स्थानीय तहको प्राथमिकतामा भलिबल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 267 पटक हेरिएको

चैत २, बैतडी । क्रिकेटको उर्वरभुमी भनेर चिनिने बैतडी जिल्ला पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलतर्फ पनि आकर्षित भएको छ ।

केही बर्षयता ग्रामीण क्षेत्र प्रायः खेल्न छोडिएको राष्ट्रिय खेल भलिबलको लोकप्रियता फेरी बढ्न थालेको हो । देश संघीय संरचनामा गएसँगै बैतडीका स्थानीय तहहरुले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् ।

स्थानीय तहहरुले बजेट नै विनियोजन गरेर भलिबल प्रतियोगिताको आयोजना गरेपछि यसको लोकप्रियता बढ्न थालेको हो ।

भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल भएको र अहिले स्थानीय तहहरुले भलिबल प्रतियोगिता आयोजना गर्न थालेपछि यसप्रतिको आकर्षण बढ्दै गएको भलिबलका राष्ट्रिय प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।

‘स्थानीय तहहरुले आयोजना गरेका प्रतियोगितामा ग्रामीण क्षेत्रमा लुकेका भलिबलका प्रतिभाले अवसर पाएका छन् ।’ उनले भने ।

सरकारी तवरबाटै नै भलिबल खेलमा लगानी भएपछि ग्रामिण क्षेत्रका खेलाडीलाई प्रतिभा देखाउने अवसर मिलेको जिल्ला खेलकुद विकास समिति बैतडीका सदस्य वसन्त बिष्टले बताए ।

स्थानीय तहहरुले गर्ने प्रतियोगिताले स्थानीय स्तरका प्रतिभाको क्षमता अभिबृद्धि गर्न सहयोग पुगेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

जिल्लाको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पूरचौंडी नगरपालिकाले चालू आर्थिक बर्षमा भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।

भलिबल सबै ठाउँमा खेल्न सकिने खेल भएकाले यसप्रति धेरैको चासो बढेको राष्ट्रिय प्रशिक्षक भण्डारीले बताए । जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि केही दिनमै भलिबल खेलको आयोजना गर्ने तयारी गरिरहेको छ । सुनर्या गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टका अनुसार उनीहरु भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय खेल भएकाले प्रतियोगिता मार्फत यसको उजागारमा लागेका हुन् ।

जिल्लाका ५ वटा स्थानीय तहले भलिबल प्रतियोगिता सम्पन्न गरिसकेकै अवस्थामा केही दिन पहिले सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि खेलाडीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाए । यसले खेलाडीहरुलाई भलिबल प्रति लाग्न झन हौस्याएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey