भलिबल : महिला र पुरुष दुवैलाई उत्तिकै महत्व दिनुपर्छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-२७
  • |
  • 401 पटक हेरिएको

नेपाली महिला भलिबल टिम अहिले उच्च फर्ममा छ भनिएको छ । २०४२ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको महिला टिमले विभिन्न आरोहहरु पार गर्दै २०२० सम्म आइपुग्दा कहिले सफलता त कहिले असफलताको स्वाद पनि चाख्दै आएको छ ।
बैंककमा भएको मैत्रीपूर्ण प्रतियोगिता पछि नेपाली टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौंमा भएको आठौं दक्षिण एशियाली खेलकुद साग नै कुनु परेको थियो । आठौं सागमा पहिलो पटक महिला भलिबल समावेश गरिएको थियो । पुरुष भलिबल भने तेस्रो संस्करणदेखि नै समावेश गरिएको थियो ।

आठौं सागमा नेपाली महिला टिम तेस्रो हुँदै कास्य पदक जितेको थियो । सागमा कास्य पदक जित्दा सुष्मा थापा कप्तानको रुपमा हुनुहुन्थ्यो ।
२००६ मा श्रीलंकामा भएको १० औं दक्षिण एशियाली खेलकुदमा पनि महिला भलिबल सहभागी गराइएको थियो । पाकिस्तानमा भएको नवौं सागमा भने महिला भबिललाई समावेश गराइएन । दशौं सागमा पनि नेपालले कास्य पदक जितेको थियो । बंगलादेशमा भएको ११ औं सागमा पनि महिला टिमलाई समावेश गरिएन ।

यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ध्यान दिइरहेको नेपाली महिला भलिबलले विभिन्न चरणमा मैत्रीपूर्ण खेलमा पनि सहभागीता जनाउँदै आएको छ । २०१३ मा काठमाडौंमा माल्दिभ्ससँग मैत्रीपूर्ण प्रतियोगिता खेल्यो । २०१४ मा दक्षिण एशियाली आमन्त्रण महिला भलिबल पनि काठमाडौंमै गरेको थियो । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपालसहित, श्रीलंका, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए ।

त्यसपछि २०१२ मा सेन्ट्रल एशियन जोनको विच भलिबल माल्दिभ्समा भएको थियो । माल्दिभ्समा भएको विच भबिलमा नेपालका २ टिम पहिलो र दोस्रो भएका थिए । विच भलिबलबाट पदक जित्दा कोपिला उप्रेती, सुशीला थापा, चुडा खड्काले सहभागीता जनाएका थिए भने प्रशिक्षकको रुपमा जगदीश प्रसाद भट्ट थिए ।
२०१५ मा भारतमा भएको १२ औं सागमा भने महिला भलिबललाई सहभागी गराइएको थियो । भारतमा पनि नेपाल तेस्रो हुँदै कास्य पदक जितेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा नेपालले २०१९ मा खेल्यो । २०१९ मा नेपालले एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको हो ।
त्यसैगरी २०१९ मै काठमाडौंमा भएको १३ औं सागमा महिला भलिबल पनि समावेश गरिएको थियो । महिला भलिबलमा नेपालले ऐतिहासिक रजत पदक जित्न सफल भयो । अहिलेसम्मको सहभागीतामा कास्य पदकमात्रै हात पारेको नेपाली महिला टिमले काठमाडौंमा भएको सागमा भारतसँग फाइनलमा पराजित भएपछि रजत पदकमा चित्त बुझायो । तर पनि भारतसँग यसअघि सिधै पराजित हुने नेपाली टिमले यस पटक अन्तिम सेटसम्म खेल लगेको थियो । बंगलादेशमा स्वर्ण र काठमाडौंमा रजत पदक जित्दा प्रशिक्षकको भूमिकामा भने जगदीश प्रसाद भट्टनै थिए ।

काठमाडाैंमा भएकाे ८‍ औं दक्षिण एशियाली खेलकुदकाे नेपाली महिला टिम

विगतमा नेपाली महिला टिमले सिम्पल गेम खेल्ने गरेको थियो । २–४ को सिस्टमले खेल्ने गरिन्थ्यो । आधुनिक भलिबलको विकास भइसकेको थिएन । अहिले विश्वमै चर्चित खेलको रुपमा भलिबल अघि बढीरहेको छ भने व्यवसायिकताको हिसाबले पनि धेरै फड्को मारिसकेको छ । अब नेपाली महिला भलिबल टिमले एशियन लभेलमा प्रतिस्पर्धा गर्ने बेला आएको छ । त्यो भनेको चीन, जापान जस्ता देशहरुसँग प्रतिस्पर्धा गर्नु पर्छ । अहिले थाइल्याण्डको टिम टप आठ भित्र परिरहेको हुन्छ । नेपालको महिला भलिबलको वरियता अहिले ८६ औं स्थान छ ।

एउटा टिम निर्माणका लागि कम्तिमा ५–६ वर्ष लाग्छ । त्यसपछि मात्रै उसले नतिजा दिने हो । अबको ५ बर्ष पछि एशियन लेभलमा कसरी प्रतिस्पर्धा गर्ने, सागमा कसरी स्वर्ण पदक जित्ने भन्ने योजना नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद् मिलेर बनाउन पर्छ । अहिले महिला खेलाडीहरुले विगतको भन्दा राम्रो नतिजा ल्याएकाले यही नतिजा पछि पनि आउँछ भनेर ढुक्कसँग बसियो भने हुँदैन । खेलाडीले खेल्ने आयु भनेको १० बर्ष हो । नयाँ आउँछन् पुराना जाने प्रक्रिया हरेक खेलमा हुने भएकाले उनीहरुलाई कस्तो प्रशिक्षण दिइन्छ । कसरी तयार गरिन्छ त्यसमा भर पर्छ ।

हामीले महत्व दिँदा महिला र पुरुष भनेर छुट्याउन हुँदैन । दुवैले आ आफ्नो ठाउँमा राम्रो गरेका छन् । अहिले महिलाले पदक जितेकाले अलि बढी र पुरुषले पदक नजितेकाले अलि कम महत्व दिने भन्ने कुरै हुँदैन । विगतको तुलनामा पुरुष भलिबल टिम पनि उत्कृष्ट हुँदै गएको छ । अहिले नेपाली टिम एशियाली वरियतामा १५ औं स्थानमा छ । यसलाई अझ कसरी माथि ल्याउने गरि पनि सोँच्नु पर्छ ।
(प्रशिक्षक जगदीश प्रसाद भट्टसँग मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको आधारमा)

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey