टमाटाको चिन्ता– ‘एकदिवशीय मान्यता पनि टि–२० जस्तै हुने त होइन ?’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 376 पटक हेरिएको

चैत ६, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले चिन्ता व्यक्त गरेका छन् कि वषौंको मिहिनेतले हासिल गरेको एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता टि–२० जस्तै खेर नजाओस् ।

जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिलाएर सोमबार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक टमाटाले मंगलबार नेप्लेजसँगको कुराकानीमा भने, ‘बंगलादेशमा विश्वकप खेलिसकेपछि पाएको टि–२० मान्यता हामीले मेन्टेन गर्न सकेनौं, चार वर्षका लागि हामीले एकदिवशीयमा यस्तो अवसर पाएका छौं, यसमा हामी चुक्नुहुन्न ।’

त्यसका लागि प्रशिक्षक टमाटाको प्रष्ट धारणा के छ भने छिटो भन्दा छिटो नेपाल क्रिकेट संघको विवाद समाधान होस् र नेपाल आईसीसीको निलम्बनबाट फुकुवा होस् । दुई वर्ष आईसीसीको प्रत्यक्ष निगरानीमा टिम संहालेका प्रशिक्षक टमाटाले खेलाडीको मिहिनेत र एकल प्रयासमा यो सफलता हासिल गरिएको र आगामी दिनमा आएको अवसर सदुपयोग गर्न नेपाल क्रिकेट संघ क्यानमा सवल र सक्षम नेतृत्वको आशा गरेका छन् ।

‘घरेलु संरचना ध्वस्त छ, ट्यालेण्ट हण्टबाट खेलाडी छान्नुपर्ने अवस्था छ, टि–२० बाहेकका राष्ट्रिय प्रतियोगिता भएको छैन, धन्न हामीले यहाँसम्म पुर्यायौं, अबको बाटोको भनेको कठिन छ ।’ प्रशिक्षक टमाटाले भने ।

उनले नियमित प्रतियोगिताका साथसाथै सातै प्रदेशमा रंगशालासहित नियमित प्रतियोगिता र समग्र क्रिकेट संरचनामै आमूल परिवर्तनको आवश्यकता देखेका छन् । ‘नयाँ खेलाडी उत्पादन हाम्रो लागि मूख्य चुनौति हो, सधैं २२–२५ जना खेलाडीले मात्र नेपालले एकदिवशीय मान्यता कायम राख्न सक्दैन ।’

प्रशिक्षक टमाटाले उमेर समूहको क्रिकेटमा व्यपकताको माग गरेका छन् । उनले भनेका छन् कि ‘हामीसँग यू–१६ र यू–१९ टिममात्र छ, अब यू–२१ र यू–२३ को उमेर समूहमा टिम बनाउनुपर्छ, प्रतियोगिता गर्नुपर्छ, जसले सिनियर टोलीको बेञ्च स्ट्रेन्थको काम गरोस् ।’

कुराकानीको क्रममा पटक पटक क्यान निलम्बन फुकुवा हुनुपर्ने बताएका प्रशिक्षक टमाटालाई घरेलु नियमनकारी निकायको अभावमा राष्ट्रिय टोली ह्याण्डिल गर्न कति कठिन भइरहेको छ भनेर बुझ्न गाह्रो पर्दैनथ्यो ।

‘आईसीसीले त हामीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमात्र बञ्चि नगरेको हो, घरेलु प्रतियोगिता त उसले हेर्दैन नि ! अनि हामीले २०–२२ जना खेलाडीबाटै राष्ट्रिय टिम कहिलेसम्म बनाइराख्ने ? प्रशिक्षक टमाटाले प्रतिप्रश्न गरे । नेपालले डिभिजन टू अघि नामिवियाको विकेट सुहाउँदो हुने गरी दक्षिण अफ्रिका भ्रमण गर्न चाहेको थियो तर, आईसीसीले अनुमति दिएको थिएन । ’

लामो समयदेखिको सपनाको रुपमा रहेको अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पाइसकेपछि नेपालको अबको लक्ष्य टेष्ट मान्यता अर्थात पूर्णकालीन सदस्य बन्नु नै हो । त्यसका लागि अहिलेको घरेलु संरचना पर्याप्त हुन्छ त ?

टमाटा भन्छन्, ‘हुँदैन, हाम्रो बिद्यमान संरचना त एकदिवशीय मान्यताकै लागि पनि अपुग छ ।’

संरचना सुधारका लागि उनको प्रष्ट धारणा छ, त्यो हो एक, क्रिकेट संरचनाकै आमूल परिवर्तन, अर्को, भौतिक पूर्वाधारको निर्माण

‘संघीयतामा मुलुक गइसकेपछि हामीले कम्तिमा हरेक प्रदेशमा टिम तयार गर्नुपर्‍यो, नियमित प्रशिक्षण गराउनुप¥यो, घरेलु प्रशिक्षकहरुलाई पर्याप्त सुविधासहित परिचालन गर्नुपर्‍यो र हरेक उमेरसमूहको टिम बनाउनुपर्‍यो ।’ प्रशिक्षक टमाटाले थपे, ‘नियमित एकदिवशीय राष्ट्रिय प्रतियोगिता हुनुपर्‍यो, दु डे, थ्री डे म्याच खेलाउनुपर्‍यो, हाम्रो टिम ब्याटिङमा कमजोर देखिन्छ, म दाबीका साथ भन्छु कि एकदिवशीय, दुई र तीन दिवशीय खेलहरु नियमित हुने हो भने हामी ब्याटिङमा पनि त्यस्तै हुनेछौं जस्तो अहिले बलिङमा छौं ।’

‘रह्यो पूर्वाधार बिकासको कुरा, हामी इन्टरकन्टिनेन्टल खेल्ने भइसकेपछि हाम्रो मैदान दुई दिवशीय, तीनदिवशीय खेलाउने स्तरको छैन, हामीसँग भएको टियू मैदानको स्तरोन्नति गरी राम्रो विकेट बनाउनुपर्छ, हरेक प्रदेशमा एकेडेमी र क्रिकेट विकासको मेरुदण्डको रुपमा रहेको स्कुल क्रिकेटलाई लगानी गर्नुपर्छ ।’

क्रिकेट, भाग्यको खेल !

नामिवियामा भएको डिभिजन टू प्रतियोगितामा नाटकीय प्रदर्शन र जिम्बावेमा ६ मध्ये दुई खेलमा जित हासिल गरेपछि प्रशिक्षक टमाटालाई पनि लागेको छ कि क्रिकेटमा ब्याटिङ र बलिङमात्र होइन, भाग्य पनि निर्देशित हुँदो रहेछ ।

डिभिजन टूमा क्यानडाबिरुद्धको खेल स्मरण गर्दै प्रशिक्षक टमाटाले भने ‘हातबाट फुस्किसकेको खेलमा जित हासिल गरेपछि हामी विश्वकप छनोटमा पुग्यौं, एकदिवशीय मान्यताको टर्निङ प्वाइन्ट नै क्यानडाबिरुद्धको खेल र करणको त्यो इनिङ हो ।’

‘करणको त्यो प्रदर्शन कुनै पनि क्रिकेटरले जीवनमा एक पटकमात्र गर्ने खालको प्रदर्शन थियो ।’

यता जिम्बावेमा नेपालले आफ्नो पहिलो खेल नै घरेलु टिमसँग ११६ रनले गुमायो । प्रशिक्षक टमाटालाई लागेको छ कि, ११६ को ठाउँमा १६ रनको हार भएको भए हामी अहिले सुपर सिक्स खेलिरहेका हुने थियौं ।

तर, जिम्बावेसँगको हारले नेपाली टिमले धेरै सिक्ने मौका पाएको प्रशिक्षक टमाटाको बुझाइ छ । ‘एक त हामीले टेष्ट राष्ट्रसँग पहिलो पटक खेलेका थियौं, त्यो पनि उसकै मैदानमा, उनीहरुले सुरुदेखि नै हाीलाई डोमिनेट गरे, हामीमा अनुभव खड्कियो ।’

यद्यपी प्रशिक्षक टमाटाले त्यस खेलमा नेपाली ब्याटिङको सकारात्मक पाटोहरु पनि पहिल्याए । नेपालले २६० भन्दा बढी स्कोर गर्नु, दुई व्याट्सम्यान (शरद र आरिफ)ले अर्धशतक प्रहार गर्नु नेपालका लागि सुखद पक्ष थियो ।

समूह चरणको तीन खेलमा पराजित भएपछि एकदिवशीय मान्यता पाउने आशा जीवितै राख्नै नेपालले अन्तिम खेलमा हङकङलाई हराउनैपर्ने थियो । ‘फ्यानहरुले जति हिसाव गर्नुभएको थियो, त्यो भन्दा बढी हिसाव हामीले गरेका थियौं, हामी ठूलो अन्तरमा जितेर सुपर सिक्समा पुग्न त सकेनौं तर, हङकङलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो, खेलाडीहरलो मनदेखि खेले र त्यो दिन हाम्रो भयो ।’

अन्तिम खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएर एकदिवशीय मान्यता पाएको थियो । त्यसमा पनि नेपाल कति भाग्यमानी रह्यो भने हङकङ नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपालले एकदिवशीय मान्यता पाएको हो ।

अनिल, दिपेन्द्र, रोहित, सन्दिप– नेपाली क्रिकेटका भविश्य

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा अहिले युवा खेलाडीको बाहुल्य छ । नेपाली टोलीमा जम्मा पाँच जना सिनियर खेलाडी छन्, जिम्बावे भ्रमणमा शरद भेषावकर र शक्ति गौचनले १–१ खेल खेले । चार जना सिनियर र ७ जना जुनियर खेलाडीहरुको कम्बिनेसनले नै नेपाललाई एकदवशीय मान्यता दिलाएको हो ।

एक महिनाको बीचमा दुई ठूला प्रतियोगितामा टमाटाले तीन युवा खेलाडीलाई राष्ट्रिय टोलीबाट डेब्यू गराए । नामिवियामा रोहित कुमार पौडेल र अनिल साह तथा जिम्बावेमा ललित राजवंशीले पहिलो पटक सिनियर टिमबाट खेलेका थिए ।

तीनै खेलाडी नेपालको राम्रो भविश्य भएको प्रशिक्षकको भनाइ छ । त्यसमा दिपेन्द्र सिंह ऐरीको नियमित प्रदर्शन र आरिफ शेखको फर्केको लयले उनी हौसिएका छन् ।

‘अहिलेका सिनियर खेलाडीले १०–१५ वर्ष टिममा बिताइसके, खेल्न मन भएपनि बिस्तारै उमेरले समस्या दिँदै जान्छ, सिनियर खेलाडीले यति मिहिनेत गरेर एकदिवशीय मान्यता दिलाएका छन् भने म ग्यारेन्टी गर्छु कि यी जुनियर खेलाडीहरुकै प्रदर्शनमा नेपालले टेष्ट मान्यता पाउँछ ।’

साथै सन्दिप लामिछानेकाे अार्इपीएल, क्यारेवियन लिग अनुबन्धले विश्वब्यापी रूपमा नेपाली क्रिकेटकाे नाम फैलिएकाे र यसले हिमालयकाे देशकाे क्रिकेटका प्रतिभालार्इ संसारले चिन्ने माैका पाएकाे प्रशिक्षक टमाटाकाे धारणा छ ।

त्यसका लागि, उनले फेरि पनि भने, ‘क्यान निलम्बन फुकुवा हुनुपर्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey