एपीएफ न्यु डायमण्ड महिला भलिबलको फाइनलमा, पुलिस सोझो सेटमा स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२६
  • |
  • 378 पटक हेरिएको

काठमाडौं, २६ पुस । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नयाँ वसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय क्लब नेपाल पुलिसलाई तीन सून्यको सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५– १४ ले जितेको एपीएफले दोस्रो सेट २५–१८ ले पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट पनि एपीएफले २५– १७ ले जित्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा एपीएफले न्यु डायमण्ड र त्रिभुवन आर्मीबीचको विजेतासँग भोलि खेल्ने छ । दोस्रो सेमिफाइनल केहीबेरमा शुरुहुँदै छ ।

तेस्रो सेट :
तेस्रो सेटमा पुलिसले लगातार २ अंक लिँदै एपीएफमाथि दबाब बनाउन खोजेको थियो । तर एपीएफले लगातार २ अंक लिँदै बराबरी गरेको थियो । तेस्रो सेटमा रेश्मा भण्डारी र निरुता ठगुन्नालाई एपीएफल शुरुमा विश्राम दिएको थियो ।

एपीएफलाई ३ अंकमा रोक्दै अग्रता बनाउने प्रयास गरेको थियो । तर ४ अंक हुँदा एपीएफले बराबरी गर्न सफल भयो । शुरुमा पुलिसले एपीएफमाथि दबाब कायम राखे पनि एपीएफले उत्कृष्ट कमब्याक गर्दै पुलिसलाई ५ अंकमा रोक्दै ८ अंक बनाएको थियो । कोपिलाले बल बचाउन नसकेपछि एपीएफले अंक थप्न सफल भयो । हिरा केसीले नेट टच गरेपछि पुलिसले एक अंक थप्दै ६ अंक बनायो । पुनम चन्दले सर्भिस बिगारेपछि एपीएफले अंक लिएको थियो । कोपिलाले बल बचाउन नसक्दा एपीएफले ११ अंक बनाउँदा पुलिस ६ अंकमा रोकिएको थियो ।कोपिलाले स्पाइकमार्फत अंक लिएपछि पुलिसले एपीएफसँगको अग्रता ४ मा झारेको थियो ।

त्यसपछि लगातार पुलिसले अंक लिँदै एपीएफसँगको अग्रता १ मा झारेको थियो । पुलिसले ११ अंक बनाउँदा एपीएफले १२ बनाएको थियो । त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेल १४–१२ ले एपीएफ अघि बढेको थियो । त्यसपछि लगातार एपीएफले १६ अंक बनाउँदा पुलिस १२ मा रोकिएको थियो । पुलिसका खेलाडीहरुका बीचमा तालमेल नमिल्दा एपीएफले लगातार अंक लिन सफल भयो । २१ अंक बनाउँदा पुलिस १३ अंकमा रोकिएको थियो । एपीएफले २४ अंक बनाउँदा पुलिसले १६ अंक बनाएको थियो । मनिषा चौधरीले पुलिसका लागि अंक जोडेपछि अग्रता ७ अंकमा झारेको थियो । तर एपीएफले १ अंक लिएपछि एपीएफ पुलिसविरुद्ध तीन सून्यको सोझो सेटमा विजयीहुँदै फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेटः
दोस्रो सेटमा पुलिसले पहिलो अंक लिएको थियो । सरस्वती चौधरीको स्पाइक विग्रिएपछि पुलिसले पहिलो अंक लिएको थियो । दोस्रो पटक भने सरस्वतीले नै अंक लिइन् । पुलिसकी कमला पुनले सर्भिस विगारेपछि एपीएफले अंक लिँदै २–२ बनायो । सुरुदेखिनै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले ५ अंक जोड्दा एपीएफले चार अंक बनाएको थियो ।

पुलिसकी पुनम चन्दले नेट टच गरेपछि दुवै टिमको स्कोर ५–५ बनेको थियो । त्यसपछि एपीएफका लागि निरुता ठगुंना र हिरा केसीले अंक दिलाउँदै पुलिसविरुद्ध ३ अंकको अग्रता दिलाए । एपीएफको ८ अंक हुँदा पुलिसको ५ अंक थियो । पुलिसकी उषा भण्डारीको प्रहारलाई एपीएफकी हिरा केसीले ब्लक गर्दै एक अंक लिइन् । ९ अंक बनाएका बेला एपीएफकी रेश्माले सर्भिस मिस गरेपछि पुलिसले १ अंक लिँर्दै ६ बनाएको थियो ।

यस्तै एपीएफले प्लेसमेन्टमा अंक लिँदै एपीएफले १० अंक बनायो । लगातार ३ अंक लिँदै पुलिसले अग्रता कम गर्ने प्रयास गरेको थियो । अग्रता १ मा झरेका बेला पुलिसका खेलाडीबीच ब्लक गर्ने तालमेल नमिल्दा एपीएफले १ अंक लिन सफल भयो । त्यसपछि हिराको ब्लक गर्न नसक्दा पुलिसले १ अंक लिँदै अग्रता १ मा झार्न सफल भयो । सरस्वतीले अंक लिएपछि फेरि अग्रता लियो ।

पुलिसकी कोपिलाले उत्कृष्ट प्लेसमेन्ट गरेपछि दुवै टिमको स्कोर १३–१३ बनेको थियो । त्यस लगत्तै निरुता ठगुन्नाले एपीएफका लागि अंक जोड्दै १४–१३ बनाइन् । अर्को एक अंक जोड्दै १५ बनाएको एपीएफले गल्ती गर्दा पुलिसले अंक लिँदै अग्रता १ मा झारेको थियो । पुलिसलाई १४ अंकमा रोक्दै एपीएफले लगातार तीन अंक लिएको थियो ।

एपीएफले पुलिसलाई १६ अंकमा रोक्दै ५ अंकको अग्रता लिएको थियो । उषा भण्डारीको स्पाइकमा पुलिसले थप एक अंक जोडेको थियो । एपीएफका लागि सरस्वतीले स्पाइकमार्फत अंक लिन सफल भइन् । सर्भिसमा कप्तान विनिता बुढाथोकीले अंक लिएपछि अन्ततः एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

पहिलो सेटः
पुलिसले ६ अंक बनाउँदा १४ अंक बनाएको एपीएफले लगातार ६ अंक गुमाएको थियो । पुलिसले १२ अंक बनाउँदा एपीएफले लगातार २ अंक अंक जोड्दै चार अंकको अग्रता बनाउन सफल भयो । लगातार अंक जोड्दै एपीएफले १८ अंक बनाउँदा पुलिसले १३ अंक पुर्यायो । रेश्मा भण्डारीले सर्भिसमार्फत एपीएफका लागि अंक ल्याएको थिइन ।

यस्तै पुलिसकी कमला पुनले टिमका लागि एक अंक थप्दै १४–२० को अवस्थामा लगिन् । पुलिसकी पुनम चन्दले गरेको प्रहार बाहिरएपछि एपीएफले अंक लिएको थियो । हिरा केसीले एपीएफले पनि उत्कृष्ट प्रदर्शन गर्दै एपीएफका लागि अंक ल्याउन सफल भइन् । निरुता ढगुंनाले अन्तिम अंक ल्याए पछि एपीएफ पहिलो सेटमा २५–१४ ले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey