कहिलेसम्म मान्यतामा मात्र भलिबल राष्ट्रिय खेल रहने, पूर्वाधार र याेजना खै ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०५
  • |
  • 333 पटक हेरिएको

नेपालमा भएको दक्षिण एशियाली खेलकुद सागको औपचारिक उद्घाटन हुन बाँकी नै थियो, तर भलिबल खेल भने सुरु भइसकेको थियो । सिमित क्षमताको कर्भडहलमा दर्शकको घुँइचो थामि नसक्नु थियो । पुरुष टिम समुह चरणबाट नै बाहिरीएपनि त्यसपछि महिला टिमले भलिबलको माहोल यसरी तताएकी फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

त्यो खेल हेर्नका लागि खेलकुदमा हरेक क्षेत्रमा जिम्मेवारी पाएका सबै ब्यक्तिहरु उपस्थित थिए, चाहे त्यो मन्त्री देखि कर्मचारी । त्यहि खेलमा अर्को तर्फ दर्शकपनि उपस्थित थिए । कर्भडहलमा खुट्टा टेक्न मुस्कि थियो । नेपालको हरेक मुभमेन्टमा त्यहाँ उपस्थित सबै आफ्नो सिटबाट उठेर सपोर्ट गरेका थिए ।

तर टिमले अन्तिममा हार्नपुग्यो । तर पनि महिला टिमले सबैको वावाही पायो । भलिबल संघका पदाधिकारी पनि दंग भए, कस्तो खतरा खेल्यो महिला टिमले भनेर । तर त्यहाँ उपस्थित खेलकुदकर्मीका ध्यानमा यदि राम्रो पुर्वाधार भएमा यो खेलबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैले मात्र साचे । बलेको आगो उनीहरुले तापे, खेल सकिएपछि सबैले त्यो दिमागबाट हटाए । त्याे बेला भलिबल संघका केहि पदाधिकारीले पाएकाे आश्वासन मान्ने हाे भने नेपालमा अहिलेसम्म सुविधासम्पन्न पुर्वाधारकाे कामले गति लिइसक्नुपर्ने हाे, तर खै ?

घोषणाको तीन बर्ष

नेपालको राष्ट्रिय खेल के हो भनेर बर्षोसम्मको भ्रमलाई तोड्दै नेपाल सरकारले २०७४ साल जेष्ठ ८ गते नयाँ खेललाई राष्ट्रिय खेल भनेर पहिचान दियो । पहिले डण्डबियो राष्ट्रिय खेल भनेर सामान्य ज्ञानमा समेत उल्लेख भएपनि लिखित दस्तावेजमा भने त्यो कतैपनि पाइएन । जसका कारण आज भन्दा तीन बर्ष अगाडी सरकाले भलिबललाई नयाँ राष्ट्रिय खेलको मान्यता दियो ।

पुष्पकमल दाहाल प्रचण्डकाे पालामा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएको थियो । यो तीन वर्षमा पनि राष्ट्रिय खेल भलिबलको आफ्नै पूर्वाधार बन्न सकेन । यतिसम्म की भलिबलका लागि सरकारले जग्गा समेत छुट्याउन सकेको छैन । अहिले सदस्य सचिव सचिव रमेश सिलवालले भलिबल संघलाई पुर्वाधारका लागि जग्गा हेरेर फाइनल गर्न भनेका छन् । जसका आधारमा संघले लुभु र मुलपानीमा जग्गा पनि भेटीसकेको बताएको छ । तर संघले जग्गाको स्वामित्व कहिले प्राप्त गर्छ त्यो भने अन्यौलमै छ ।

देशको राष्ट्रिय खेलको आफ्नो एउटा पनि पुर्वाधार छैन भन्दा सबैलाई अचम्म लाग्न सक्छ । प्रायः त्रिपुरेश्वर स्थित कर्भडहलमा धेरै प्रतियोगिता हुने भएकाले गहिरीएर नबुझेका कतिपयले त्यो नै भलिबलको कर्भडहल हो भन्ने ठान्ने गरेका छन् । तर यथार्तमा अझैपनि भलिबल संघसँग आफ्नो नाममा एउटा पनि पूर्वाधार छैन ।

सरकारी तबरबाट भलिबल खेलको भौतिक संरचना निर्माणका लागि अझैसम्म कुनै पहल न भएको संघको भनाइ छ । महासचिव जितेन्द्र चन्द लुभुमा रहेको जग्गा भलिबलका लागि राम्रो रहेको र संघको बैठक गरेर त्यसलाई फाइनल गरेर परिषद्मा निर्णय दिने बताए । तर कोरानाका कारण बैठक बस्न सक्ने अवस्था नभएकाले रोकिएको बताउछन ।

भलिबल संघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मालाई जग्गा उपलब्ध गराइदिन लिखित रुपमै ज्ञापन पत्र बुझाएको थियो । त्यसपछि फेरी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएपछि रमेशकुमार सिलवालले आफ्नो कार्यकाल भित्र राष्ट्रिय खेल भलिबलका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न कवर्डहल निर्माण गरिने घोषणा गरेका थिए । त्यसका लागि अहिले भने सिलवालले भलिबलका लागि सुविधा सम्पन्न कर्भडहल बनाउन आश्वासन मात्र होइन चाँडो जग्गाको टुंगो लगाउन भनेर तातेका छन ।

त्यहि अनुरुप लुभु नगरपालिका भित्र २० रोपनी सरकारी जग्गा र मुलपानीमा २५ रोपनी जग्गा संघले निरीक्षण गरेको थियो । भलिबल संघले यो उपयुक्त जग्गा हो भनेर मलाई लिखित निर्णयगरेर दिए चार वर्षपनि होइन दुई वर्षमा नै डिपिआर तयारगरि काम अगाडी बढाउने सदस्य सचिव सिलवालको भनाइ छ ।

भलिबल राष्ट्रिय खेल भएपनि प्रतियोगिता र अभ्यासका लागि एकमात्र परिषदको कवर्डहलको कमै विकल्प छ । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नुपरेमा नेपाली सेनाको कवर्डहलको भरपर्नुपरेको छ । भलिबलको आफ्नै प्रतियोगिता स्थल हुँदा हरेक ठूला प्रतियोगिताका लागि खेलाडीले अभ्यासकैलागि दुःख ब्यहोर्नुपर्छ ।

हुन त संघले पटक पटक खेलकुद मन्त्रालय र परिषद्लाई जग्गा मात्र उपलब्ध गराइदिए आफैपनि बिस्तारै निर्माणगर्ने भनेपनि यथार्तमा संघले सरकारको सहयोग विना काम गर्न निकै कठिन छ । राष्ट्रिय खेल भलिबल प्रति खेलकुद निकायले चाँसो देखाए नेपाली भलिबलले लभेलमा नै ठूलो फड्को मारेर देखाउने संघको भनाई छ ।

भलिबल खेल्न थालेको बर्षो हुँदापनि अहिलेपनि कर्भडहलका लागि हार गुहार गर्नुपर्ने बेला कहिले यो खेलले ब्यवसायिकताको बाटोमा लाग्ला त्यो चिन्ताको विषय छ । खेलाडीलाई बर्षेभरि प्रशिक्षण गर्न सजिलो होस भन्ने हो आफ्नै पुर्वाधारको निकै जरुरी देखिन्छ ।

नेपालमा देशभर खेलिने खेलका रुपमा रहेको भलिबलमा आकर्षण त्यहि अनुसारको छ । तर खेलाडी उत्पादन र पुर्वाधार निर्माणमा भने संघले पनि गर्नुपर्ने काम आफ्नो स्तरमा गर्न ढिलासुस्ती गरेको हो की भन्ने प्रश्नपनि खडा हुन्छ । भलिबल राष्ट्रिय खेल भए पश्चात् पुरुष र महिला दुवै टिमले इतिहास बनाएको छ ।

पुरुष टिमले २०७३ मा माल्दिब्समा भएको सेन्ट्रल जोन भलिबलमा कास्य पदक हातपारेको छ भने डेनमार्कमा दुईवटा मैत्रीपुर्ण खेलको सिरीजमा १–१को बराबरी गरेको थियो । यस्तै महिलातर्फ १३औ सागमा कास्य र रजत पदक हातपार्नुका सार्थ बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबलमा स्वर्णनै जित्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey