सागका पदकविजेता तेक्वान्दो खेलाडी चितवनमा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०६
  • |
  • 204 पटक हेरिएको

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदकविजेता आफ्ना जिल्लाका तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ ।

चितवनको सौराहस्थित बिहीबार आफ्नै प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच जिल्ला कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २-२ खेलाडीका साथै जिल्लाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो ।

गत मंसिरमा सम्पन्न सागमा स्वर्णविजेताद्वय संगीता बस्याल र पार्वती गुरुङ तथा कांस्य विजेताद्वय शिशिर श्रेष्ठ र जितबहादुर बोट आफ्ना जिल्लाबाट सम्मानित भएका हुन् । कार्यसमितिले पार्वती र शिशिरलगायत कयौं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको थियो ।

संगीताले फाइटतर्फ ६२ केजी तौलसमूह र पार्वतीले २४–२९ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।

जितबहादुरले २९ वर्षमुनि पार्वतीसँगको पेयर पुम्से र पुरुष टिमको पुम्सेमा कांस्य जितेका थिए । शिशिरले भने २३ वर्षमुनि टिम पुम्से कांस्य जितेका थिए ।

१३औं सागमा पदक विजेता चारै खेलाडीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही अवसरमा चितवनका पत्रकारद्वय अनिल मल्ल ठकुरी र होमनाथ सापकोटालाई पनि जिल्लाको तेक्वान्दो खेल विकासमा योगदान पुर्‍याएबापत सम्मान गरिएको थियो ।

उनीहरूलाई बागमति प्रदेशका सांसद कृष्ण खनाल र  रत्ननगर नगरपलिका प्रमुख नारायण वन, साथै खेलकुद संयोजक एवम् वडा–१० का अध्यक्ष केशब आचार्य, वडा–४ का अध्यक्ष रवीन्द्र चौधरी, नेपाल कम्युनिस्ट पार्टी रत्ननगर नगरपालिकाका इन्चार्ज केपी लामिछाने र चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समितिले ३४ सदस्यीय खेलाडी छनोट गरेको थियो । यसअघि भएको छनोट प्रतिस्पर्धामार्फत पुम्सेतर्फ  चार महिला र पुरुष १० पुरुष तथा फाइटमा २० पुरुष खेलाडीको छनोट गरिएको कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey