Mega Bank

मन्त्रिपरिषद पुनर्गठन हुँदै, खेलकुद मन्त्री विश्वकर्माको पद धरापमा !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०५-०१
  • |
  • 93 पटक हेरिएको

मुक्तिबाबु रेग्मी (काठमाडौं)– सत्तारुढ नेकपाभित्रको विवाद समाधानका लागि कार्यदलले प्रस्तुत गरेको विकल्पअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने सम्भावना छ । २ वर्षभन्दा बढी कार्यकाल बिताएका मन्त्रीबारे कार्यसम्पादनका आधारमा पुनर्बिचार हुने बताइँदा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको पद पनि धरापमा पर्ने देखिएको छ ।

(नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वयले बनाएको कार्यदललाई आज अनुमोदन गरेको हो । अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको थियो । कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् भने भीम रावल, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

कार्यदलले सरकार र पार्टी भित्र देखिएको विवाद समाधान गर्ने सूत्र पहिल्याएर फेरि सचिवालयमा पेश गर्ने छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीचको विवाद बढ्दै जाँदा पार्टी फुटको अवस्थासम्म पुगेको थियो । तर, दोस्रो तहका नेताहरुले दुई अध्यक्षलाई एकै ठाउँमा ल्याएर विवाद समाधानका लागि कार्यदल मार्फत काम गर्नुपर्ने निष्कर्ष निकालेको थिए ।

प्रचण्डले प्रधानमन्त्रीबाट र अध्यक्षबाट राजीनामा माग गरेको र ओली दुवै पद नछाड्ने अडान राखेपछि मध्यमार्गी बाटोको रुपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्प राखिएको छ । यदि त्यस्तो भएमा प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी लिँदै मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् भने प्रचण्ड पार्टी काममा अघि बढ्नेछन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्न मापदण्ड बनाइनेछ । मन्त्रिपरिषद्मा २ वर्षदेखिका सदस्यहरुलाई उनीहरुको कार्यसम्पादनको आधारमा पदमुक्त गर्ने तयारी छ । ‘यतिबेला दुई बर्ष भन्दा बढि मन्त्रालयमा काम गरेका र्केेि भन्ने योजना प्रधानमन्त्रीको छ,’ नेकपाका एक नेताले भने ।

यस्तो हुँदा युवा तथा खेलकुदमन्त्री विश्वकर्माको पद पनि धरापमा पर्नेछ । विश्वकर्माले २०७४ चैतमा खेलकुद मन्त्रालयको जिम्मेबारी संहालेका थिए ।

त्यसो त गएको कात्तिकमा मन्त्रिपरिषद पुनर्गठन हुँदा पनि विश्वकर्मा पदमुक्त हुने चर्चा चलेको थियो । तर दक्षिण एशियाली खेलकुद साग अगाडी मन्त्रिपरिषद् पुनर्गठन गर्दा खेलकुद मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेपनि सागको मुखैमा मन्त्रि हटाउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नकारात्मक असर पर्ने र तयारी पनि प्रभावित हुने आंकलन गरेर प्रधानमन्त्रीले विश्वकर्मालाई नै निरन्तरता दिएका थिए ।

मन्त्री विश्वकर्माको कार्यकालमा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागको सफल आयोजना भएको थियो । खेलकुद विकास ऐन २०७७ कार्यान्वयन गराउन उनको भूमिका महत्वपूर्ण थियो ।

राखेपको सदस्यसचिव, उपाध्यक्ष र सदस्यहरुको नियुक्ति प्रक्रियामा मन्त्रीको भूमिकाप्रति पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बुझिएको छ । रमेश सिलवाललाई सदस्यसचिवमा पुनः नियुक्ति गर्न मन्त्री विश्वकर्माले चासो दिएका थिएनन् । तर प्रधानमन्त्रीको आदेश टार्न सकेनन् ।

बोर्ड सदस्यमा विभिन्न क्षेत्रबाट ६ जना सदस्य नियुक्त गर्दा मन्त्री विश्वकर्मालाई प्रधानमन्त्री ओलीले आफ्ना केही मान्छे राख्न भनेका थिए । त्यतिबेला मन्त्रीले नमानेका कारण अहिले ११ जना नियुक्त गर्नुपर्ने सदस्यहरुका विषयमा पनि निर्णय हुन सकेको छैन् । ११ जनालाई मन्त्रिपरिषद्बाट नियुक्त गर्नुपर्ने भए पनि प्रस्ताव मन्त्रिले लैजानु पर्छ । तर, पछिल्लो समय मन्त्री र प्रधानमन्त्री बीचमा छलफल हुन नसक्दा गत सोमबारको मन्त्रिपरिषद्ले निर्णय गरेन् ।

भर्खरै

Advertisement