सागमा सहभागी खेलाडी र पदाधिकारी सवैको दुर्घटना विमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१०
  • |
  • 196 पटक हेरिएको

काठमाडौंमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने सबै खेलाडी तथा अफिसियलहरुको दुर्घटना विमा हुने भएको छ ।

सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानले सहभागीता जनाउँदैछन् । हरेक देशबाट ६ सय ४८ खेलाडीले सहभागिता जनाउने छन् भने खेल पदाधिकारीको संख्या भने अझैं टुंगो लागि सकेको छैन् ।

गत भदौ २६ गते मन्त्रिपरिषद्बाट पारित भएको साग सञ्चालन कार्यविधिले खेलाडी तथा खेल पदाधिकारीको दुर्घटना विमान गर्ने व्यस्था गरेको छ । यसले खेलका दौरान हुने दुर्घटनाबाट कोही पनि भविष्यमा पिडीत हुन नपरोस भन्ने उद्देश्य रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । कार्यविधि अनुसार विदेशी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक, व्यवस्थापक, अफिसियलको हकमा नेपाल प्रवेश गरेको दिनदेखि संलग्न भएको खेल समाप्त भएको दिनको पछिल्लो एक दिनसम्मको दुर्घटना बिमा गरिने व्यवस्था गरिएको छ ।

यस्तै विशिष्ट र अति विशिष्ट अतिथिहरुको हकमा नेपाल प्रवेश गरेको दिनदेखि आफ्नो देश प्रस्थान गर्दाको दिनसम्मका लागि दुर्घटना बिमा गरिने जनाइएको छ । नेपाली खेलाडीहरुको भने अहिले देखिनै विमा गरिएको छ । उनीहरुलाई बन्द प्रशिक्षणमा रहेको समयदेखि संलग्न भएको खेल समाप्त भएपछिको दुई दिनसम्मका लागि दुर्घटना बिमा गरिने कार्यविधिमा उल्लेख छ ।

यस्तै सागको तयारी लगाएतका अन्य काममा खटिने व्यक्तिहरुको हकमा पनि दुर्घटना विमाको व्यवस्था गरिएको छ । विभिन्न समितिमा क्रियाशील व्यक्तिहरु र खेलकुदमा खटिएका कर्मचारीको लागि खेल प्रारम्भ हुनुभन्दा तीन दिन अगाडिदेखि खेल समाप्त भएको भोलिपल्टसम्मका लागि दुर्घटना बिमा गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाली टिममा सहभागी, व्यवस्थापक, अफिसियल, रेफ्री, निर्णायक, प्रशिक्षकहरुका लागि खेल प्रारम्भ हुनुभन्दा दुई दिन अगाडिदेखि खेल समाप्त भएको भोलिपल्टसम्मका लागि दुर्घटना बिमा गरिने पनि उल्लेख छ । विमाको अधिकतम रकम १० लाख रुपैयाँ हुने पनि उल्लेख गरिएको छ भने विमाको रकम नेपाल सरकारबाट खेलकुदको लागि विनियोजित बजेटबाट व्यवस्था गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey