ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२४
  • |
  • 213 पटक हेरिएको

काठमाडौं, फागुन २४ गते । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ ।

बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशिल तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् । बाल विकासले ६.५ अंक जोड्यो ।

थाउलोकै सिनियर महिला बेयर ह्यान्डमा बाल विकासकी सिर्जना गुरुङ ६.८ अंक जोड्दै पहिलो भइन् । सिर्जनाले आफ्नै स्कुलकी सपना शाहीलाई पराजित गरिन् ।

बूढानीलकण्ठस्थित आयोजक बाल विकासको हातामा भइरहेको प्रतियोगिताको सिनियर पुरुष बेयर ह्यान्डमा सनराइजका सुदित श्रेष्ठ ७.२ अंकसाथ पहिलो भए । बाल विकासका लक्ष्मण सारु मगर ७.१ अंकसाथ दोश्रो तथा सनराइजका सागर लामा ७ अंकसाथ तेश्रो भए ।

जुनियर पुरुष बेयर ह्यान्डमा भ्याली पब्लिकका सोनाम गुरुङ ६.६ अंकसहित शीर्ष स्थानमा रहे । ६.५ अंकमा सनराइजका प्रिन्स लोप्चन दोश्रो तथा ६.३ अंकमा सनराइजकै आकाश थिङ तेश्रो भए । यस स्पर्धाको महिलामा एक्सेल पब्लिककी मारिया राई (६.६ अंक) ले स्वर्ण, सनराइजकी अप्सरा वाइबा (६.४ अंक) ले रजत र सनराइजकै सविना वाइबा (६.३ अंक) ले कांस्य जिते ।

बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको जुनियर महिला सर्ट वेपनमा भ्याली पब्लिककी एन्जल गुरुङले स्वर्ण चुमिन् । ६.५ अंक जोडेकी एन्जलले भद्रकालीकी शितल शाहीलाई हराइन् । जुनियर पुरुष ताइचीमा सनराइजका विश्व निगम थापा पहिलो भए । उनले ५.७ अंक जोडे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको सदस्य निरौलाले नै उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey