आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा पौडीपोखरी बन्दै

0

चैत १६, बाँके । आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण प्रक्रिया तीव्र गतिमा भइरहेको छ ।

आगामी वर्ष मंसिरमा मध्यपश्चिममा आठौं राष्ट्रिय खेलकुद हुँदैछ ।

पौडी पोखरी निर्माणका लागि १८ करोड बजेट विनियोजन गरिएको छ । २५ मिटर चौडाई, ५० मिटर लम्बाइ र साढे तीन देखि पाँच मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौंपछि मोफसलमा एकमात्र अन्तर्राष्ट्रिय स्तरको हुने क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।

पौडीपोखरी अन्तर्राष्ट्रिय सुविधासम्पन्न हुनेछ भने १ हजार दर्शक क्षमताको हुनेछ ।

पौडीपोखरीको ढलानको काम बिहीबारदेखि सुरु भएको छ । पौडीपोखरी निर्माणका लागि सुनकोसी ड्रइगन वर्ल्डवाइड जेभीले ठेक्का पाएको छ । गत भदौदेखि काम सुरु भएको पौडीपोखरी २०७६ साल असारसम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा छ ।

तर, निर्माण कम्पनीले ६ महिना अगावै निर्माण सम्पन्न गर्ने आश्वासन दिएकाले २०७५ मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि पौडी पोखरी प्रयोग गर्न पाइने अध्यक्ष वलीले जानकारी दिए ।

‘निर्माण कम्पनीले आठौंमा प्रयोग गर्न सकिने गरी काम गर्छु भनेको छ, समयभन्दा अगावै निर्माण सम्पन्न गरेमा आउने ठूलो रकमको बोनसको लागि पनि चाँडै काम सकिन्छ भन्ने अपेक्षा छ ।’ वलीले भने ।

यस पौडीपोखरीको शिलान्यास २०६६ सालमै भएको हो । तर, प्राथमिकतामा नपर्दा यसको निर्माण सुरु हुन पाएको थिएन । तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेशबहादुर नेपालीले पोखरीको शिलान्यास गरेका थिए । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएपछि निर्माणकार्यले तीव्रता पाएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष वलीले जानकारी दिए ।

Post Add 1025X115
Loading...