खेलाडीलाई अभ्यासमा फर्काउन मन्त्रालय नै बाधक!

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२९
  • |
  • 320 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीहरुलाई अभ्यासका लागि अब मैदान फर्काउन ढिला गर्न नहुनेमा जोड दिएका छन् ।
सरकारले बनाएको स्वास्थ्य समबन्धि प्रोटोकलमा खेलकुदलाई प्राथमिकतामै राखेन । खेलकुद सञ्चालनका लागि अनुमति पनि दिएको छैन ।
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले भने ‘त्यसको बापजुत पनि हामीले आवश्यकताको आधारमा समबन्धित निकायहरुले खेलाडीहरुलाई अभ्यासमा फर्काउन र खेलकूदलाई चलायमान बनाउनका लागि जुन प्रयास गर्नुपर्ने हो, त्यस किसिमको प्रयास गरेको छलफल गरेको मलाई जानकारी छैन ।’

नेपाल ओलम्पिक कमिटीले आसन्न ओलम्पिक प्रतियोगिताको तयारीमा रहेका नेपाली खेलाडीहरुलाई अभ्यासमा फर्काउनका लागि पहल गरेको पनि उनले बताए । अध्यक्ष श्रेष्ठले भने ‘हामीले प्रोटोकल पनि बनाएका छौं, यो यो गर्छौं भनेर पनि उल्लेख गरेका छौं ।’

सबै कुरा उल्लेख गरेर सरकारलाई पत्राचार गर्दा पनि सकारात्मक जवाफ नआएको पनि उनले बताए । उनले भने ‘नेपाल ओलम्पिक कमिटीले बनाएको प्रोटोकल अनुसार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपमा बुझाए पनि अझैं स्वीकृति आएको छैन ।’

ओलम्पिक कमिटीको अध्यक्षको हिसाबले आफूले युवा तथा खेलकूदमन्त्रीलाई पनि भेटेको श्रेष्ठले बताए । उनले भने ‘मन्त्रीलाई मैले आफैले दुई तीन पटक मौखिक कुरा पनि गरेँ, तर त्यसको कुनै प्रगति भएन, अनुमति हामीले पाएनौं ।’

अहिले विदेशमा खेलको आ आफ्नै प्रोटोकल बनाएर प्रतियोगिता सञ्चालन गरेको पनि हामीले देखि रहेका छौं । यस्तोमा नेपाली खेलाडीहरु भने चैत देखि घरमै बस्न बाध्य छन् । यसले पक्कै पनि भविष्यमा हुने प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन खस्किने निश्चित जस्तै छ ।
ओलम्पिक अध्यक्ष श्रेष्ठले पनि अब खेलाडीलाई मैदानमा अभ्यासका लागि आउने वातावरण बनाउन ढिला गर्न नहुनेमा जोड दिए । उनले भने ‘खेलाडीले अभ्यास गर्न पाएन भने, उनीहरुको स्तर खस्किदैं जान्छ ।’

कोरोनाको महामारी बढ्दो अवस्थामा रहेकाले शारिरीकरुपमा तन्दूरुस्ती हुन आवश्यक छ भन्ने म्यास पनि खेलका माध्यमबाट दिन जरुरी रहेको उनको भनाई छ । ‘कोभिडको बेला हामीलाई एक्टिभ नराख्ने हो भने, त्यसले संक्रमणको दर झनै बढाउँछ भन्ने बैज्ञानिकहरुको कुरा पनि छ । त्यसैले हामीले हाम्रा खेलाडीलाई मैदानमा ल्याएर सकारात्मक म्यासेज दिन पनि जरुरी छ ।’ अध्यक्ष क्षेष्ठले थपे ।

खेलकुद सकारात्मक सन्देश दिने र राष्ट्रको गौरब बढाउने ठाउँ पनि भएको र खेलमा हामी यसै पनि पछाडि रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘१३ औं दक्षिण एशियाली खेलकुदमा नेपाल आयोजक भएको नाताले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा आयौं, यसलाई मेन्टेन गरेर भोलिका प्रतियोगितामा अगाडी बढ्नका लागि पनि यसरी खेलाडीहरुलाई लामो समय अभ्यासविहीन अवस्थामा राख्नुहुँदैन ।’

कोरोना महामारी कारण बन्द भएका धेरै क्षेत्रहरु खुली सकेका छन् भने रोकिएका परीक्षा संचालन गर्नका लागि अनुमति पनि दिइसकेको छ । साथ साथै २५–३० जना सम्म रहने सिप मुलक तालिम लगाएतका कार्यक्रम शुरु गर्नका लागि सरकारले अनुमति दिइसकेको छ । यही संख्यामा हुने खेलका खेलाडीहरुलाई पनि अझै अभ्यास गर्न नदिनु आफैमा गम्भीर प्रश्न रहेको खेल क्षेत्रका जानकारहरु बताउँछन् ।

ओलम्पिक अध्यक्ष श्रेष्ठ पनि मास गेमका खेलाडीलाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यासमा पठाउनु पर्नेमा जोड दिन्छन् । ‘मास गेम, भलिबल, फुटबल क्रिकेट वा टेनिस नै किन नहोस्, साथै इन्डिभिज्योल गेमका खेलाडीहरुलाई एउटा मापदण्ड तयार गरेर पठाउनु पर्छ ।’ उनको भनाई थियो ।

अहिले दर्शक विहीन स्टेडियममा गेमहरु शुरु भइसकेको अवस्थामा नेपालमा पनि यो विकल्प रोज्नु पर्ने बेला आएको बताए । अहिलेको आवश्यकता भनेको खेलाडीहरुको अभ्यास नै हो । अहिलेको अवस्थामा कोरोना महामारी कहिलेसम्म भन्ने अवस्था पनि छैन, त्यसैले एकै पटक सामान्य अवस्थाको जसरी नभई विभिन्न विकल्पका आधारमा खेल शुरु गर्नुपर्नेमा पनि जोड दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey