अल इण्डिया बक्सिङः बिमलालाई काश्य पक्का

0

माघ १५ । भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठ सेमिफाइनलमा पुग्दै काश्य पदक पक्का गरेकी छन् ।

वेन्टम ५४ केजी ताैल समूहकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कम्तिमा काश्य पदक पक्का गरेकी हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउदै कास्य पक्का गरेकी हुन् ।

विमलाको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । विमलाले दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएकी हुन् । प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाएपछि विमलाले स्वर्ण र रजत जित्ने लक्ष्य लिएको बताइन ।

अब विमलाले सेमिफाइनलमा मंगलबार भारतीय खेलाडी मनिषासँग खेल्नेछिन् । विमला नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट फाइटर बनेकी थिइन् ।

प्रतियोगिता अन्तर्गत नै पुरुषतर्फ नेपालका विष्णु प्रसाद घलेले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

वेल्टर ६९ केजीका बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई अंकको आधारमा पराजित गरे । आर्मी क्लबकै विष्णुले वासुद्दीन घाव्सीलाई ३ – २ ले हराए ।

प्रतियोगिता अन्तर्गत नै आइतबार राति अन्य दुई महिला खेलाडी भने पराजित भएका छन् ।

महिला लाइट फ्लाइवेट ४८ केजी तौलकी ललिता महर्जन केन्याकी एन्जिभा भेरोनिका नबिथेसँग र लाइटवेट ६० केजीकी संगीता सुनार थाइल्याण्डकी पिमविलाई लावोपिमसँग अंकको आधारमामा पराजित भईन ।

प्रतियोगिता अन्तर्गत सोमबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सोमबार नेपालका तेज बहादुर देउवा (४९केजी) , प्रेम चौधरी (५२ केजी) र भुपेन्द्र थापा (६४ केजी) तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् ।

Post Add 1025X115
Loading...