राखेपको सदस्यसचिव नियुक्त गर्न प्रधानमन्त्रीको ‘आदेश’ कुर्दै खेलकुदमन्त्री !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०५
  • |
  • 332 पटक हेरिएको

मुक्तिबाबु रेग्मी ।
नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् राखेप अहिले कार्यवहाक सदस्य सचिवको मातहतमा रहेको छ । तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाल खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै स्वतः पदमुक्त भएका थिए । त्यसपछि युवा तथा खेलकुद मन्त्रालयका सहसहसचिव भक्तबहादुर ढकाललाई कार्यबहाक सदस्यसचिव बनाएर पठाइएको छ ।

नयाँ ऐन अनुसार सदस्यसचिव खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने छ । विगतमा राजनीतिक नियुक्त हुने गरेको भन्दै नयाँ ऐनमा खुल्ला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने कुरा उल्लेख गरियो । यो झनै राजनीतिक नियुक्ति हुने सम्भावना उत्तिकै बढेर पनि गएको छ ।
पहिला खेलकुद मन्त्रिको इन्ट्रेस्टमा नियुक्त गर्ने प्रचलन थियो भने भने यसमा खेलकुदमन्त्री र प्रधानमन्त्रीको पनि इन्ट्रेस्ट मिल्नु पर्ने अवस्था देखिएको छ ।

सदस्य सचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक र रिम रानाभाट तथा इन्दिरा निरौला सदस्य रहेको समिति गठन गरिएको थियो । उक्त समितिले एक साताभित्र दरखास्त दिन सार्वजनिक सूचना पनि जारी गरेको थियो ।

सोही समयमा २७ जनाको दरखास्त परेको छ । समितिले ती दरखास्तहरु सर्ट लिस्ट पनि गरि सकेको छ । कार्यविधि आफै समितिले बनाएकोमा सर्ट लिस्ट गरेर मात्रै मन्त्रालयमा पेश गर्ने रहेको छ । मन्त्रालयमा त्यसरी पेश गर्दा एक जना महिला अनिवार्य सहित तीन जनाको नामावली पेश गर्नुपर्ने छ । सोही नामावली मन्त्रीले मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रावधान रहेको छ । प्रधानमन्त्रीय शासन प्रणालीमा प्रधानमन्त्री (हाल केपी ओली) पद नै सर्वे सर्वा हुने हुँदा उनले निर्णय जस्लाई गर्छन् त्यसैले राखेपको नयाँ सदस्यसचिवको जिम्मेवारी पाउने छ ।

अहिलेको अवस्थामा समितिले सबै काम सके पनि मन्त्रीले समितिलाई पर्खन भनेका छन् । त्यो भनेको मन्त्रीले प्रधानमन्त्रीसँग छलफल गरेर सम्भावित नाम सिफारिस गर्न समितिलाई पुनः आग्रह गर्ने छन् । समितिले मोटोमोटी काम सकेको जनाइसकेको अवस्थमा प्रधानमन्त्री र खेलकुदमन्त्रीको भेट कहिले जुर्ला भन्नेमा उनीहरुको ध्यान केन्द्रीत रहेको मन्त्रालय स्रोतको भनाई छ ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री र खेलकुद मन्त्रीको भेट बुुधबारसम्मा हुने र विहीबार बस्ने मन्त्रिपरिषदबाट सदस्यसचिव नियुक्ति गर्ने तयारी भएको बुझिएको छ ।

सदस्य सचिवका लागि प्रबल दावेदार यी हुन सक्छन् ।
रमेश सिलवाल

शिक्षा व्यवसायीका रुपमा चर्चित रमेश सिलवालले प्रधानमन्त्री ओलीसँगको निकटताकै कारण गत वर्ष राखेपको १८ औं सदस्यसचिवका रुपमा नियुक्ति लिएका थिए । अहिले नयाँ प्रक्रियामा पनि उनकै चर्चा सबैभन्दा धेरै छ ।

उनैले १३ औं दक्षिण एसियाली खेलकुदको सम्पन्न गरेका हुन् । ऐनका कारण १ वर्षमै पदमुक्त भएका सिलवाललाई कार्यकाल पूरा गर्न दिनुपर्ने व्यवहारिक पाटो पनि एकातिर छ । उनले पुनः नियुक्ति पाए बाँकी योजनाहरुलाई मुर्त रुप दिने चाहना व्यक्त गरिसकेका छन् । उनले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई व्यवस्थित बनाउने योजना व्यक्त गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीकै चाहना पनि सिलवाललाई नै निरन्तरता दिने देखिन्छ । किनभने दरखास्त हालेर सदस्यसचिव हुन्न भनेर सार्वजनिक अभिव्यक्ति दिएका सिलवाल दरखास्तपछि ‘सरकारको आग्रह’का कारण भन्ने गरेका छन् ।

लिलबहादुर थापा मगर

मूलतः राजनीतिक पृष्ठभूमिका मगर नेपाल भलिबल संघसँग आबद्ध छन् । उनी तत्कालीन नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य र सत्तारुढ नेकपाका वर्तमान केन्द्रीय सदस्य हुन् ।

नेकपा अध्यक्ष प्रचन्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट मानिने मगरले सदस्यसचिव नियुक्तिका लागि राजनीतिक तहबाट दवाव तीव्र बनाइरहेका छन् । सिफारिस समितिमा सबैभन्दा धेरै राजनीतिक दवाव उनकै नियुक्तिका लागि आएको छ ।

मेघराज पौड्याल

नेपाल माउन्टेन क्लाइम्बिङ संघका महासचिव मेघराज पौड्याल प्रधानमन्त्री ओलीका जिल्लाबासीमात्र होइनन्, उनका मतदातासमेत हुन् ।

प्रधानमन्त्रीसँगको निकटताकै कारण उनलाई रमेश सिलवालपछिको बलियो दावेदारका रुपमा हेरिएको छ । आवेदनसहित उनले पेश गरेका कार्ययोजनाबाट पनि समितिका सदस्यहरु प्रभावित देखिन्छन् ।

तेजबहादुर गुरुङ

नेपाल ह्यान्डबल संघका अध्यक्षसमेत रहेका गुरुङ खेलकुदमन्त्री विश्वकर्माका जिल्लाबासी हुन् । मन्त्री विश्वकर्माको रोजाइमा परेका उनले उस्तै शसक्त कार्ययोजना सिफारिस समितिमा पेश गरेका छन् । उनी ओलम्पिक कमिटीका उपाधयक्षसमेत हुन् ।

रवि राजकर्णिकार

नेपाल घोडचडी संघका अध्यक्ष राजकर्णिकारले यसअघि अखिल नेपाल फुटबल संघ र नेपाल एमेच्योर एथ्लेटिक्स संघमासमेत आवद्ध दिए ।

अन्जु श्रेष्ठ

नयाँ ऐनमा सदस्यसचिवका लागि कम्तिमा १ महिलासहित ३ जना सिफारिस हुनुपर्ने प्रावधान भएकैले एक महिलाको सिफारिस गर्नुपर्दा राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु सिफारिस हुने सम्भावना छ । उनी सदस्यसचिवकै दावेदार भने होइनन् । उनीसँग खेलसंघको नेतृत्व लिएको अनुभव पनि छैन ।

यसबाहेक केहि वर्षअघि खेलकुद बिज्ञको रुपमा राखेपमा नियुक्ति पाएका अचुतम लमिछानेलाई पनि दावेदारका रुपमा हेरिन्छ । खेलकुद बिज्ञानमा विद्याबारिधी गरे पनि खेलकुदको प्रशासनिक नेतृत्वको अनुभवहीनता र राजनीतिक पृष्ठभूनि नहुनुकै कारण नियुक्तिको सम्भावना कमजोर छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey