नेपाली क्रिकेटमा पटवालकाे कार्यकाल सफल की असफल ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२९
  • |
  • 174 पटक हेरिएको

समाचारकाे सुरूमा हेराै जाँदाजाँदै उमेश पटवालले के भने

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा करिव १० महिना सेवा गरेका भारतीय प्रशिक्षक उमेश पटवालले नेपाललाई अन्तिम खेलमा कीर्तिमानी जीत दिलाएर फर्किने भएका छन् । अमेरिकाविरुद्ध नेपालले ऐतिहासिक जित निकाल्दा प्रशिक्षक पटवालका लागि पनि गौरव गर्ने पक्ष थियो । त्यसैले त उनले खेल सकिएपछि आफ्नो कार्यकाल सुखद् रहेको र नेपाली युवा खेलाडीले धेरै मौका पाएको र नयाँ कीर्तिमान पनि बनाएको उल्लेख गरे । जसमा उनले अमेरिकाविरुद्धको खेलका साथै कुशल मल्लको कीर्तिमान, रोहित पौडेलको कीर्तिमान लगायतका पक्षहरु सम्झिए ।

नेपालले एकदिवसिय मान्यता पाएपछि मुख्य प्रशिक्षकका रुपमा उमेशको प्रशिक्षणमा नेपालले पहिलो अन्तराष्ट्रिय एकदिवसिय सिरीज खेल्यो । जसमा नेपालले दुई खेलमा जीत र दुईमा हार ब्यहोर्यो । तर उनको नेपालका लागि अन्तिम खेल भने ऐतिहासिक नै बन्यो ।

करिव १० महिना अगाडी सो बेलाका मुख्य प्रशिक्षक जगत टमाटाको स्थानमा आइसीसीले राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयमा पटवाललाई नेपालको प्रशिक्षकका रुपमा पठाएको थियो । त्यसअघिपनि पटवालले सल्लाहकार प्रशिक्षकका रुपमा नेपाली टिमलाई हेर्दा नेपालले यूएई विरुद्ध टी २० र एकदिवसिय सिरीज जितेको थियो ।

तर जब उनी मुख्य प्रशिक्षकका रुपमा नेपाल आएको पहिलो दिन नै केहि निराशा भोग्नु पर्यो । उनको प्रशिक्षकको घोषणा कार्यक्रमको आयोजना हुँदा अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषद्ले बहिस्कार गर्यो । सो बेलाका परिषद्का सदस्यसचिवले अन्तिम समयमा कार्यक्रममा नआउने भनेका थिए ।

त्यसपछि परिषद्ले केहि दिनपछि पटवाललाई त्रिपुरेश्वरमा नै बोलाएर आधिकारीक सम्झौता गरेको थियो । जगत टमाटाको स्थानमा उनी नेपाली क्रिकेट टिमको काम सम्हालेपछि जुन किसिमको उचाई नेपाली टिमले लिने सोचाई राखिएको थियो, त्यो पक्कैपनि लिन सकेन । त्यसमा उनी दोशी भन्दापनि नेपाली क्रिकेट अभिभावक निकाय नहुँनाले पनि हो ।

प्रशिक्षक भएपछि उनले मलेसिया विरुद्धको दुई टी २० सिरीजको प्रतियोगिता जितेपनि सिंगापुरमा भएको टी २० विश्वकप छनोटमा निकै खराव प्रदर्शन टिमले गरेको थियो । कतार र सिंगापुरसँग हार्नु नेपालका लागि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो ।

त्यसपछि नेपाली टिमले बंगलादेशमा भएको एसीसी इमर्जिङ कप खेलेको थियो । जसमा नेपाल समुह चरणबाट नै बाहिरीयो । यस्तै एक दशक भन्दा लामो समयपछि घरेलु मैदानमा तीनदिवसिय खेलमा पनि नेपालले राम्रो नजिता निकाल्न सकेन ।

ओमानमा भएको पाँच देश सहभागि टी २० सिरीजमा पनि नेपालले खासै राम्रो गर्न सकेन । सो प्रतियोगितामा नेदरल्याण्ड्सलाई हराउँनु नेपालका लागि ठुलो उपलब्धि बन्यो । आरल्याण्डसँगपनि जितको नजिक पुगेर पराजित भएको थियो । ओमानसँग पनि निकै खराव प्रदर्शन गर्न पुग्यो । त्यसअघि सिंगापुरमा भएको टी २० सिरीजमा नेपालले सिंगापुरलाई हराएपनि जिम्बावेसँग पराजित हुन पुगेको थियो । टी २० मा नेपालले प्रशिक्षक पटवाल आएपछि २३ वटा अन्तराष्ट्रिय खेल खेल्यो । जसमा ११ खेलमा मात्र जित निकाल्यो ।

सिंगापुरमा भएको टी २० विश्वकपको क्षेत्रीय छनोटमा नेपालले राम्रो गर्न नसकेपछि पटवालले दिएको अभिब्यक्ति केहि विवादित बन्यो । उनले सो बेला नेपालको क्रिकेटको अवस्थालाई मध्यनजर गरेर नेपाली टिममा विश्वकप खेल्ने क्षमता नभएको बताएका थिए । जसलाई केहिले विरोधपनि गरे । उनमाथि स्पष्टिकरण लिनुपर्छपनि भनेर पनि भने ।

स्पष्ट र प्रष्ट बोली बोल्ने पटवालका बारेमा केहि सकारात्मक बोलि बोल्दा केहि आलोचना गर्नेपनि छन । पटवाल नेपालमा आउँदा नेपालको ब्याटिङमा निकै सुधार होला भन्ने ठुलो अपेक्षा थियो । तर सोचेको जस्तो उचाई नेपालले लिन सकेन । उनी प्रशिक्षक भएर आएपछिको ठुलो सेटब्याक टी–२० विश्वकप छनोट खेल्न नसक्नु नै हो ।

नेपालको प्रशिक्षकका रुपमा पटवालले विश्वकप क्रिकेट लिग दुई अन्तिम प्रतियोगिता बनाए । प्रतियोगिताको दुई दिन अगाडी उनले राजिनामा दिएको खबर बाहिर आएपछि एकाएक क्रिकेट जगतमा ठुलो तरंग छायो । जसले अबको प्रशिक्षक को, किन प्रतियोगिताको मुखैमा राजिनामा दिएको, प्रशिक्षकको राजिनामा पछि टिमको मनोबल कस्तो होला लगायतका प्रश्नहरु उब्जिए । तर यस्तै खुलदुलीका विच नेपालले घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्यो । जसमा चार खेलमा दुईमा जित र दुई हार ब्यहोर्यो ।

प्रशिक्षक पटवालले नेपाललाई घरेलु मैदानमा सुखद नतिजा दिलाएर गएका छन । जाँदाजाँदै उनले भने– टिममा सायद कमब्याक गर्ने मौका पाउनेछु । टिमका केटाहरु एकदमै एक्टिभ छन् । म पारसदेखि सुरु गर्न चाहन्छु ज्ञानु पनि उत्कृष्ट छन् । नामेवियासँगको खेलमा नेपाली टिमले राम्रो नतिजा निकाल्नेछ भन्ने मैले विश्वास लिएको छु । नेपाल क्रिकेटमा मेरो योगदानबारे मलाई भन्दा तपाइहरुलाइ धेरै थाहा छ । हामीसँग टिममा नयाँ खेलाडीले राम्रो खेले यसको मतलब उसले सँधै राम्रो गर्नुपर्छ भन्ने छैन । नेपाल जस्तो टिमलाई धेरै प्रगति गर्न जरुरी छ कहिले प्रदर्शन राम्रो हुन्छ भने कहिले खस्कन्छ । अन्य देशसँग तुलना गर्नुभन्दा आफुमा राम्रो हुनु आवश्यक छ । मेरो कामप्रति म सँधै खुसी छु र नेपाली टिमलाई सकेजति दिएजस्तो लाग्छ ।

अब पटवालले नेपाली क्रिकेटको प्रशिक्षकमा आउने मौका पाउलान नपाउलान त्यो भविष्यले बताउनेछ । तर तत्कालको अर्को प्रश्न नेपाली क्रिकेटलाई राम्रोसँग हेर्नसक्ने क्रिकेट विकाशका काम गर्नसक्ने प्रशिक्षक को होला भन्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey