Mega Bank

यस्तो रह्यो १३ औं सागको उद्घाटन समारोह

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०८-१५
  • |
  • 102 पटक हेरिएको

काठमाडौं, १५ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन गरिएको छ । भूकम्प पछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीचमा सागको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा सातै देशका खेलाडीहरुले मार्च पास गरेका थिए ।

२६ खेलका २८ इभेन्टहरु मध्य ८ खेल पोखरामा हुँदैछन् भने जनकपुरमा एउटा खेल हुने छ । बाँकी खेलहरु काठमाडौं उपत्यका केन्द्रीत छन् । वुधबारदेखि भलिबल खेल शुरु भइसकेको छ भने खोखो, कराते र व्याडमिन्टन खेल आइतबारदेखि शुरु भएका छन् । डिसेम्बर १० तारिखसम्म चल्ने सागमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्य पदकका लागि नेपालसहित, बंगलादेश, भुटान, भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै ‘१३ औं दक्षिणा एसियाली खेलकुद’ उद्घाटन भएको घोषण गर्दछु भनेकि थिइन् ।
विशेषरुपमा सजाइएको रंगशालामा तीन वटा विभागीय टिमहरुले विशेष प्रस्तुति दिएका थिए भने विभिन्न कलाकृति झल्कने झाँकी समेत प्रर्दशन गरिएको थियो ।

उद्घाटन समारोहमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका समेत अध्यक्ष रहेका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले दक्षिण एसियाली मुलुकका लागि यो प्रतियोगिता ‘मिनि ओलम्पिक’को रुपमा रहेको चर्चा गर्दै सवै खेलाडीले उच्च मनोबलका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले पुनर्निर्माण पछिको संरचनामा प्रतियोगिता हुन लागेको जानकारी गराउँदै यो प्रतियोगिताले नेपालको शान विश्वसामू परिचित हुने बताए ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सवै देशको सहभागिताका लागि आभार व्यक्त गर्दै आजको दिनसम्म ल्याइपुर्याउने सवैमा धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भए पछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । उनले नेपालले तेस्रो पटक साग आयोजना गरेर विश्वसामू परिचय फराकिलो बनाएको बताए । साथै उनले भ्रमण वर्ष २०२० शुरु हुन लागेका बेला आयोजना भएको सागले पक्कै पनि दक्षिण एसियाली देशहरुमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

उद्घाटन समारोह अन्तर्गत ओलम्पिक टर्च र्याली ओलम्पियन जीतबहादुर केसीले रंगशाला परिसरमा पुर्याएका थिए । जीतबहादुरले उमेश मास्के, देवु थापा, राजेन्द्र भण्डारी, नयना शाक्य हुँदै सर्वाधिक सफल धावक बैकुण्ठ मानन्धरको हातमा पुगेको थियो । मानन्धरले सागमा चार स्वर्ण विजेता तेक्वान्दो खेलाडी दीपक विष्टलाई हस्तान्तरण गरेका थिए । विष्टले नै रंगशालामा दीप प्रज्जवलन गरेका थिए ।

मार्चपासमा भारत्तोलनका खेलाडी कमल अधिकारीले नेपालको झण्डा लिएका थिए भने खेलाडीको तर्फबाट नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्का र प्रशिक्षकका तर्फबाट व्याडमिन्टन रेफ्री दीपक थापाले सपथ लिएका थिए ।

औपचारिक समारोह सकिएपछि रंगशालामा मनोरञ्जनात्मक प्रस्तुति गरिएको थियो । सातै प्रदेशका संस्कृति झल्कने प्रस्तुती पछि विभागीय टिमहरुले प्रदर्शन गरे । नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ सय जनाले ‘मास क्यालेसथेनिक’ प्रस्तुत गरेका थिए । अन्त्यमा आतिशवाजीका साथै दीपक बज्राचार्यको ‘मन मगन’ गीतबाट उद्घाटन समारोह पुरा गरिएको थियो ।

भर्खरै

Advertisement