Mega Bank

नेपाली खेलाडीकाे सहयाेगका लागि अमेरिकाबाट एशियाड पदकधारी बिमलाकाे यस्ताे प्रयास

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०१-१५
  • |
  • 77 पटक हेरिएको

नेप्लेज, १५ बैशाख । कराँतेबाट एशियाड पदक विजेता बिमला तामाङले नेपाली कराँते खेलाडीकाे सहयाेगमा लागि नयाँ कार्यक्रम सार्वजनिक गरेकी छन् ।

३ वर्षयता अमेरिकाकाे न्यूयोर्क शहरमा बस्दै आएकी बिमलाले आर्थिक अवस्था कमजाेर रहेका प्रतिभावान नेपाली खेलाडीलाई सहयाेग गर्ने प्रयासकाे सुरुआत गरेकाे बताइन् ।

साथीहरुसँग मिलेर सुरु गरेकाे याे कार्यक्रम अन्तर्गत बिमलाले काेराेना भाइरसका कारण देशब्यापी लकडाउन हुँदा हाेम क्वारेन्टाइनमा बसेका कराँते खेलाडीहरुलाई आफू बसेकाे ठाउँबाट कराँते कलाकाे भिडियाे पाेस्ट गर्न अनुराेध गरेकी छन् ।

काता र कुमुते दुवै विधाका खेलाडीले सहभागिता जनाउन पाउने यस कार्यक्रममा खेलाडीहरुले पठाएकाे भिडियाेबारे अमेरिकामै रहँदै आएका दक्षिण एसियाली खेलकुद सागका स्वर्ण धारी सुनील लामासहितकाे टिमले मूल्यांकन गर्नेछन् ।

‘खासमा मैले लामाे समयदेखि नै साथीहरुसँग मिलेर यस्तैखाले याेजना बनाइरहेकी थिएँ । काेराेनाका कारण घरमै बस्दा कार्यान्वयनमा सजिलाे भयाे,’ न्युयाेर्कबाट नेप्लेजसँगकाे कुराकानीमा बिमलाले भनिन्, ‘हामीले खेलाडी हुँदा भाेगेकाे समस्या नयाँ पुस्ताले ब्यहाेर्नु नपराेस र प्रतिभावान खेलाडीलाई करिअरमा सहयाेग गर्ने नै मेराे अहिलेकाे उद्देश्य हाे । यसमा सुनील दाइले मलाई सहयाेग गरिराख्नुभएको छ ।

आएका भिडियोहरु मध्यबाट काता र कुमुतेका १-१ भिडियाेलाई उत्कृष्ट घोषणा गरी कराँते किट पुरस्कार दिइने छ । पहिलाे चरणकाे भिडियाे प्रतियाेगिताकाे नतिजा २ सातापछि आउने बिमलाले बताइन् । त्यसपछि कार्यक्रमकाे माेडल कस्ताे बनाउने भन्नेबारे निर्माण लिन बाँकी रहेकाे उनकाे भनाइ छ ।

बिमलाले यसबाहेक कराँते खेलमा लागेका उत्कृष्ट खेलाडीलाई उसकाे आर्थिक अवस्था हेरेर वार्षिक छात्रवृत्तिसहित आर्थिक सहयाेग गर्नेबारे याेजना बनाइरहेकी छन् । सम्भवत: काेराेना महामारी सकिएपछि उनकाे नयाँ याेजना कार्यान्वयन हुनेछ ।

सन् २०१४ मा दक्षिण काेरियाकाे इन्चाेन शहरमा सम्पन्न १७औं एशियाली खेलकुदमा कराँतेकी बिमलन तामाङले काश्य जितेर नेपाललाई पदकबिहीन हुनबाट जाेगाएकी थिइन् । त्यसकाे ३ वर्षपछि अमेरिका पलायन भएकी बिमला त्यसयता नेपाली खेलकुदमा गुमनामजस्तै छिन् ।

भर्खरै

Advertisement