राजु खड्का भन्छन्ः सन्दिपकाे प्रशिक्षक हुन पाउँदा गर्व लाग्छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 258 पटक हेरिएको

माघ १४, काठमाडाैं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टोली दिल्ली डेयरडेभिल्सले राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई अनुबन्ध गरेपछि सारा नेपाली क्रिकेट प्रेमीहरु हर्षबिभोर छन् ।

नेपाली क्रिकेटकै लागि कोशेढुंगा मानिएको यस सफलतामा सन्दिपलाई सानैदेखि क्रिकेट सिकाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्कालाई कस्तो लागिरहेको होला ? यसै जिज्ञासालालाई मेटाउन हामीले चितवनमा रहेका राजुसँग  टेलिफोनमा कुरा कानी गरेका छौं ।  चितवन क्रिकेट एकेडेमीका मुख्य प्रशिक्षक राजुसँग नेप्लेज डट कमले गरेको कुराकानीको सम्पादित अंशः

सन्दिप लामिछाने आईपीएल टोलीमा आबद्ध भए, कस्तो लागिराखेको छ, तपाईले त सानै उमेरदेखि उहाँलाई क्रिकेट सिकाउनुभएको होइन ?

सानो उमेरमा भन्दा पनि उ नेपाल आएपछि यहाँ आएको हो । खुसी लागेको छ कि हाम्रो यो चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण गरेको उसले यो सफलता हासिल गरेको छ ।

मेरो प्रशिक्षण केही काम लाग्यो उसका लागि र आज आईपीएलजस्तो एउटा क्रिकेटको महाकुम्भ मानिने प्रतियोगितामा दिल्ली डेयर डेभिल्सले उसलाई किनेको छ ।

त्यसका लागि म मात्र होइन समग्र नेपाली क्रिकेट समर्थकहरुकै लागि खुसीको कुरा हो । साथसाथै मलाई धेरै खुसी लागेको छ, आज मलाई बल्ल एउटा कोचले निर्बाह गर्नुपर्ने भूमिका हुन्छ नि, त्यो पूरा गरेको महशुस भइरहेको छ ।

सन्दिप तपाईको एकेडेमीमा कसरी आइपुगेका हुन्, त्यसबारे बिस्तृतमा भनिदिनुस् न ?

नवलपरासीको देवदहमा बस्थ्यो ऊ । हाम्रो चितवन क्रिकेट एकेडेमीको बारेमा थाहा पाएछ र मेरो बारेमा पनि थाहा पाएर यहाँ आएर मसँगै कुरा गरेको थियो । त्यसपछि उसले अभ्यास गरेको हो । निरन्तर डेढ वर्ष मसँग प्रशिक्षण गरेको हो । त्यसबीचमा नागरिकता बनाउनेदेखि राष्ट्रिय टोलीसम्मको यात्रामा मेरो सहयोग उसलाई रह्यो ।

सानैदेखि उसलाई ट्रेन गराइराखेको नाताले सन्दिप लामिछानेमा के पाउनुभयो त्यस्तो प्रतिभा ?

सबै खेलाडी प्रतिभावान नै हुन्छन्, उनीहरुले त्यसलाई कसरी र कुन माध्यमबाट प्रष्फुटन गराउन सकिन्छ भन्ने हो । त्यस्ता अरुपनि खेलाडी हुन सक्छन् ।

उसको हकमा चाहीँ मसँगको प्रशिक्षणका दौरान उसले आफूलाई तिखार्ने मौका पायो । र, त्यसमा उसले आफूले आफैंलाई प्रमाणित पनि गरिसकेको छ । सबैभन्दा ठूलो कुरा अनुशासन हो, मेरा खेलाडीमध्ये उ निकै अनुशासित खेलाडीमा पथ्र्यो । साथै मिहिनेत पनि धेरै गरेको थियो ।

प्रशिक्षणका दौरानमा उसको सिक्ने भोक देखेर म निक्कै प्रभावित भएको छु । धेरै कुराहरु सोधिरहने, हरेक दिन नयाँ नयाँ प्रयोग गर्ने उसको बानी थियो । धेरै पसिना बगाएर अहिले यहाँसम्म पुग्न सफल भएको छ ।

सन्दिपको दिल्ली डेयरडेभिल्सको यात्राले नेपाली क्रिकेटलाई अब कहाँ पर्‍याउँछ ?

समग्र रुपमा हेर्दाखेरि के हुन्छ भने यो हाम्रो नेपालका लागि एउटा बाटो खुलेको पनि देखिएको छ । किनभने भोलि पर्सी नेपालजस्तो मुलुकबाट एउटा खेलाडी आईपीएलमा पुग्न सक्छ भन्ने प्रभाणित भएको छ ।

नेपालमा यस्ता प्रतिभा अरु पनि छन्, उनीहरुका लागि पनि एउटा बाटो खुलेको मान्छु म । भोलि अरु मुलुकका लिगहरु पनि हुन्छन्, बंगलादेश प्रिमियर लिग, बिग ब्यास, काउन्टी क्रिकेट लगायतका प्रतियोगिताका लागि पनि बाटो यसले खुलाइदिएको छ । अवसरको ढोका खुलेको भन्ने मान्छु ।

सबैभन्दा मुख्य कुरा चाहीँ के हो भने हामी पनि त्यो लेभलमा खेल्न सक्छौं र हामीसँग पनि नयाँ पुस्ताका प्रतिभावान खेलाडी छन् भन्ने प्रमाण हो यो । नयाँ पुस्ताका लागि अझै प्रेरणा पनि थप्नेछ यसले ।

सन्दिपको दिल्ली यात्राले केही सुखद सन्देश दिए पनि नेपाली क्रिकेट त लथालिंग नै छ, कहाँ छ जस्तो लाग्छ नेपाली क्रिकेट अहिले ?

नेपाली क्रिकेट अहिले कस्तो भइरहेको छ भने अभिभावक बिनाको सन्तानजस्तो । हामीसँग क्रिकेटको नियमक निकाय छैन, दक्ष प्रशिक्षक छैनन् । यस्तो अभावका बीचमा खेलाडीहरुले आफैंले मिहिनेत गरेर आफ्नो प्रतिभा देखाउन ठाउँ त पाएका छन्, तर त्यो पर्याप्त होइन । यस्तै अवस्था नेपाली क्रिकेटमा रहिराख्ने हो भने भविश्यमा यसले प्रत्युत्पादक नतिजा पनि आउन सक्छ ।

भन्नाले ?

बिना अभिभावकको बच्चाहरुलाई कसरी ‘गाइडेन्स’ गर्ने भन्ने नभएपछि भोलि जे पनि हुनसक्छ । खेलाडीहरुमा पनि मनोपोली हुनसक्छ, अनावश्यक दवाव हुनसक्छ, खेलाडीबीचमा तनाव हुन सक्छ ।

अनि कुनैपनि आधिकारिक घरेलु लिग हामीसँग छैन, लिग नभएपछि राष्ट्रिय टिम छनोटमा यसले असर गर्छ । अहिलेकै छनोट प्रक्रिया हेर्नुस न आईसीसीको अमुक प्रतिनिधिले टिम छनोट गरिरहेको छ । त्यो सधैं फेयर भइराख्छ भन्ने पनि त छैन नि !

आईपीएलमा छनोट भएपछि सन्दिपसँग तपाईको कुराकानी भएको छ ?

मेरो अहिलेसम्म कुराकानी त भएको छैन, युएईमा छ उ, अभ्यासमा भएकाले होला अनलाइनमा पनि आएको छैन । कुरा गर्ने प्रयासमा छु म ।

पूर्व राष्ट्रिय कप्तान खड्का चितवन जिल्ला क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा पछिल्लो १२ वर्षदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey