खेलकुदको विकासका लागि निजि क्षेत्रको पनि सहयोग आवश्यक छ : खेलकुदमन्त्री विश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०३
  • |
  • 602 पटक हेरिएको

काठमाडौं, ३ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले पेश गरेको नीति तथा कार्यक्रमले खेलकुद क्षेत्र निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदन प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम २०७७ शुक्रबार पेश गरेकी हुन् । नीति तथा कार्यक्रमका विषयमा नेप्लेजकर्मी मुक्तिबाबु रेग्मीले युवा तथा खेलकुदमन्त्री विश्वकर्मासँग गरेकाे कुराकानीको सम्पादित अंश

नीति तथा कार्यक्रमले खासै खेलकुदलाई समेट्न सकेन किन ?
कोरोना महामारीका कारण अहिले हामी पनि प्रभावित भएका छौं । यस्तोमा सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यको स्थान बढी हुनु स्वभाविक पनि हो ।  यस्तो अवस्थामा संसद्मा पेश भएको नीति तथा कार्यक्रमले खेलकुदमा देखिएका विद्ययमान समस्याहरु समाधान गर्ने उद्देश्य लिएको छ । वर्तमान सरकार गठन भएदेखि नेपाली खेलकुदले आशलाग्दो सफलता पनि हात पार्दै गएको छ र केही पूर्वाधारहरु निर्माणका चरणमा पनि छन् तिनिहरुलाई निरन्तरता दिँदै अघि बढाउने हिसाबले नीति तथा कार्यक्रम आएको छ ।

भनेको तपाई उत्साहित हुनुहुन्छ ?
अहिलेको नीति तथा कार्यक्रमले समग्रमा खेल क्षेत्रमा उत्साह थपेको छ । खेल क्षेत्रले अहिलेसम्म जुन सफलता हासिल गरेको छ यसबाट सरकार पनि उत्साहित छ । त्यसैले खेलाडीहरुलाई प्रोत्साहन गर्दै आगामी दिनमा थप हौसला प्रदान गर्नका लागि नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो । अहिलेको नीति तथा कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको सफलतालाई आत्मसाथ गर्दै भोलि अन्तर्राष्ट्रिय मञ्च अझै बढी सफलता हासिल गर्नका लागि खेलाडीको मनोबल उच्च बनाउने गरि नीति तथा कार्यक्रम आएको छ । यही कुराहरुलाई थप प्रष्ट पार्ने गरि बजेट आउने छ ।

खेलकुदको बजेट कस्तो हुन्छ ?
अहिले कोरोनाले नेपालमा पनि गम्भीर प्रभाव पारेको छ । प्रतिकुल अवस्थामा बजेट आउँदा पनि खेल क्षेत्रले हासिल गरेको उपलब्धि छ त्यसलाई संस्थागत गर्ने गरि बजेट आउँछ । आकारमा भने विगतको भन्दा घट्छ । ओलम्पियन र पदक बिजेता खेलाडीहरुलाई दिने मासिक सम्मान भत्तालाई निरन्तरता दिने छौं । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण पदक जित्नेलाई मासिक ५ हजार र ओलम्पियन खेलाडीहरुलाई मासिक १० हजार सम्मान भत्ता आजीवना प्रदान गर्छ । यस पटक १३ औं सागमा स्वर्ण विजेता खेलाडीहरुलाई पनि हामीले समेट्ने छौं ।

हाईअल्टिच्यु ट्रेनिङ सेन्टरको कुरा विगतमा पनि आउने गरेको थियो ?
विगतमा बजेट पनि परेको थियो । नेपालको हावापानीको अनुकुलता र भौगोलिक बनोट दिएको छ । खेल पर्यटनको विकासका लागि पनि हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउन खोजिएको हो । यसले खेल पर्यटन मार्फत आर्थिक समृद्धिको ढोका खोल्न सक्छौं ।

खेलकुदको विकासका लागि नीजि क्षेत्रलाई त गत वर्ष पनि आह्वान गरिएको थियो ?
खेलकुदको विकासका लागि सरकारी प्रयासले मात्रै उपलब्धिहरु हासिल गर्न सकिदैन भनेर नै निजि क्षेत्रलाई पनि खेलकुदमा सहभागी गराउन खोजिएको हो । खेलकुदको विकासका लागि सरकारी, गैरसकारी, निजि र अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्छ । सबै क्षेत्रको सहयोगबाट खेल क्षेत्रले फड्को मार्छ भन्ने विश्वासले नै निजि क्षेत्रलाई पनि आकर्षित गर्ने उद्देश्यले नीति तथा कार्यक्रममा समेटिएको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal