षक तथा शुभेच्छुकहरुको सहभागिता थियो ।

निजी विद्यालयहरूबीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि सम्बन्ध जोड्न प्रतियोगिताले भूमिका खेल्दै आएको छ । शिक्षाका साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रम गर्दै आएको अध्यक्ष उदयकुमार मल्लिकले बताए । 

प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सवका संयोजक मनोजकुमार यादवले बताए । समूहमा आबद्ध १८ विद्यालयका एक हजार ४ विद्याथीहरूबीच हुने खेल महोत्सव तीन तहमा विभाजन गरी प्रतियोगिता गराइने उनकाे भनाइ छ ।

कक्षा १ देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरी दुई विधामा प्रतियोगिता गराइने संयोजक यादवले बताए । प्रतियोगिता कोभिडका कारण दुई वर्ष स्थागित भएकाे थियाे । २० देखि २३ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा सय मिटरदेखि आठ सय मिटरसम्मका दौड, सय गुणे चार रिले दौड, स्किपिङ दौड, बोरा दौड, तीन खुट्टे दौड, लङजम्प, सटपुट र भलिबल खेलहरू हुने आयोजकले जानकारी दिएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey