ओलम्पिक कमिटीकाे चुनावकाे सरगर्मी निकै बढ्याे, आन्तरीक राजनिती सुरू !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०९
  • |
  • 450 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटी एउटा यस्तो संस्था हो, जसको जिम्मेवारी र महत्व नेपाली खेलकुदका लागि निकै महत्वपुर्ण हुन्छ । नेपाललाई एशियाड, ओलम्पिक, साग लगायतका ठुलो प्रतियोगितामा सहभागिताका लागि मुख्य रोल नै ओलम्पिक कमिटीको हुन्छ, कति खेलाडी उनीहरुको तयारी कसरी गर्ने भन्ने विषयमा पनि यो संस्थाको ठुलो भुमीका हुने गर्छ ।

तर नेपालमा एउटै अस्तित्वका दुई वटा ओलम्पिक कमिटी रहेको भन्दै एक दशकसम्म त विवादै विवादमा वित्यो । कहिले एक पटक अर्को विरुद्ध जाने त कहिले आफ्नो मनोमानी गर्यो भन्ने आरोप प्रत्यारोपहरु भइरहे । बर्षो देखिको विवादले खेलाडीको अन्तराष्ट्रिय सहभागिता समेत एक समय अन्योल जस्तो बनेको थियो ।

अन्तिम समयमा खेलाडीलाई ठुलो प्रतियोगिताका लागि पठाउने, त्यसमा पनि कुन खेलाडी कसरी गयो भन्ने पनि अत्तोपत्तो नहुने अवस्था आइसकेको थियो । तर अहिले ओलम्पिक कमिटीको विवाद पहिलेको तुलनामा निकै शान्त भएको छ । त्यसमा पनि विशेष गरि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा केशवकुमार विष्टले काम गर्दा उनी ओलम्पिकसँग सहकार्य गरेर नै अगाडी बढे ।

जसका कारण परिषद र ओलम्पिकको टसल निकै कम भएको जस्तो देखियो । जसलाई यसपटकका सदस्यसचिव रमेश सिलवालले पनि निरन्तरता दिएका छन । एक समय थियो, कुनैपनि नयाँ सदस्यसचिव नियुक्त हुँदा धेरे फेस गर्ने प्रश्न, ओलम्पिकको विवाद कसरी साम्य गर्नुहुन्छ । धेरैले कडा जवाफ दिन्थे भने कसैले समय अनुसारको जवाफ दिन्थे ।

पछिल्लो पटक पहिलको तुलनामा शान्त देखिएको ओलम्पिकमा यतिबेला नयाँ नेतृत्वका लागि निर्वाचनका माहोल तातेको छ । भदौ २० गते हुने निर्वाचनका लागि दुई वटा पक्षहरु चुनावमा उत्रने पक्का भइसकेको छ । अध्यक्षका लागि हालका अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ चुनावी मैदानमा लागिसकेका छन । अघिल्लो चुनावमा पनि लडेका यी दुई ब्यक्ति नै यसपटकको अध्यक्षका दावेदारी छन ।

यस्तै महासचिवका लागि चार जनाको दाउ चलेको छ । जसका लागि चारै जनाले आफ्नो दावी सहि हो भन्ने प्रमाणित गर्न खोजिरहेका छन । जसमा निलेन्द्रराज श्रेष्ठ, रामजी श्रेष्ठ, चतुरानन्द बैध, पुरेन्द्रविक्रम लाखे मैदानमा उत्रने भएका छन । यस्तै अरु पदका लागि पनि धेरैको चासो आफु हुन पाए भन्ने छ ।

यसपटकको चुनाव निकै रोचक हुने संभावना रहेको छ । किनकी यसपटक ओलम्पिकमा यस्ता भोटरहरु छन, जो अन्तिम समयमा जता पनि ढल्न सक्नेछन । भोटिङ राइट्स पाएका २७ संघमा गल्फ नयाँ भएपनि अरु संघहरु पुरानै हुन तर तिनीहरुका केहि पदाधिकारी भने परिवर्तन भएका छन ।

यसपटकको निर्वाचनलाई सर्वसम्मतले लैजाने पक्षमा जीवनराम श्रेष्ठ रहेका छन । त्यसका ठिक विपरीत अर्का उम्मेदवार उमेशलाल भने प्रतिस्पर्धामा उत्रने दाउमा छन । ओलम्पिकको यो निर्वाचनलाई यसपटक नेकपा भित्रको निर्वाचनका रुपमा पनि हेरीएको छ । किनकी यसपटक अध्यक्षको उम्मेदवारी दिएका दुबै एमाले निकट हुन । जीवनराम सांसदपनि हुन भने उमेशको निकटता एमालेसँग नै छ । ब्यापारी भएपनि एमालेको नजिक रहेका उमेशलाई पनि पार्टिको सहयोग नआउला भन्न सकिन्न ।

यसपटक ओलम्पिकको निर्वाचन किन एमालले पनि चासो दिन्छ भन्नेमा जीवनराम माधवकुमार नेपाल निकटका ब्यक्ति मानिन्छन । यता उमेशलाल भने केपीशर्मा ओलीसँग राम्रो संम्बन्ध भएका ब्यक्ति हुन । पार्टी भित्र नै ओली र नेपालको टसल भइरहेका बेला त्यसको असर ओलम्पिकको निर्वाचनमा पनि नपर्ला भन्न सकिन्छ ।

मन्त्रालयको दाउ

यसपटक ओलम्पिकको निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्रालयले दबाव नै दिएर राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई ओलम्पिकको भोटिङ राइट्स एथ्लेटिक्स संघबाट दिलायो । एथ्लेटिक्सका अध्यष राजीव शाहले त्यो अधिकार हुनुपर्ने थियो, तर खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शाहलाई ठुलो दबाव दिएर पिताम्बरलाई प्रतिनिधिका रुपमा पठाउन लगायो । पिताम्बर ओलम्पिकमा भोटरका रुपमा जानु भनेको जीवनराम श्रेष्ठलाई घाटा हो ।

किनकी यी दुई ब्यक्ति एउटै पार्टीको भएपनि पहिले देखि नै एक अर्काको विरुद्ध बोल्दै हिडेका छन । विशेष गरि पिताम्बर यसअघि पनि ओलम्पिकको अन्तराष्ट्रिय मान्यता प्राप्त कार्यसमिती विरुद्ध खेलेरै लागेका थिए । सो बेला जीवनराम श्रेष्ठ नै अध्यक्ष हुने तयारीमा थिए । अब फेरी मताधिकार नै लगेर गएपनि पिताम्बरले जीवनरामका विरुद्धको केहि न केहि रोल भने पक्कै खेल्नेछन । त्यसको लहरो मन्त्रालयसम्म जोडिएको छ । उनलाई मताधिकार दिएर पठाउनु भनेको मन्त्रालयपनि जीवनरामलाई ओलम्पिकमा दोहोर्याउन नचाहिरहेको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ ।

अघिल्लो पटक अन्तिम समयमा अध्यक्ष पदका लागि निर्वाचनमा होमीएका उमेशलाल यसपटक पुरा गृहकार्य गरेर आएका छन । यता यसअघिका सहमहासचिव राजीव श्रेष्ठ, जो जीवनरामको जहिलेपनि विपक्षमा रहेका थिए, उनले पनि र्याफ्टिङ संघबाट भोटीङ राइट्स लिएर गएका छन ।

कार्यतालिका

ओलम्पिक कमिटीको निर्वाचन कमिटीले कार्यतालिका सार्वजनिक गरेको छ । जसमा आइतबार मतदाता नामावली प्रकाशन, सोमबार नामावली दावी विरोध, सो सोहि दिनको साँझ अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । यस्तै मंगलबार उमेद्वारी दर्ताको समय रहेको छ । बुधबार उमेद्वारी माथि दावी विरोधको समय तोकिएको छ । भदौ १२ गते अर्थात विहिबार उम्मेदवारी फिर्ता लिनका लागि समय छुट्याइएको छ । त्यसपछि सोहि दिन साँझ अन्तिम उम्मेदवारीको नाम सार्वजनिक हुनेछ । निर्वाचन कमिटीले आफ्नो कार्यतालिका सार्वजनिक गरिसक्दा यता संभावित उम्मेदवारहरु निर्वाचनको दौडधुपमा लागेका छन ।

के नयाँ नेतृत्व आउला

हालका अध्यक्ष जीवनराम श्रेष्ठको अन्तराष्ट्रिय संम्बन्ध खासै उत्कृष्ट नभएको ओलम्पिक कमिटी भित्रैका पदाधिकारीहरु बताउछन । स्रोतका अनुसार, आइओसी र ओसिएले जीवनरामलाई खासै रुचाएको छैन । यसको उदाहरणका रुपमा जब धुब्र प्रधान ओलम्पिकको अध्यक्ष थिए, सो बेला उनले ओसिए र आइओसीबाट खेलाडीका लािग एशियाडमा ५० नयाँ कोटा पारेका थिए ।

तर जीवनरामले इन्डोनेसीयामा भएको एयिडामा एउटापनि एक्ट्रा कोटा ल्याउन सकेन । उनी एनओसीको अध्यक्ष हुनुभन्दा अगाडी नै ओसीए उनीसँग असन्तुष्ट रहेको थियो । तर जीवनराम आफ्नो सबैसँग राम्रो सम्बन्ध रहेको बताउँदै आएका छन । यता उमेशलाल श्रेष्ठलाई नयाँ अध्यक्षमा ल्याउन केहि पदाधिकारी आन्तरीक रुपमा निकै महेनत गरिरहेका छन । ओलम्पिक कमिटीमा आफन्तवाद भयो, पारदर्शी भएन त्यसलाई पारदर्शी बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउँदै आएका उमेशलालको यसपटकको संभावना पनि बलियो रहेको छ ।

तर भोटिङ राइट्स भएका पदाधिकारी हेर्दा, अन्तिममा पाँच देखि आठ जना जतापनि ढल्नसक्ने रहेका छन । तिनीहरुले नै यसपटको चुनावमा नेतृत्वमा को आउने भन्ने भुमीका खेल्न सक्नेछन ।

यसपटकको चुनावमा भोटिङ राइट्स भएका संघ र पदाधिकारी यसप्रकार रहेका छन ।
नेपाल भलिबल संघबाट मनोरञ्जन रमण शर्मा, तेक्वान्दोबाट प्रकाश राणा, फुटबलबाट कुमार केसी, एथ्लेटिक्सबाट पिताम्बर तिम्सिना, उसुबाट केशव विष्ट, ब्याटमिन्टनबाट रामजी बहादुर श्रेष्ठ, बक्सिङबाट राम अवाले, गल्फबाट टासी घले, बास्केटबलबाट होम दोङ, आर्चरीबाट रमेशप्रसाद सिवाकोटी, र्याफ्टिङबाट राजीव श्रेष्ठ, साईकिलिङबाट गोपाल सुन्दर कक्षपती र नेपाल कबड्डी संघबाट तुलसा थापा रहेका छन् । नेपाल भारत्तोलन संघबाट रतन टण्डन, ट्रायथलनबाट निलेन्द्रराज श्रेष्ठ, स्कीबाट जीवनराम श्रेष्ठ, पौडीबाट अशोक बज्राचार्य, जुडोबाट दिपकहर्ष बज्राचार्य, कराँतेबाट पुरेन्द्र बिक्रम लाखे, टेबलटेनिसबाट चतुरानन्द वैद्य, हक्कीबाट उमेशलाल श्रेष्ठ, जिम्न्याष्टिकबाट ध्रुवबहादुर प्रधान, सुटिङबाट पुष्पदास श्रेष्ठ, ह्याण्डबाट तेज गुरुङ, कुस्तीबाट समिम मिया अन्सारी, फेन्सिङबाट शुनिलकुमार श्रेष्ठ र नेपाल लनटेनिस संघबाट ज्योती राणा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey