१३ औं साग : सुटिङमा भारत च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२३
  • |
  • 236 पटक हेरिएको

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङ विधामा भारत च्याम्पियन बनेको छ । कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको हो । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ वटा पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरि कुल सात पदक हात पारेको छ । माल्दिभ्स, भुटान र आयोजक राष्ट्र नेपालले सुटिङमा कुनै पनि पदक हात पार्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्य पदक जितेका छन् । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स्ड इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टिम पाँचौं हुँदै बाहिरिएको थियो ।

भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अकंसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलंकाका एलभीस के.ए.आई. र फर्नान्डो टी.डी.एसको जोडी ८ अंकमा रोकिएको थियो ।

कास्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बंगलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंककमा रोकिँदै चौथो स्थानमा आए । विजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey