झापामा चन्द्रकलामाथि भएकाे घटनाकाे एथ्लेटिक्स संघद्वारा घाेर भर्त्सना, २१ हजार रुपैयाँ सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१०
  • |
  • 260 पटक हेरिएको

सोमबार राति झापाको मेचीनगरमा जातीय विभेदका कारण कुटपिटमा परेर अस्पताल भर्ना भएकी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेको उपचारका लागि नेपाल एथ्लेटिक्स संघले तत्काल २१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले कीर्तिमानी खेलाडी चन्द्रकलालाई अहिले आर्थिक खाँचो रहेकाले तत्काल संघका तर्फबाट २१ हजार रुपैयाँ सहयोग गर्ने बताए । यसका साथै उनले यो घटनाको घोर भत्र्सना गरेको र यस्तो गतिविधीले खेलकुदलाई ठुलो असर गर्ने बताए ।
नेपाली समाजमा जातीय विभेदका कारण पनि अहिलेको अवस्थामा यस्तो घटना हुनु निकै दुखद पुर्ण रहेको शाहको भनाई छ । त्यस्ता ब्यक्तिलाई कारवाहिका लागि पनि नेपाल एथ्लेटिक्स संघले माग गर्ने बताए ।

के भएको थियो घटना

सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र प्रवेश गरे । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गालीगलौज गर्दै लखेटिरहेका थिए । जातीय विभेदयुक्त शब्दमा गाली गर्दै आइरहेका उनीहरूलाई चियापसलकी सञ्चालक तथा कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेले रोक्न खोजिन् । र, ‘अहिलेको जमानामा पनि किन जातीय विभेद गर्ने शब्द बोल्नुभएको’ भन्दानभन्दै उनीमाथि नै जाइलागे श्रेष्ठ दम्पती । ‘तँ पनि तल्लो जातकी रैछेस् भन्दै आक्रमण गरे,’ चन्द्रकला भन्छिन् । श्रेष्ठ दम्पतीको निर्घात कुटपिटबाट नेपाल पुलिस क्लबमा आबद्ध एथ्लेटिक्स खेलाडी चन्द्रकला सख्त घाइते भएकी छिन् । सात महिनाकी गर्भवती उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

चन्द्रकला र उनका पति सुमन खाती चारआलीस्थित राजन दर्जीकै जग्गामा रहेको गुम्तीमा चियापसल चलाउँछन् । श्रेष्ठ दम्पतीको घरमा पनि होटेल सञ्चालनमा छ । राजन उक्त होटेलमा क्यारेमबोर्ड खेलेको हेर्न गइरहन्थे । सोमबार पनि उनी खाजा खान सोही होटेलमा पुगेका थिए । कुटपिटमा संलग्न दुर्गा श्रेष्ठ नेपाली सेनाबाट सेवानिवृत्त हुन् ।

श्रेष्ठ दम्पतीले उनलाई दलित भएकैमा हेपेर बोल्ने गर्थे । दलित समुदायलाई होच्याउने तुच्छ शब्द प्रयोग गर्दै गाली गर्थे । सोमबार खाजा खाँदै गर्दा दुर्गा श्रेष्ठले एकाएक राजनलाई बेल्टले पिट्न थाले । कसैले छुट्याउन सकेनन् । त्यसपछि राजन उनीबाट भागेर चन्द्रकलाको चियापसलमा गुहार माग्दै पुगे । चन्द्रकलाले रोक्न खोज्दा ‘तँ कोरोना बोकेर आएकी छेस्’ भन्दै उनीमाथि पनि बेल्टले निर्घात कुटपिट गरे ।

तीन महिनाअघि राजन भारतबाट आएका एक साथीसँगै नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । तर, पछि दुवैजनाको रिपोर्ट नेगेटिभ आयो र घर फर्किए । त्यसयता दर्जीलाई श्रेष्ठ दम्पतीले कोरोना बोकेर आएको भन्दै जातीय विभेदयुक्त शब्दमा गालीगलौज गर्दै आएका थिए ।

सोमबार राति नै उनीहरू कुटपिटबारे जानकारी गराउन चारआलीस्थित प्रहरी चौकीमा गए । प्रहरीले दुवै पक्षलाई मिल्न भनेको थियो । राति १२ बजेपछि छटपटाउन थालिन् । र, उनलाई मध्यरातमा स्थानीय मनकामना अस्पताल पुर्‍याइयाे । ‘कुटपिट गर्नेबित्तिकै त खासै केही भनिनन् । राति १२ बजे सुत्नै नसकेर छटपटाइन् । हतार–हतार नजिकैको अस्पताल लगेँ । त्यहाँ ठीक नभएपछि यहाँ (बिएन्डसी) ल्याएका हौँ,’ सुमनले भने, ‘उनी (चन्द्रकला)चाहिँ ठीकै छिन् । तर, पेटको बच्चालाई असर परेका कारण रेस्ट गर्नुपर्ने डाक्टरले बताएका छन् ।’

‘उहाँ (श्रेष्ठ)को घरमुनि होटेल छ । त्यहाँ दाइ ९राजन० जानुभएको रहेछ । उहाँलाई पहिलादेखि नै तुच्छ शब्द प्रयोग गर्दै गाली गरिरहनुहुन्थ्यो । सोमबार पनि त्यसरी नै गाली गर्दै बेल्टले कुट्दै खेदाए,’ चन्द्रकलाले भनिन्, ‘उहाँ बचाउ बहिनी भन्दै हामी खाना खाइरहेको ठाउँमा आउनुभयो । जातीय रूपमै हेला गरेपछि मलाई चित्त बुझेन ।’

दलित समुदायकै खेलाडी चन्द्रकलाले प्रतिकार गर्दै जातीय रूपमा गाली नगर्न आग्रह गरिन् । ‘तर, ममाथि उल्टै हात हालियो । तँ पनि तल्लो जातकी रहिछस् र त यसको पक्षमा बोलिस् हैन भन्दै कुटपिट भयो,’ उनले भनिन्, ‘म सात महिनाकी गर्भवती हुँ । सुरुमै मेरो पेटमा विष्णुले प्रहार गरिन् । पछि उनका श्रीमान्ले बेल्टले हाने । मलाई जोगाउँदा मेरो श्रीमान् (सुमन खाती)को जिउभरि निलडाम छ ।’

जति कुटाइ खाए पनि जातीय विभेदविरुद्ध आवाज उठाइरहने चन्द्रकला बताउँछिन् । ‘एक दिन मर्नु नै छ । विभेदविरुद्ध बोल्दा मारे पनि मारुन् । किन अपमान सहेर मर्ने रु’ उनी भन्छिन्, ‘यसपटक पनि विभेदविरुद्ध बोल्नु नै मेरो गल्ती भयो । त्यही भएर कुटाइ खाएँ । तर, विभेदविरुद्ध बोल्न कहिल्यै छाड्दिनँ ।’

लकडाउनमा झापा आएकी थिइन् चन्द्रकला

चन्द्रकला नेपाल प्रहरीको एथ्लेटिक्स खेलाडी हुन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । कोरोना महामारीका कारण चैतमा देशव्यापी लकडाउन भएसँगै पुलिस क्लबमा आबद्ध खेलाडीले पनि बिदा पाए ।

गर्भवती रहेकी उनलाई लकडाउनले सहज बनायो । नौ महिनाअघि विवाह गरेकी चन्द्रकलाका श्रीमान् सुमनको कुनै रोजगारी थिएन । चन्द्रकलाको कमाइले परिवार पाल्न धौ–धौ थियो । काठमाडौंको महँगी थेग्न नसकेपछि सुमनले जुत्तापसलमा काम थालेका थिए । तर, लकडाउनले उनी कामविहीन भए । ‘काठमाडौंमा त बस्न सक्ने अवस्था नै भएन । उनको (चन्द्रकला) पनि बिदा भयो । दुई जिउकी पनि भइन् । झापा जाँदा सहज हुन्छ भनेर यहाँ आएका हौँ,’ सुमनले भने । झापा आएर सुमनले चारआलीमा गुम्तीमा चियापसल खोले । चन्द्रकलाले पनि त्यहीँ सहयोग गर्छिन् । सोमबार राति पनि गुम्तीमै खाना खाइरहेकी उनीमाथि आक्रमण भएको थियो । ‘अहिलेसम्म कति गेम खेलेँ, कहिल्यै जिउ दुखेको थिएन । उनीहरूको कुटाइले जिउ छुनै भएको छैन,’ चन्द्रकलाले भनिन्, ‘अहिले त उभिन पनि सक्दिनँ ।’

कुटपिट गर्नेविरुद्ध उजुरी

जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले श्रेष्ठ दम्पती पक्राउ परेको जानकारी दिए ।

डिएसपी थापाका अनुसार जिल्ला अदालत झापाबाट पाँच दिन म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ । मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियारको अगुवाइमा चन्द्रकलाका श्रीमान् सुमनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । ‘त्यो परिवारले बारम्बार जातीय विभेद गरेको गुनासो आइरहेको थियो,’ परियारले भनिन्, ‘जातीय विभेद सहेर बस्नुहुँदैन भनेरै हामीले मुद्दा दर्ता गर्न लगाएका हौँ ।’

घटनामा संलग्नलाई कारबाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् । जातीय विभेदका घटनामा कारबाही भएको नजिर बसाउन सके त्यस्ता घटनामा कमी आउने दलित अधिकारकर्मी हुकुमसिंह नेपाली बताउँछन् । ‘ती मान्छे पहिलादेखि नै पैसाको अहंकार देखाउने उद्दण्ड रहेछन् । दलितलाई देख्नेबित्तिकै कोरोना ल्याइस् भन्ने गर्दै हीनताबोध गराउँदा रहेछन्,’ नेपाली भन्छन्, ‘दलितलाई दमनै गर्ने हो, पुर्खादेखि दमन नै गरेको हो भन्ने मनस्थितिले यो घटना गराएका हुन् । समाजमा सबै खाले विभेद अन्त्य गर्न घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्छ । हामीलाई मिल्न दबाब आएको छ, तर पछि हट्दैनौँ ।’

जाहेरी दर्ता गराएको सुनेपछि मिल्न भन्दै दुर्गाकी श्रीमती विष्णु भने चन्द्रकला उपचाररत बिएन्डसी अस्पतालमा पुगेकी थिइन् । उनले माफी माग्दै मिलाइदिन आग्रह गरिन् । ‘उपचारमा लागेको सबै खर्च बेहोर्छु, मुद्दा नलगाइदिनु भन्दै थिइन् । कामना गर्छु बच्चालाई केही नहोस् पनि भनिन्,’ चन्द्रकला भन्छिन्, ‘तर, मैले अपमान सहेँ भने सिंगो दलित समुदायले अपमान सहनुपर्छ भनेर उजुरी दर्ता गराएका हौँ ।’

अदालतबाट म्याद थप गरेर ल्याएपछि विष्णु बेहोस भएर लडेकाले उपचारका लागि बिएन्डसी अस्पतालमै पुर्‍याइएकाे इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक कैलाश चौधरीले जानकारी दिए । ‘सुगर, प्रेसरको बिरामी रहिछिन्, बेहोस भएपछि अस्पताल लगेको हौँ,’ उनले भने, ‘श्रीमानचाहिँ हिरासतमा छन् ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey