ओलम्पिक कमिटीमा के हुन्छ, त्यो सबैले थाहा पाउनुपर्छः उमेशलाल श्रेष्ठ (अन्तरवार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२७
  • |
  • 193 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको निर्वाचन शनिबार हुँदैछ । यो निर्वाचनले चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन् ।

चुनावको पूर्वसन्ध्यामा नेप्लेजले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठसँग उनको चुनावी एजेन्डाका बारेमा अन्तरवार्ता गरेको थियो । जसको अंश यहाँ प्रस्तुत छ ।

ओलम्पिक कमिटीको निर्वाचन मुखैमा आएको छ । कतिको दौडधुप भइरहेको छ ?
कुनै पनि चुनावमा दौडधुत त भइहाल्छ । स्वभाविक हो । आफ्नो एजेन्डा लिएर साथीभाईहरुसँग भेटघाट गरिरहेको छु । राम्रै समर्थन जुटाइसकेको अवस्था पनि छ ।

तपाईको एजेन्डाहरु के छन् ?
म केही पहिला पनि नेपाल ओलम्पिक कमिटीमा आबद्ध थिएँ । मैले जहिले पनि भन्ने गरेको एक–दुईवटा कुराहरु छन् ।
नेपाल ओलम्पिक कमिटी पारदर्शी हुनुपर्छ । कार्यशैलीको पारदर्शीता, प्रशासनिक पारदर्शीता र आर्थिक पारदर्शीता हुनुपर्छ । यी तीनवटा मेरा मुख्य एजेन्डाहरु हुन् ।

यसको साथै खेल, खेलाडी र खेल संघ हाम्रो प्राथमिकतामा पर्नैपर्छ । ओलम्पिक कमिटीमा बसेर आफन्तहरुलाई घुमाउनु भनेको राष्ट्रका लागि आएको अनुदानको दुरुपयोग गर्नु हो ।

विभिन्न आईओसी (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी)का मार्फत देशको खेल तथा खेलाडीको विकासका लागि कोर्सहरु आउँछ, त्यसलाई सदुपयोग गर्ने काम म गर्छु ।

मुख्य कुरा त अहिले म पारदर्शीतालाई नै लिन्छु ।

ओलम्पिक कमिटी भन्नेवित्तिकै खल्तीबाट चल्ने संस्था भनिन्छ । करिव करिव त्यस्तै पनि छ । त्यसैले यसलाई ‘चेन्ज’ गर्नु प¥यो । र, त्यहाँ भएका सबै साथीहरुलाई जिम्मेवारी पनि दिनु प¥यो ।

हाम्रो देशको सबैभन्दा ठूलो खेलकुद निकाय भनेको राष्ट्रिय खेलकुद परिषद् हो । ओलम्पिक चार्टर्डले पनि के भन्छ भन्दा देशको कानुनलाई मान्नुपर्छ, खेलकुद संस्थाहरुसँग सहकार्य गर्नुपर्छ । यी कुराहरु मेरो प्राथमिकतामा छन् ।

मेरो एजेन्डाका कारण म लगायत मलाई सहयोग गर्ने मित्रहरुको जित करिव करिव सुनिश्चित छ । र, हामीले नेपाल ओलम्पिक कमिटी र नेपाली खेलकुदमा नयाँ आयाम थप्नेछौं ।

अहिले पनि नेपाल ओलम्पिक कमिटीको विवाद पूर्ण रुपमा सेलाएको छैन । त्यो विवादलाई कसरी निश्कर्षमा पु¥याउने योजना छ ?
यो विवाद ब्यक्तिगत जुँगाको लडाईँबाट सिर्जना भएको जस्तो लाग्छ । सन् २००७ को बाहेक अन्य बेलाको चुनाव कहाँ र कहिले हुँदैछ भनेर कसैलाई थाहा हुँदैनथ्यो । त्यो चुनावमा ध्रुवबहादुर प्रधान अध्यक्षमा निर्वाचित हुनु भएको थियो र अहिले विवाद गर्ने साथीहरु पनि हुनुहुन्थ्यो ।

मेरो सामान्य सोचमा त्यो विवाद त्यही अन्त्य भइसक्यो । मैले चुनाव जितेको खण्डमा उहाँहरुको खास समस्या के हो, त्यो बुझ्नेछु ।

नेपाल ओलम्पिक कमिटीको विधान अनुशारमात्र कार्यसमितिमा आउने हो । त्यसबाहेकका बाटाहरु छैनन् । कमिटी अन्तर्गतका संघहरुले पठाएका प्रतिनिधिहरुमात्र कार्यसमितिमा आउन पाउँछन् ।

चुनावमा जाँनुअघि प्रतिबद्धता गर्ने र निर्वाचित भइसकेपछि ब्यवहारमा उतार्ने बेलामा कठीनाई आउँछ भन्ने कतिको हेक्का राख्नुभएको छ ?
भिजन र मिसन क्लीयर हुनुपर्छ । मैले ‘क्लीयरकट’ तरिकाले भनेको छु, म यति गर्छु । त्यसको समिक्षा तपाई भोली गर्नसक्नुहुन्छ, संघका साथीहरुले गर्नु हुनेछ र खेलकुदसँग सम्बन्धित साथीहरुले गर्नुहुनेछ ।

६ महिनामा प्रष्ट परिवर्तन देखिनेछ । सबैलाई मैले ओलम्पिक कमिटीलाई सहि दिशामा हिँडाउने प्रतिबद्धता जनाएको छु ।

सम्पूर्ण जायजेथा सार्वजनिक गराउनेछु र कार्यसमितिका साथीहरुलाई पनि गर्न लगाउनेछु । एक पटकमात्र होइन, हरेक तीन महिनामा गर्नेछु । ओलम्पिक कमिटीमा हुने हरेक खर्चको विवरण पनि दिनेछु, त्यो मेरा लागि कुनै गाह्रो कुरा होइन । लुकाएर मलाई केही गर्नै छैन । म आफैं उद्यमी मान्छे हुँ, मलाई ओलम्पिक कमिटीबाट केही लिनु छैन, केही दिने सोचले अध्यक्षमा उम्मेद्वारी दिएको हुँ ।

म त्यहाँ झुण्डियर बस्ने रहर पनि छैन । म केवल एउटा कार्यकालका लागि अध्यक्ष बन्न चाहन्छु । अघि भन्न बिर्सिएँ, यो मेरो अर्को प्रतिबद्धता हो ।

चार वर्षमा अर्को एउटा नयाँ नेतृत्व तयार गर्नेछु । मेरो प्रतिबद्धता नयाँ नेतृत्व विकास गर्ने र पदलिप्सा प्रबृत्तिलाई अन्त्य गर्ने हो । ओलम्पिक कमिटीमा परिवर्तन ल्याउने सोच छ, चार वर्षमा म त्यो पूरा गर्नेछु ।

ओलम्पिक कमिटीको भूमिका अन्तर्राष्ट्रिय सहभागितामा मध्यस्थता गर्नेमात्र हो ? कि अरु पनि छ ?
नेपाल ओलम्पिक कमिटी पासपोर्टमा भिसा लगाउने संस्थामात्र जस्तो देखिएको छ । तर, कमिटीले धेरै काम गर्न सक्छ ।
ओलम्पिक साइकल (दुई ओलम्पिक खेलकुदबीचको समय) भित्र हामीले १० वटा संघलाई प्राविधिक सहयोग गर्छौं । जसले गर्दा तीन संघहरुको प्राविधिक रुपमा स्तर बृद्धि हुन्छ । ओलम्पिक सोलिड्यारिटी कोर्सलाई निरन्तरता र ब्यापकता दिनु पर्छ ।

त्यससँगै ठूला प्रतियोगिताहरु अगाडी उदयीमान खेलाडीलाई प्रशिक्षणका लागि अवसर आउँछ । त्यसमा उत्कृष्ट र उदयीमान खेलाडीलाई मौका दिने काम ओलम्पिक कमिटीको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey