लकडाउनले खेलाडीलाई घाटा भएपनि खेलस्थलले पाए स्वरुप फेर्ने माैका

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०४
  • |
  • 491 पटक हेरिएको

कोरोना भाइरसको महामारी नभएको भएयतिबेला नेपाली खेलाडी निकै ब्यस्त हुन्थे, फुटबलका खेलाडी मोफसल र राष्ट्रिय लिगमा ब्यस्त हुन्थे भने क्रिकेट खेलाडी आइसीसी विश्वकप लिग टुको त्रिकोणात्मक सिरीजका लागि ब्यस्त हुन्थे । यस्तै भलिबलका खेलाडीहरु विभिन्न प्रतियोगिता खेलिरहेका हुन्थे । ओभरअल खेलाडीहरु कुनै न कुनै प्रतियोगितामा बस्त हुन्थे । तर अवस्था फरक रहेको छ । खेलाडीहरु घरमा बस्न बाध्यछन भने कहिले यो महामारी सकिएला र खुल्ला स्थानमा प्रशिक्षणमा फर्किन पाइएला भनेर कुरिरहेका छन ।

खेलाडीलाई लकडाउने घाटा भएको भएपनि निकै ब्यस्त हुने पुर्वाधारहरुले भने ठुलो राहत पाएका छन । देशका विभिन्न स्थानमा रहेका खेल पुर्वाधार यतिबेला खाली रहेका छन । जसका कारण मैदानहरुको स्वरुप नै परिवर्तन भएको छ । नेपालको एकमात्र भनिएको दशरथ रंगशाला फुटबल गतिविधी नहुँदा निकै आराम गर्ने मौका पाइरहेको छ । लकडाउनका बेला खेलकुद गतिविधी बन्द भएपछि रंगशालाको स्वरुप निकै परिवर्तन भएको छ । त्यसमा पनि रंगशालामा घाँसपनि हरियो भएकाले एन्फाले लकडाउन कै विचमा घाँस काट्ने काम सुरु गर्यो । जसका कारण यसको स्वरुप झन लोभलाग्दो भएको छ ।

यस्तै कीर्तिपुर क्रिकेट मैदानले पनि ठुलो शान्ती पाएको छ । जसका कारण मैदानमा घाँस काट्ने र दुबो रोप्नका लागि पर्याप्त समय पाइएको छ । क्यानले मैदानको पिचमा नयाँ दुबो रोप्नुका साथै ३० यार्ड भित्रको जंगली घाँसलाई उखेलेर नयाँ दुबो रोपेको छ । लामो समयदेखि पिच मर्मतको समय नपाएको कीर्तिपुर मैदानले यसपटक कोरोनाको बहानामा राम्रोसँग मर्मतको मौका पनि पाएको छ भने अहिले मैदानको स्वरुप केहि परिवर्तन भएको छ । अब यो मैदानको घाँसलाई चिटिक्क पारेर काटेमा कुनै अन्तराष्ट्रिय स्तरको भन्दा कम देखिने छैन ।

कोरोनाका कारण आराम पाएको अर्को मैदान पोखरा रंगशालाको पनि हो । दक्षिण एशियाली खेलकुदका बेला पुन निर्माण गरिएको यो रंगशालामा प्याराफिटको काम सकिएपछि अवरुद्ध भएको छ । तर मैदान हेर्दा निकै चिटिक्क देखिएको छ । मैदानमा केहि कामहरु अझैबाँकी रहेका छन । तर यो दुई महिनामा मैदानमा रोपिएको घाँस राम्रोसँग उम्रिएको छ भने पहिले मैदानमा देखिने चपरीहरु पुर्ण रुपमा नयाँ जीवन लिएका छन । नियमित समय हुदो हो भने यो रंगशालामा केहि न केहि काम भइरहेको हुन्थ्यो ।

नेपालगञ्ज रंगशालापनि यतिबेला शान्तसँग बसिरहेको छ । आठौं राष्ट्रिय खेलकुदपछि नेपालगञ्ज रंगशालामा खासै ठुलो प्रतियोगिता भएको छैन । त्यसपछि केहि समय मैदानको गेटमा तालापनि लगाइएको थियो । जो कोहिलाई मैदानमा प्रवेशका लागि रोक लगाइएकोमा लकडाउनका बेला झन आनन्दले दुबो बढ्ने मौका पाएको छ ।

लकडाउनले खेलक्षेत्रलाई घाटा भएपनि यो क्षेत्रमा प्रयोग हुने मैदानहरुले भने आराम पाएका छन । मुलपानीमा रहेको तल्लो क्रिकेट मैदानमा पनि यतिबेला सबैतिर दुबो उम्रिएर हरियो भएको छ । तर यो मैदानमा काम नहुँदा सोचेको जस्तो खासै राम्रो काम भएको छैन । पीएम कप क्रिकेट खेलाइएका पिचहरुको लेभल एकनासको छैन । फेरी पिचको लेभलिङ गरेर नयाँ मर्मत गर्नुपर्ने छ ।

यस्तै माथिल्लो मुलपानीको मैदानमा क्यानले केहि दिन अगाडीबाट घाँस रोप्ने र पिच बनाउने काम सुरु गरेको छ । आठ जनालाई दुई वटा पिच बनाएर घाँस रोप्न र ३० यार्डको खाली ठाँउमा दुबो रोप्ने र ठुलो भएको घाँसलाई काट्ने काम जारी रहेको छ । तर लकडाउन कडा भएपछि मैदानको काममा केहि समस्या भने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey