युनिभर्सिटी क्रिकेटमा टियू च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०३
  • |
  • 159 पटक हेरिएको

चैत ३, काठमाडौं । डीएभी कलेजलाई ६ विकेटले हराउँदै टियू क्रिकेट टिम दोस्रो युनिभर्सिटी कप टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार टियू मैदानमा भएको फाइनलमा डीएभी कलेजले दिएको १४२ रनको लक्ष्य टियूले इनिङको तीन बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो । ओपनरहरु रविन जोशी र इशान पाण्डेको शानदार प्रदर्शनमा टियू विजयी भयो ।

पहिलो विकेटका लागि जोशी र पाण्डेको जोडीले १२७ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाएका थिए । जोशीले ५४ बलमा ७१ रन बनाउँदा पाण्डेले ५१ बलमा ५७ रन बनाए । त्यस्तै सुवास खकुरेलले अविजित ७ रन बनाए ।

बलिङमा डीएभीका नन्दन यादव र दिलिप यादवले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले ओपनर सुधीर चौधरीको ६४ रनको सहयोगमा निर्धारित ओभरमा ४ विकेट गुमाएर १४१ रन जोडेको थियो । ४८ बल खेलेर सुधीरले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै डीएभीका सन्तोष पौडेलले ३५ रन बनाए । विकेक रानामगर १२ र सञ्जय बस्नेत १३ रनमा अविजित रहे ।

बलिङतर्फ टियूका इशान पाण्डे, सागर ढकाल र रुपेश श्रीवास्तवले एक एक विकेट लिए ।

उपाधि विजेता टियूले २ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता डीएभीले १ लाख पुरस्कार पाएको छ ।

प्रतियोगिताभर अलराउण्ड प्रदर्शन गरेका टियूका इशान पाण्डे म्यान अफ द सिरिज चुनिए । उनले २५ हजार पुरस्कार पाए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान डीएभीका अदिल खान र उत्कृष्ट बलर टियूका सागर ढकाल चुनिए, उनीहरु दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा १६ कलेजका टोलीहरुको सहभागिता थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey