युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा

0

चैत २, काठमाडौं । एमाले नेता तथा संघीय सांसद जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्री विश्वकर्माले आजै राष्ट्रपति बिद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वकर्मा मजदूर संगठनबाट एमालेको पोलिटब्यूरोसम्म आएका हुन् । प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेताहरुसँगको छलफलपछि शुक्रबार बिहान अन्य मन्त्रीसँगै विश्वकर्मालाई खेलकुदको जिम्मेवारी दिने निर्णय गरेका हुन् । उनी एमालेभित्र ओली पक्षका नेता हुन् ।

नेता विश्वकर्मा खेलकुद पृष्ठभूमिका भने होइनन् ।

विश्वकर्मा खेलकुद मन्त्रीमा चुनिएको अघिल्लो दिन नेपाली क्रिकेट टोलीले ठूलो सफलताका रुपमा अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पाएको छ ।

क्रिकेटको घरेलु अबस्था अत्यन्तै दयनीय रहेको तथा नियमनकारी निकाय नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा निलम्बन फुकुवा गराई एकदिवशीय मान्यता पाएको टिमको घरेलु संरचना बिकास गर्नु नयाँ मन्त्रीले प्रमुख जिम्मेवारी हो ।

साथै सन् २०१९ मा नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नु, भूकम्पले थलिएको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला पुनर्निमाण प्रक्रिया द्रूत गतिमा अघि बढाउनु लगायतका चुनौति मन्त्री विश्वकर्माको छ ।

यससँगै खेलकुदको नीति नियममा समयसापेक्ष परिवर्तनको कुरा त छँदैछ ।

Post Add 1025X115
Loading...