Prabhu Bank

स्वागत कार्यक्रममा खेलकुद मन्त्रीका अघि गुनासै गुनासा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०८
  • |
  • 4 पटक हेरिएको

 

चैत ८, काठमाडौं । गत शुक्रबार युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी लिएका एमाले नेता जगतकुमार विश्वकर्माको स्वागत र बधाईमा राष्ट्रिय खेलकुद परिषदले सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा राखेको कार्यक्रममा बधाइ र स्वागत भन्दा बढी गुनासो सुनियो ।

अन्तर्राष्ट्रिय खेलकुद परिषरको ब्याडमिण्टन हलमा आयोजना गरिएको कार्यक्रममा खेलाडी, खेल संघ र कर्मचारी संघका प्रतिनिधिको स्वागत तथा बधाइ सम्बोधनमा गुनासो बढी सुनियो ।

सबैभन्दा पहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बोले । उनले स्वभाविक रुपमा खेलाडीको सुविधा र हकहितको गुनासो मन्त्रीका सामुन्ने राखे । उनले भने, ‘साग गेम्समा स्वर्ण र एशियाली र त्यसभन्दा ठूला प्रतियोगितामा पदक विजेता खेलाडीका लागि आजीवन भत्ताको निर्णय १५ वर्षअघि भए पनि २ वर्षअघिबाट त्यसको थालनी भयो, अब त्यसमा पुनर्विचार गरियोस् ।’

उनले खेलाडीको सुविधा बढाउन सकिए मात्रै अन्तर्राष्ट्रिय प्रदर्शन राम्रो हुने बताए । साथै यसअघिका मन्त्रीहरु धेरै बोल्ने तथा काम कम गर्ने प्रबृत्तिका भएकाले, नयाँ मन्त्रीलाई गरेको प्रतिबद्धता पूरा गर्न अनुरोध गरे ।

त्यसपछि बोल्ने पालो आयो कर्मचारी संघका प्रतिनिधिको ।

कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले आफ्नै संस्थाको गुनासो खेलमन्त्रीसमक्ष पेश गरे । २२ वर्षदेखि कर्मचारीको बढुवा रोकिएको र १४ वर्षदेखि करारमा काम गरिरहेका कर्मचारीको स्थायी प्रक्रिया सुरु गर्न अनुरोध गरे । साथै उनले पञ्चायतको पालामा बनेको खेलकुद ऐन गणतन्त्रको युगमा पनि एउटै हुनुमा त्यसले पारेको असरबारे मन्त्रीलाई जानकारी गराए । ‘राजा महाराजाको पालामा बनेको खेल ऐन संशोधन गर्न हामीले पटक पटक भनेका हौं, यसअघिका मन्त्रीजस्तै तपाईंले पनि यो फाइल अड्काउनु भएन ।’ उनले अनुरोध गरे ।

त्यसपछिको पालो राष्ट्रिय संघका प्रतिनिधिको थियो । जसमा संघीय संसदसमेत रहेकी नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापाले संघकै समस्याहरु उजागर गर्न थालिन् । पूर्वाधारको अभाव र भएका पूर्वाधार पनि भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा रहेको अवस्थामा राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता आयोजना तथा तयारीका लागि संघहरुले भोग्नुपरेको समस्याबारे बताइन् ।

उनले मन्त्रीका सामुन्ने बर्दियामा बन्दै गरेको कवर्डहलको निर्माणका लागि ५० करोड बजेट छुट्याउनसमेत मन्त्रीलाई कार्यक्रममै आग्रह गरिन् ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोणको बारेमा मन्त्रीसमक्ष प्रश्न गरे । उनले भने, ‘सन् १९५४ मा भएको पहिलो एशियन गेम्समा फुटबलतर्फ भारतले स्वर्ण जितेको थियो, तर अहिले भारतको फुटबल कहाँ छ ? त्यसैले सबै खेलहरुको सम्भावना उत्तिकै हुन्छ, त्यसलाई राज्यले कति लगानी गर्छ र प्राथमिकता दिन्छ भन्ने कुराले प्रभाव राख्छ ।’

उनले राज्यले सीमित खेलकुदलाई मात्रै प्राथमिकतामा राखेकोतर्फ पनि गुनासो गरे । नेपाल बास्केटबल संघका अध्यक्ष शेर्पाले क्रिकेट फुटबलले राम्रो गर्दा धेरै नै प्रशंशा गर्ने तर अन्य खेलकुदले राम्रो गर्दा हौसला दिन पनि अनकनाउने प्रबृतिले समग्र खेलकुदको बिकास पछि परेको धारणा राखे ।

उपाध्यक्ष शेर्पाले अन्तिममा भने, ‘मन्त्रीज्यूको कार्यकालमा एशियन गेम्स, नेपालमै साग गेम्स र २०२० मा ओलम्पिक हुँदैछ, यस्तो अवसरलाई भरपुर प्रयोग गर्नुहोस् ।’

त्यसपछि बोल्ने पालो आयो, कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको ।

ब्याडमिण्टन हलमा उपयुक्त साउण्ड सिस्टम नहुँदा इको आइरहेको थियो । बोलेको बुझ्न कठिन भइरहेको थियो । उनले सुरुमै भनिदिए, ‘हलमा धेरै इको आएका कारण मैले तपाइहरुले बोलेको केहि बुझ्न सकिन, मैले बोलेको पनि बुझ्नुहुन्न होला पनि म तपाइहरुसँग छुट्टा छुट्टै भेटुँला ।’

क्रिकेटले पाएको सफलताकै बीचमा आफूले खेलमन्त्रीले जिम्मेबारी बहन गर्न पाएकोमा गौरव लागेको भन्दै उनले आफ्नो भनाइ सुरु गरे । ‘यो साता क्रिकेटले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको छ, यो सफलतामा हामी हर्षित छौं, सबैका लागि गौरवको कुरो हो यो, म क्रिकेट टिमप्रति अनुग्रहित छु ।’

मन्त्री विश्वकर्माले खेलाडी र समग्रह खेल क्षेत्रको विकास र स्तरोन्नतिका लागि राज्यले उपयुक्त वातावरण बनाउन नसकेको स्वीकार गरे । खेलाडी तथा अफिसियलको सुविधा बढाउनुपर्ने भनाइ पनि उनको थियो ।

सरकारको राष्ट्रिय लक्ष्यको रुपमा रहेको शुसासन र सम्बृद्धि हासिल गर्नका लागि युवा तथा खेलकुद क्षेत्रलाई भरपूर प्रयोग गर्ने मन्त्रीले बताए । खेलक्षेत्र स्वस्थ र मर्यादित बनाउन आफू मन्त्रालयमा आएको साथै भ्रष्टाचारमा शून्य सहनसीलताको नीति अवलम्बन गर्न पनि उनले कर्मचारीलाई निर्देशन पनि दिए ।

त्यस्तै आसन्न दक्षिण एशियाली खेलकुदलाई राष्ट्रको गौरवको रुपमा लिएर समयमै सम्पन्न गर्ने योजनामा लाग्न पनि उनले खेलकुद परिषदलाई निर्देशन दिए । उनले खेलकुदमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबैको भावनाको कदर हुने गरी समस्या समाधानको पहल गरिने जानकारी दिए ।

भर्खरै

Advertisement