Prabhu Bank

एन्फा निर्वाचन कसैले रोक्न सक्दैनः कर्मा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 0 पटक हेरिएको

चैत १६, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्षका उम्मेदवार तथा परिवर्तन पक्षधरका नेता कर्मा छिरिङ शेर्पाले एन्फा निर्वाचन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चैत १४ गते हुने भनिएको निर्धारित निर्वाचन अदालतको आदेशसँगै सरेपछि पहिलो पटक सार्वजनिक धारणा राख्दै उम्मेदवार कर्माले विवाद भएका दुवै जिल्लाको निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब चुनाव रोक्ने खेलमा लाग्ने सबै पराजित हुने बताए ।

‘मकवानपुर र भक्तपुरमा निर्वाचन हुने भएपछि अब केन्द्रीय निर्वाचनका लागि बाटो खुलेको छ ।’ कर्माले भने ।

आफूहरुले निर्वाचन स्थगित भए पनि साधारणसभा स्थगित नहोस भनेर एन्फा नेतृत्वलाई अनुरोध गरे पनि साधारणसभा सारिएको गुनासो कर्माले गरे । उनले भने, ‘निर्वाचनको प्रक्रिया थाती राखेर साधारणसभाका अन्य प्रक्रियाहरु सम्पन्न गर्न सकिन्थ्यो, हामीले त्यसको प्रस्ताव पनि गरेका हौं । तर, एन्फा नेतृत्वले सुनेन ।’

भक्तपुर र मकवानपुर जिल्लाले निर्वाचन प्रक्रियामा आफूहरुलाई समावेश नगराइएको बिरोधमा पाटन उच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश आएपछि एन्फाको निर्वाचन सरेको थियो ।

एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा २७ गते निर्वाचन गर्न पत्राचार गरिसकेको छ ।

यसबीचमा एएफसीका प्रतिनिधिले नेपाल भ्रमण गरी तोकिएको समयमा एन्फाको चुनाव हुन नसक्नुका तथ्यबारे जानकारी लिएका थिए ।

‘उच्च अदालतको निर्णय आएपछि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, एएफसीका प्रतिनिधिसँग बसेर छलफल भएको थियो, निर्वाचन छिटोभन्दा छिटो गर्न र मिति तोक्न भनेका थियौं जसमा मौखिक सहमति भएको छ ।’ कर्माले भने ।

उनले बैशाख ९ गते एन्फाको निर्वाचन गर्न माग पनि गरे । ‘एन्फाको बिधान अनुसार ४ वर्ष ६ महिनासम्म पनि चुनाव नभएको अबस्थामा स्वतः अबैधानिक हुने प्रावधान छ, त्यसबाट जोगिन पनि बैशाख ६ गतेको आसपासमा निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।’

एएफसी प्रतिनिधिसँगको बैठकमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि दुवै जिल्लाको निर्वाचन सकिएको २ साताभित्रै केन्द्रको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

एन्फाको अध्यक्षका लागि कर्माको प्रत्यासीका रुपमा वर्तमान बरिष्ठ उपाध्यक्ष मणि कुँवर छन् ।