उसु: नेपालका अलिना र जुनी फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१८
  • |
  • 346 पटक हेरिएको

उसुको सान्डामा नेपालका अलिना चौधरी र जुनी राई फाइनलमा पुगेका छन् । महिलाको ५२ केजी तौल समूहमा एलिनाले पाकिस्तानकी फतिमा र महिलाकै ५६ केजीमा जुनीले भारतकी विद्यापति चानुलाई अंकका आधारमा पराजित गर्र्दै उपाधि नजिक पुगेका हुन् ।

महिलाकै ५२ केजी तौल समूहमा भारतकी सनथोई देवीले श्रीलंकाकी दिलहानीलाई पराजित गर्दै अलिनासँगको उपाधि भिडन्त पक्का गरिन् । ५६ केजीमा श्रीलंकाकी मधुमलीले बंगलादेशकी सकी अख्तरलाई पराजित गरिन् । महिलाको ५२ केजीमा फतिमा र विद्यापति तथा ५६ केजीमा दिलहानी र सकीले कांस्यमा चित्त बुझाए ।

महिलाको ६० केजीको राउन्ड रोबिनमा पाकिस्तानकी माइरा करामतले बंगलादेशकी रीताविश्वास पूजालाई पराजित गरिन् । महिलाकै ७० केजीको राउन्ड रोबिन लिगमा भारतकी दीपिकाले बंगलादेशकी बासुना खन्डोकरलाई स्तब्ध बनाइन् ।

पुरुषको ५२ केजी तौल समूहमा भारतका सुनिल सिंहले नेपालका अशोक खालिङलाई अंकका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाए । यस स्पर्धाको अर्को खेलमा पाकिस्तानका फरहान अलीले श्रीलंकाका जीएम चण्डिकालाई नकआउट गर्दै स्वर्ण पदक नजिक पुगे । अशोक र जीएम चण्डिकाले कांस्य जिते । पुरुषकै ५६ केजीमा भारतका उचित सिंह र बंगलादेशका सोजिब हुसेन उपाधि नजिक पुगे । सेमिफाइनल भिडन्तमा उचितले पाकिस्तानका अब्दुल खालिक र सोजिबले श्रीलंकाका एसआर कुमारालाई पराजित गरे । अब्दुल र एसआर कुमाराले कांस्य पाए ।

पुरुषको ६० केजीमा भारतका विक्रान्त बालियान र नेपालका मंगल थारु फाइनलमा पुगे । विक्रान्तले श्रीलंकाका पीएन बलवारदना र मंगलले बंगलादेशका मोहमद मिलोन अलीलाई पाखा लगाए । पुरुषको ६५ केजीमा भारतका रवि पन्चाल र श्रीलंकाका निपुन सनिका उपाधि नजिक पुगे । पन्चालले पाकिस्तानका सद्दाम हुसेन र निपुनले बंगलादेशका मोहमद रकिब हुसेनलाई पराजित गरे । सद्दाम र निपुनले कांस्य जिते ।

पुरुषको ७० केजी तौल समूहको सेमिफाइनलमा पाकिस्तानका सहजैब खैर र भारतका सुरज यादव फाइनलमा पुगेका । सहजैबले बंगलादेशका श्रीलंकाका एसजीआर रुमेश र सुरजले नेपालका चित्रसिंह ठकुरीलाई पाखा लगाए । सहजैब खैर चित्रसिंह ठकुरीले कांस्यमा चित्त बुझाए ।

पुरुषको ७५ केजीमा श्रीलंकाका पुष्प कुमारा र पाकिस्तानका माज खानले स्वर्ण भिडन्त पक्का गर्दा बंगलादेशका सलिम अहमद र भारतका प्रभातकुमार जोगीनाथले कांस्यमा चित्त बुझाए । पुरुषको ८० केजीको सेमिफाइनलमा भारतका नभिनले बंगलादेशका मोहमद रुबल खानलाई हराए । यही तौल समूहमा पाकिस्तानका साजिद हुसेनले नेपालका निकेश श्रेष्ठलाई पराजित गरे । सेमिफाइनलमा पराजित मोहमद रुबेल खान र निकेश श्रेष्ठले कांस्यमा चित्त बुझाए । पुरुष ८५ केजीको राउन्ड रोबिनमा पाकिस्तनका मोहमद अम्जद इक्वालले श्रीलंकाका मधुशंकालाई पराजित गरे ।

सान्डामा बुधबार नेपालले दुई कांस्य जित्यो । यस्तै बंगलादेशले ५, श्रीलंकाले ४ र भारतले दुई कांस्य पदक प्राप्त ग¥यो । बिहीबार थाउलोमा तीन र सान्डामा १४ गरी १७ स्वर्ण पदकको टुंगो लाग्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey