सागका पदकधारी खेलाडीको जिविकोपार्जनको दुःख

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०४
  • |
  • 213 पटक हेरिएको

सन् २०१० मा बङ्गलादेशको राजधानी ढाकामा भएको ११औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा हक्की खेलमा सहभागी खेलाडी राजेन्द्र चन्द यतिबेला हाउस वाइरिङ (बिजुलीको काम)मा व्यस्त छन् ।

जिल्ला, क्षेत्रीय र राष्ट्रिय हकी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दक्षिण एशियाली खेलकूद खेल्न पुगेका चन्द अन्ततः खेल जीवनबाट बाहिरिएका छन् । “ढाकामा साग खेलेपछि खेल जीवन त्यागेँ”, कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ का चन्दले भने, “जीविकोपार्जनको केही उपाय नभएपछि ‘हाउस वाइरिङ’को काम गर्दैछु ।”

एघारौँ सागमा नेपालको हक्की टोलीमा चन्दसँगै कञ्चनपुरका छ खेलाडी सहभागी थिए । कञ्चनपुर हक्की खेलको उर्बर भूमि हो । “भविष्य सुनिश्चित नभएपछि धेरै राष्ट्रिय खेलाडीले हक्की खेल्न छाडे”, चन्दले भन्नुभयो । कञ्चनपुरका हक्की प्रशिक्षक नरबहादुर चन्दले राजेन्द्र हक्कीको अब्बल खेलाडी भएको बताए ।

“राजेन्द्र हक्कीमा राम्रो दख्खल भएका खेलाडी हुन्, उनको हक्कीमा महत्वपूर्ण योगदान छ”, प्रशिक्षक चन्दले भने, “भविष्य नदेखेपछि धेरै खेलाडी पलायन भए ।” आगामी मङ्सिरमा नेपालमै १३औँ साग हुँदैछ । विभिन्न खेलका खेलाडी बन्द प्रशिक्षणमा छन् । हक्कीलाई १३औँ सागमा समावेश नगरिँदा खेलाडी निराश रहेको चन्दले बताए ।

“स्तरीय खेल मैदान नहुँदा १३औँ सागमा हक्कीलाई समावेश गरिएको छैन”, प्रशिक्षक चन्दले भने । आगामी सागमा हक्कीका लागि कञ्चनपुरबाट चार पुरुष र तीन महिला खेलाडी छनोट गरिएको थियो । “खेल समावेश नहुने भएपछि खेलाडीले अभ्यास गर्न छाडेका छन्”, उनले भने ।

नेपालले भारतमा सम्पन्न १२औँ सागमा महिला हक्कीमा रजत पदक जितेको थियो । हक्कीका चन्द मात्र होइनन् सन् २००४ मा पाकिस्तानमा सम्पन्न नवौँ सागमा बक्सिङमा कास्य पदक जितेका बाजुराका कुलबहादुर रावल जिल्लामै स्वास्थ्य सेवामा कार्यरत छन् । अध्ययनसँगै धनगढीमा बक्सिङ प्रशिक्षण शुरु गरेका रावलको खेल जीवनको यात्रा नवौँ सागसँगै टुङ्गिएको छ ।

“जागिरका लागि भौतारिनुपर्ने अवस्था आयो”, रावलले विगत सम्झिँदै रासससित भने, “पढाइ नभएको भए अहिले बेरोजगार बस्नु पथ्र्यो ।” खेलकूद क्षेत्रमा बढ्दो राजनीतिकरणका कारण प्रतिभावान खेलाडी पलायन हुनु हुनुपरेको रावलको गुनासो छ । हाल जिल्ला अस्पताल बाजुरामा कार्यरत रावलले सुदूरपश्चिम प्रदेशको विकट क्षेत्रमा रहेका प्रतिभावन खेलाडी ओझेलमा परेको बताए । उनले खेलाडीलाई खेलसँगै अध्ययनमा विशेष ध्यान दिन सल्लाह दिए ।

दशौँ सागमा नेपाललाई बक्सिङमा काश्य पदक दिलाएका धनगढीका लक्ष्मण साउँद अमेरिका पलायन भएका छन् । भीमदत्तनगरपालिका–८ तिलाचौरका सागका कबड्डी खेलाडी धर्म सुनार हाल बेरोजगार छन् । मजदूरी गर्न भारतका विभिन्न ठाउँ धाउँदै आएका सुनारले बङ्गलादेशमा सम्पन्न ११औँ साग खेलेका थिए ।

सुनारका छोरा पनि कबड्डीका राष्ट्रिय खेलाडी हुन् । तेह्रौँ सागमा विभिन्न खेलका लागि हाल सुदूरपश्चिम प्रदेशबाट महिला तथा पुरुष गरी ४४ खेलाडी छनोट भएको सुदूरपश्चिम क्षेत्रीय खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक विष्णुबहादुर सिंहले जानकारी दिए । “छनोट भएका खेलाडी हाल विभिन्न ठाउँमा बन्द प्रशिक्षणमा छन्”, उनले भने ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey