फुल कन्ट्याक्ट करातेमा सनी र मञ्जु च्याम्पियन

0

चैत ३, काठमाडौं । नेपाल आर्मीका सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौलसमूहमा शनिबार च्याम्पियन बनेका छन् ।

पुरुषमा सनी र महिलामा मन्जुले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा सनीले प्रदेश नं. ४ का मदन क्षेत्रीलाई पराजित गरे । प्रदेश नं. ४ काद्वय गोविन्द रोका तेश्रो र दीपक महतो चौथो भए ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिला खुलमा च्याम्पियन बनेकी मन्जुले प्रतिद्वन्द्वी प्रदेश नं. ४ की ममता राईबाट वाक ओभर पाइन् । ममता ‘मेडिकल्ली डिस्क्वालिफाई’ भएपछि मन्जुलाई स्वर्ण जित्न प्रतिस्पर्धा गर्नु परेन । प्रदेश नं. ५ की लक्ष्मी मल्ल ठकुरी तेश्रो स्थानमा रहिन् ।

आर्मीले प्रतियोगितामा सर्वा्धिक ३ स्वर्ण जित्यो । बाँकी १ एक स्वर्ण पुरुष ६५ केजीमुनि मनोज थपलियाले जिते । उनले उपाधि भिडन्तमा प्रदेश नं. ४ का गोपीराम स्याङतानलाई हराए । आर्मीका चोपबहादुर बुढाथोकी तेश्रो तथा प्रदेश नं. ५ का थोमस खड्का चौथो भए ।

पुरुष ५५ केजीमुनि फाइनलमा प्रदेश नं. ३ का महेश भुजेलले प्रदेश नं. ५ का सन्देश सुनारलाई पाखा लगाउदै पहिलो भए । प्रदेश नं. ४ का अजय राई तेश्रो र प्रदेश नं. ३ का सुजन दनुवार चौथो भए ।

चारै स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार हात पारे ।

एकल कातामा प्रदेश नं. ५ का सन्तोष साउद पहिलो, प्रदेश नं. ३ का महेश भुजेल दोश्रो र आर्मीका सुनील नगरकोटी तेश्रो भए । सन्तोषले ४२.५, महेशले ४२ तथा सुनीलले ४०.५ अंक जोडे । शीर्ष स्थानमा रहनेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार पाए ।

दुईदिने प्रतियोगितामा १ सय ५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Post Add 1025X115
Loading...