खेलाडी र प्रशिक्षकको दिनचर्या : करेसाबारीदेखि भिडियो कन्फरेन्ससम्म

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-०३
  • |
  • 274 पटक हेरिएको

शेरबहादुर सिंह/ रासस
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेसँगै मुलुकभरको खेल गतिविधी शून्य छ ।

सधैँ खेल मैदान, प्रशिक्षण केन्द्र तथा फिटनेस क्लबहरुमा आ–आफ्नो खेलमा मेहेनतमा जुटिरहने प्रशिक्षक तथा खेलाडी खेल र खेलाडीका विषयमा विभिन्न सामाजिक सञ्जालमा नियमित छलफल र बैठकदेखि घरायसी काममा व्यस्त रहेको पाइएको छ ।
१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा ऐतिहासिक पदक ल्याएर चर्चामा रहेको मुलुकको खेलजगत् कोरोनाको सङ्क्रमणपछि एकाएक थला परेको बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टको भनाइ छ । ‘लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै शारीरिक दूरी कायम गरेर खेलकूद गतिविधी सञ्चालन गर्ने विषयमा पनि अब सोच्नुपर्ने बेला आएको छ’, उनले भने, ‘स्वस्थ्य रहन पनि व्यायाम र प्रशिक्षण मानिसका लागि आवश्यक छ ।’

उनले कोरोनासित लड्न शरीरमा प्रतिरोधात्मक शक्ति बढाउन पनि स्वस्थ्य रहनुपर्ने बताए । ‘देशभरका प्रशिक्षक, रेफ्री तथा खेलाडीको अवस्था बुझ्न नेपाल बक्सिङ सङ्घको केन्द्रीय अध्यक्ष राम अवाले भिडियो कन्फरेन्सदेखि सामाजिक सञ्जालमा निकै सक्रिय रहनुभएको छ’, भट्टले भने, ‘कन्फरेन्समा खेलाडीको अवस्थादेखि खेल गतिविधि, भावी दिनमा कसरी बढाउने भन्ने विषयमा गहन छलफल भइरहेको हुन्छ ।’

कञ्चनपुरको भीमदत्तनगरमा रहेको बक्सिङ प्रशिक्षण केन्द्रमा बक्सिङ प्रशिक्षणमा रहेका खेलाडी गाउँघरमा साँझ बिहान सामान्य व्यायाम गरेर बसिरहेको उनको भनाइ छ । त्यसैगरी भीमदत्तनगरस्थित कभर्डहल परिसर पनि लकडाउनदेखि सुनसान छ । सुदूरपश्चिमको खेलकूदको हबका रूपमा परिचित कञ्चनपुरमा विभिन्न खेलका सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी लकडाउनका कारण होम क्वारेन्टाइनमा रहेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए ।

‘धेरैले त फोन गरेर सामाजिक दूरी कायम गर्छौँ कभर्डहल खोल्न पनि आग्रह गरे’, कार्यालय प्रमुख भट्टले भने, ‘तर लकडाउन कडाइका साथ लागू भइरहँदा खेल स्थल खुलाउने कुरै भएन ।’ पछिल्लो केही समययता कभर्डहल परिसरमा फाट्टफुट्ट सामान्य खेल गतिविधि र व्यायाम गर्नेहरु देखिन थालेका छन् । त्यसैगरी कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट पनि यतिबेला गृहजिल्ला कञ्चनपुरमा होम क्वारेन्टाइनमा छन् । ‘यहाँ पनि कबड्डी प्रशिक्षण केन्द्र निर्माण हुँदैछ’, उनले भने, ‘लकडाउनले काठमाडौँ जान पाएको छैन ।’

उनले कबड्डी खेलमा बढी खेलाडी विभिन्न विभागीय टिममा रहेको बताए । ‘खेलाडीलाई फिटेनसका लागि हरेक हप्ता टेलिफोनबाटै टिप्सहरु दिइरहेका छौँ’, मुख्य प्रशिक्षक भाटले भने, ‘समूहगत खेललाई पनि कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रमा पहल हुँदैछ भन्ने आएको छ ।’ सामूहिक प्रशिक्षण गर्ने माहोल अझै नमिलेको उनको भनाइ छ ।

‘राष्ट्रिय टिमका खेलाडीलाई सुरक्षित प्रशिक्षण प्रबन्ध मिलाउने विषयमा छलफल हुँदैछ’, उनले भने, ‘अहिलेको अवस्था भनेको खेलाडीका लागि निकै दुखद् हुन पुग्यो ।’ त्यसैगरी भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले कोरोना प्रभावित सुरक्षित राखेर सामूहिक दूरी कायम गरेर प्रशिक्षण गराउनुपर्ने बताए । ‘खेल नहुँदा खेलाडी डिप्रेसनको शिकार हुनसक्छन्’, उनले भने, ‘सतर्कता अपनाउँदै आयोजना÷प्रतियोगिताभन्दा प्रशिक्षणमा जोड दिऔँ ।’ घरायसी काममा व्यस्त रहेका प्रशिक्षक भट्ट १३औँ सागमा राष्ट्रिय महिला टिमका प्रशिक्षकका रूपमा खटिएका थिए ।

प्रशिक्षकसँगै यहाँ रहेका खेलाडी पनि यतिबेला सामान्य व्यायाम गरेर होम क्वारेन्टाइनमा बसिरहेका छन् । कुस्तीका राष्ट्रिय खेलाडी सुरेश चुनारा लकडाउनका कारण प्रशिक्षण रोकिएपछि डडेल्धुराको जोगबुढा घर लागेका छन् ।

भीमदत्तनगरमा डेरा गरी कुस्ती खेलमा सक्रिय चुनाराले लकडाउनका कारण खेलाडी मानसिक शिकार भएको बताउँछन् । ‘अहिले घरतिर खेतीबारीमा काम गर्ने र गाउँमै फिटेनसमा ध्यान दिने काम हुँदैछ’, उनले भने, ‘लकडाउनसँगै बाँच्न सिकेर खेल गतिविधि पनि अगाडि बढाउन नसकिए खेलस्तर खस्किने सम्भावना छ ।’

त्यसैगरी नेपाली क्रिकेट टिमका सदस्य विनोद भण्डारीदेखि क्रिकेटका आधा दर्जन राष्ट्रियस्तरमा परिचित सिनियर तथा जुनियर टिमका खेलाडी यतिबेला भीमदत्तनगरमै छन् ।

उनीहरु पछिल्लो केही दिनयता हरेक दिनजसो साँझ कभर्डहल परिसरमा रहेको क्रिकेट मैदानमा भौतिक दूरी कायम गरेर आपसी प्रशिक्षणमा जुटेको देखिन्छन् । क्रिकेटका राष्ट्रिय खेलाडी भीम सार्की पनि मिलेसम्म प्रायः हरेक दिन बिहान मर्निङवाक जाने गरेको बताउँछन् ।

‘बिहान वाक जाने र बेलुकी कहिलेकाहीँ कभर्डहल गएर सामान्य प्रशिक्षण गर्छौँ’, सार्कीले भने, ‘बेलकी विनोद भण्डारी, सन्दीप जोरा, भीमविक्रम सोप र दिलीप नाथ गरेर सात÷आठ जना ससहभागी हँुदैछौँ ।’ उनले बन्दाबन्दीले खेलाडीको दैनिकी नै बिग्रिएको बताए । ‘कहिले खुल्ला र कहिले प्रशिक्षणमा जुटिएला भन्ने भइसक्यो’, उनले भने, ‘क्रिकेट सङ्घले पनि प्रशिक्षणका लागि पहल गरिरहेको भन्ने सुनिन्छ पनि ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey