आरबीबी क्लब च्याम्पियनसिप भलिबलमा कस्को खेल कहिले, जानी राखौं

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०२
  • |
  • 260 पटक हेरिएको

नेप्लेज, २ माघ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आरबीबी एनभीए क्लब च्याम्पियनसिप शुक्रबारदेखि शुरुहुँदै छ । पुरुष तर्फ ११ र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । पुरुष तर्फ चार वटा समूहमा विभाजन गरिएको छ भने महिला तर्फ २ वटा समूहमा विभाजन गरिएको छ । नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष तर्फ ४ समूहबाट २–२ टिम क्वार्टरफाइनलमा प्रवेश गर्ने छन् भने महिला तर्फ ४ टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।

पुरुष तर्फ समूह ‘ए’ मा त्रिभुवन आर्मी, आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब छन् । समूह ‘बी’ मा बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम छन् । समूह ‘सी’ मा नेपाल पुलिससँगै मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समावेश छन् ।

समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब परेका छन् । यो समूहका दुवै टिम स्वतः क्वाटरफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् । सहभागी हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

महिला तर्फ समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगरको टोली परेका छन् । चितवन टाइग्रेस टिमको मुख्य प्रायोजन भरतपुर महानगरले गरेकाले क्लबको नाम परिवर्तन भएको हो ।

समूह ‘बी’ मा न्यू डायमन्ड क्लब, नेपाल पुलिस र ढोरपाटन भलिबल क्लब छन् । प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् । महिला टिमका हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

पुरुष तर्फ शुक्रबार पहिलो खेलमा विहान साढे ९ बजे त्रिभुवन आर्मी र आरजी भलिबल ग्रुपकाबीचमा खेल हुने छ । विहान साढे ११ बजे एपीएफ र बुलबुले रारा क्लब भिड्ने छन् ।
महिला तर्फ शुक्रबार दिउँसो साढे १ बजे होङवाङजी न्यु डायमण्ड र नेपाल पुलिस आमने सामने हुने छन् । यो खेल अघि औपचारिक उद्घाटन समारोहको आयोजना गरिएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले गर्ने नेपाल भबिलल संघले जनाएको छ ।

दोस्रो दिन शनिबार विहानमा महिला तर्फको प्रतिस्पर्धा हुने छ । विहान साढे ९ बजे एपीएफ र जावलाखेल भलिबल क्लबका बीचमा प्रतिस्पर्धा हुने छ । दोस्रो खेलमा विहान साढे ११ बजे भरतपुर मेट्रो खेलकुद परिषद् र त्रिभुवन आर्मीकाबीचमा खेल हुने छ ।
शनिबार नै, पुरुष तर्फ आरजी ग्रुप र नयाँ बजार सामाजिक युवा क्लब बीच विहान साढे १ बजे प्रतिस्पर्धा हुने छ । साढे ३ नेपाल पुलिस क्लब र पार्वती भलिबल क्लब आमने सामने हुने छन् ।

आइतबार विहानमा पुरुष र महिलाको खेल अपरान्हमा हुने छ । विहान साढे ९ बजे पुरुष तर्फ पार्वती भलिबल क्लब र मणीमुकुन्द भलिबल क्लबकाबीचमा प्रतिस्पर्धा हुने छ । यसैगरी विहान साढे ११ बजे बुद्धटोल युवा भलिबल क्लब र हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने छन् ।
आइतार नै महिला तर्फ दिउँसो साढे १ बजे एपीएफ र भरतपुर तथा दिउँसो साढे ३ बजे जावलाखेल र त्रिभुवन आर्मी आमने सामने हुने छन् ।
सोमबार महिलाको प्रतिस्पर्धा विहान र पुरुषको प्रतिस्पर्धा दिउँसो हुने छ ।

विहान महिला तर्फ ढोरपाटन स्पोर्टस क्लब र नेपाल पुलिस विहान साढे ९ बजे प्रतिस्प्र्धा गर्ने छन् । यसैगरी विहान साढे ११ बजे जावलाखेल र भरतपुरका बीचमा प्रतिस्पर्धा हुने छ ।

दिउँसो पुरुष तर्फ सोमबार दिउँसो साढे १ बजे त्रिभुवन आर्मी र नयाँबजार सामाजिक युवा क्लबका बीचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दिउँसो साढे ३ बजे बुलबुले रारा क्लब र जावलाखेल भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

त्यसैगरी समूह चरणको अन्तिम खेल मंगलबार हुने छन् । मंगलबार विहान साढे ९ बजे एपीएफ र जावलाखेल भलिबल क्लब तथा विहान साढे ११ बजे नेपाल पुलिस र मणीमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । दिउँसो साढे १ बजे महिला तर्फ एपीएफ र त्रिभुवन आर्मी तथा दिउँसो साढे ३ बजे न्यु डायमण्ड र ढोरपाटन स्पोर्टस क्लबका बीचमा प्रतिस्पर्धा हुने छ ।

माघ १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुने प्रतियोगितामा सहभागी टिमले खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्नेछ ।

उपाधि विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

बिधागततर्फ उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।
प्रतियोगिता हेर्नका लागि टिकटको पनि ब्यवस्था गरिएको छ । समूह चरणमा १०० रुपैयाँका दरले टिकटको जिम्मा दिइएको नेपाल भलिबल संघले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey