गाेदावरीमा खेलकुद भवनकाे काम अगाडी बढ्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-११
  • |
  • 236 पटक हेरिएको

गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो ।

ललितपुर क्षेत्र १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष ०७५/७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समिति अध्यक्ष इन्‍जिनियर राजेश पौडेलले बताए । उनले भने, “गत आव ०७६/७७ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्टै एक करोड रुपैयाँ सहयोग भएको थियो ।” हालसम्म खेलकुद भवन निर्माणका लागि एक करोड ३० लाख रुपैयाँ खर्च भएको र भवनको काम पनि ५० प्रतिशत सम्पन्‍न भइसकेको पौडेलले जानकारी दिए ।

ब्याडमिन्टन, कराते, तेक्‍वान्दो, टेबल टेनिस, बास्केटबल र भलिबल आदि खेल्ने व्यवस्था मिलाउन लागिएको समितिका उपाध्यक्ष सुरेन्द्र रावतले बताए । उनले भने, “चालु आर्थिक वर्ष ०७७/७८ मा प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । खेलकुद भवनसँगै रहेको लगभग ६ देखि सात रोपनीमा भवन व्यवस्थापन कार्यालय, सहायता कक्ष, वरिपरि पर्खाल, उद्यान, गाडी बिसाउने ठाउँ र बिहान व्यायाम गर्दै हिँड्ने मार्ग निर्माण गर्ने योजना पनि बनाइरहेका छौँ ।” समिति सदस्यले यी सबै योजना पूर्ण गर्न करिब पाँच करोड रुपैयाँ लाग्‍ने अनुमान गरेका रावतले जानकारी गराए ।

उक्त भवन निर्माण सम्पन्‍न भएपश्‍चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । यसमा दुई ब्याडमिन्टन र चार टेबल टेनिस कोर्ट, भवनभित्र झन्‍डै ४०० मानिस अट्ने स्थान पनि बनाइने समिति सचिव सन्तोष कुँवरले बताए । उनले भने, “खेलकुद भवनमा विभिन्‍न राष्ट्रको झन्‍डा राख्‍ने अवधारणा बनाइराखेका छौं ।” भवन निर्माणको काम यही असार अन्त्यसम्म समाप्त गर्नुपर्ने थियो तर विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीका कारण काममा बाधा परेर ढिलो भइरहेकामा कुँवरले दुःख व्यक्त गरे ।

रासस

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey