एशियन गेम्स खेलेर कोरियामै लुकेका तिलकरामको पीडाः न पैसा, न करिअर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 1560 पटक हेरिएको

चैत २०, काठमाडौं । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन शहरमा भएको १७औं एशियाली खेलकुदअघि नेपालका नम्बर एक स्प्रिन्टर तिलकराम थारुको एउटै लक्ष्य थियो, नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने, जसले साग गेम्सका लागि मनोबल उच्च बनोस् ।

आफ्नो लक्ष्य उनले दक्षिण कोरियामा पूरा गरे । २०० मिटर दौडमा उनले २१.१५ सेकेण्डको टाइमिङ निकाल्दै आफ्नै कीर्तिमान (२१.४१) सुधार गरे । एशियाडमा उनको सोचेजस्तै प्रदर्शन भयो, त्यसले साग गेम्समा पदक जित्ने हौसला पनि थपेकै थियो ।

तर, २०१४ को अक्टोबर ४ मा एशियाली खेलकुद सकिएपछि स्वदेश फर्किएको नेपाली टोलीमा तिलकराम थिएनन् । साग गेम्समा स्वर्ण जित्ने लक्ष्य लिएका तिलकराम उच्च लयमा रहेका बेला करिअर नै अन्त्य गरी कोरियामै लुके । समापन समारोहको दुई दिन अघि उनले खेलाडी भिलेज छाडे । यसले नेपाली खेलकुदमै ठूलो दाग लाग्यो ।

प्रतियोगिताका लागि देश बाहिर पुगेका खेलाडी उतै लुकेको घटना पहिलो त थिएन । तर, एशियाली स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका खेलाडी एकाएक गायव हुनुले समग्र नेपाली खेलकुदमै प्रश्न उठेको थियो त्यतिबेला ।

नेपालका तत्कालीन नम्बर एक स्प्रिन्टर हुन् तिलकराम थारु । उनले त्यसअघि सन् २०१२ मा भएको लण्डन ओलम्पिकमा १०० मिटर स्पर्धामा सहभागिता जनाएका थिए । कोरियामै लुकेका तिलकलाई नेपाल एथ्लेटिक्स संघले १० वर्षको प्रतिबन्ध लगाएको छ ।

उनै तिलकराम थारु करिव साढे तीन वर्ष कोरियामा बिताएर गत साता स्वदेश फर्किएका छन् । काठमाडौं ओर्र्लिएकै भोलिपल्टै उनी नवलपरासी स्थित घर पुगेका छन् ।

भिलेजबाट भागेपछि…

‘खासमा मैले पनि सोचेको थिइनँ कि म उतै लुक्छु, यहाँबाट जानेबेलामा पनि त्यो सोच बनाएको थिइनँ, तर, उता गएपछि माहोल त्यस्तै भयो, गाउँका साथीहरुले यहीँ बस हामी सहयोग गछौं भने । अनि उतै बसेँ ।’ हल्का ग्लानीमिश्रित भावमा तिलकरामले भने ।

राष्ट्रको झण्डा बोकेर बिदेशमा पुगेको खेलाडी उतै लुक्दा आफ्नो करिअर र समग्रह मुलुकलाई नै पर्ने असरबारे उनी जानकार नभएका होइनन् । तर, आफ्नो आर्थिक अबस्था सुधार गर्ने मोहमा उनले आफ्नै करिअर दाउमा राखे ।

‘नेपालमा राजनीतिक माहोल पनि राम्रो भएन, जति खेले पनि केहि पाइने होइन रहेछ भन्ने सोच आउन थाल्यो र उतै लुकेँ ।’

त्यसोत उनी नेपाल प्रहरीका जागिरे थिए । ६ वर्ष उनी नेपाल पुलिसको टिममा रहेर आफ्नो प्रतिभा तिखारे । बिभागीय खेलाडी भएको नाताले उनलाई बिभाग बाहिरका खेलाडीभन्दा सहज थियो । तर, उच्च महत्वाकांक्षाले उनलाई के ठीक र के बेठीक छुट्याउन कठिन बनाइदियो ।

‘पुलिसको जागीर नै भएपनि हामीलाई समस्या त थियो नै । पारिवारिक अवस्था राम्रो थिएन । एउटा जुत्ता किन्नै ५ हजार खर्च गर्नुपर्थ्यो, बिभागलाइ जति राम्रो गरे पनि बिभागबाट कहिल्यै राम्रो भएन ।’

एशियाड भिलेजबाट भागेपछि उनी ४ घण्टा गाडीको यात्रा गरेर कोरियाको थेगु शहर पुगे । गाउँकै एकजना साथीले काम गर्नेप्लास्टिक कम्पनीमा लुके र काम गर्न थाले ।

नवलपरासीमा रहेका आमाबुबा तिलकबारे बेखवर थिए । खेल्न कोरिया पुगेको छोरा उतै भागेको भन्ने समाचार सुनेपछि तिलकका बाबुआमालाई नरमाइलो लागेको रहेछ । ‘लुकेको २ सातापछि घरमा फोन गर्दा बुबाले नलुकेको भए हुने, यहाँ बेइज्जत भयो भन्नुभएको थियो ।’ तिलकले भने, ‘जे नहुनु भइहाल्यो, अब यतै केहि काम गरेर आउँछु भनेर सम्झाएँ ।’

‘टिमका साथीभाई र कोचहरुसँग चाहीँ एक वर्षपछि मात्रै सम्पर्क भयो, जे नहुनु गरिहालिस् अब टन्न पैसा कमाएर आइज भन्थे साथीहरु, तर… ।’

न पैसा, न करिअर

नवलपरासीको मध्यबिन्दू नगरपालिका वडा नम्बर ६, भण्डारामा रहेको चौधरी परिवास सुकिम्बासी थियो । तिलकले कोरियामै भाग्ने निर्णय लिनुमा परिवारलाई आफ्नै जमिनमा राख्ने सपनाको कार्यान्वयन नै मुख्य थियो, जहाँ उनले आफू मुलुककै प्रतिनिधि भएको विर्सिए ।

कोरियामा साढे २ वर्ष काम गरेपछि उनले भण्डारामा २ कठ्ठा जमिन किनेर बुबाआमालाई आफ्नै जमिनमा राख्न त सक्षम भए । तर, पक्की घर बनाउने र केहि रकम आर्जन गरी नेपालमै व्यवसाय गर्ने सपना त्यतिबेला चुँडियो, जतिबेला उनी कम्पनीमै दुर्घटनामा परे ।

प्लास्टिक कम्पनीमा काम गर्दा दुर्घटनामा परेर हात भाँच्चिएपछि उनी न पैसा न करिअरको अवस्थामा पुगे । ‘धन्न कम्पनीले मलाई सबै लिगल प्रक्रिया पूरा गरेर १ वर्षसम्म उपचार गरिदियो ।’ उनले भने ।

उनी अझै पूर्ण फिट भइसकेका छैनन् । हालमा स्टिल राखिएको छ ।

अबको लक्ष्य

ओलम्पियन तिलकराम थारुले जे नगर्नु गरिसके । त्यसमा उनलाई ग्लानी छ । पैसा कमाउने महत्वाकांक्षाले गलत बाटोमा हिडेका तिलकरामले न चाहेजति पैसा कमाउन सके, न करिअर नै उनीसँग छ ।

एथ्लेटिक्स प्रशिक्षक बन्ने चाहना उनले ब्यक्त गरेका छन् । तर, एथ्लेटिक्स संघको १० वर्षको प्रतिबन्धमा परेका उनको चाहना अहिल्यै पूरा नहुने निश्चित नै छ ।

कोरिया बसाईबाट उनले सिकेको एकमात्र कुरा के हो भने आफ्नै मुलुकमा परिश्रम गर्ने हो भने कोहि पनि नेपाली बिदेशिनु पर्दैन । ‘१२–१२ घण्टासम्म न खाना न पानी काम गर्ने कोरियाको संस्कृति मलाई निक्कै राम्रो लाग्यो, १२ घण्टाको ठाउँमा ८ घण्टामात्रै पनि आफ्नै ठाउँमा काम गर्ने हो भने कोरिया जानै पर्दैन भन्ने बुझेँ ।’

उनले गाउँमै कृषि कर्म गर्ने सोचेका रहेछन् । ‘माछा र कुखुरा पालन गर्ने सोच बनाएको छु, हेरौं बजेट थोरै छ ।’

देशको प्रतिष्ठा दाउमा लगाएर ‘सपना’ पूरा गर्न कोरियामै लुकेका तिलकरामको निर्णयले नेपाली खेलकुदको अवस्था उदांगो पारिदिएको थियो । उनको त्यस निर्णयले नयाँ पिढीलाई खेल क्षेत्रमा लाग्न हतोत्साही त पक्कै गरेको छ । ‘आउने पिडीलाई असर त अवश्य नै पर्छ । अगाडिको पिढीले नराम्रो गरेपछि असर नपर्ने भन्ने कुरा हुँदैन ।’

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal