आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा सन्तोष पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०४
  • |
  • 246 पटक हेरिएको

नेप्लेज, ४ असोज । क्योकानका सन्तोष काली राजले दोश्रो आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ६५ केजीमा शनिबार स्वर्ण जितेका छन् । फाइनलमा उनले क्योकानकै सुशान्त लामिछानेलाई पराजित गरे । आईएफकेकेका हरि दनुवार तेश्रो भए ।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा आईएफकेकेका महेश भुजेल पहिलो भए । उनले फाइनलमा क्योकानका विश्व लामालाई हराए । क्योकानकै सौरव बस्नेतले तेश्रो स्थान हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेएका सागर थिङ पहिलो, आईएफकेकेका समिर लिम्बू दोश्रो र आईएफकेकेकै सुरेन्द्र तामाङ तेश्रो भए । पुरुष ४५ केजीमा आईकेओ वज्रका सुरज विक शीर्ष स्थानमा रहे । उनले फाइनलमा आईकेओका समृद्ध गौतमलाई पाखा लगाए । आईकेएका अनमोल माझी तेश्रो बने । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल क्योकुसिन कराते संघ वज्रका प्रथम उपाध्यक्ष पुष्पमान मानन्धर, आयोजक संघका संस्थापक अध्यक्ष एवं ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायते एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको नेपाल क्योकुसिन कराते संघ वज्रका अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए । त्यस अवसरमा आयोजक संघका उपाध्यक्ष घनश्याम श्रेष्ठ र आईएफकेकेका काठमाडौं जिल्ला अध्यक्ष निश्चल गुरुङलाई सम्मान गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ विभिन्न ४ तौलसमूहमा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey