आत्मविश्वास र मेहनत छ भने उमेर केवल संख्या हो – ४३ वर्षे विनोद शाक्य साग स्वर्ण जित्ने लक्ष्यमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-०९
  • |
  • 320 पटक हेरिएको

११औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता विनोद शाक्य नेपालमा हुने १३औं संस्करणको प्रतियोगितामा भिड्ने तयारी गरिरहेका छन् । विगत १५ वर्षदेखि खेलाडीका रुपमा निरन्तर प्रयास गरिरहेका शाक्य कहिले छनोट प्रतियोगितामा हारे त कहिले उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि स्वर्ण जित्न असफल भए ।

समयमा प्रतियोगिता आयोजना नहुनु र आयोजना भएपनि कराते विधा समावेश नहुनुले ठूलो सफलता खोजिरहेका विनोद जस्ता खेलाडीको करियरमै धक्का लाग्दै आएको छ । सन् २००४ र २००६ को संस्करणमा छनोट हुन नसकेका विनोदले १०औं संस्करण छनोट हुन सफल भए । त्यस बेला कास्य पदकमा चित्त बुझाउन बाध्य भए ।

२०१० मा ढाकामा भएको एघारौं संस्करणमा उनले स्वर्ण जिते । २०१५ मा साग त आयोजना भयो तर करातेलाई हेलाँ गरियो । प्रतियोगितामा कराते समावेश नै गरिएन । यो पटक साग नेपालमा नै आयोजना हुँदैछ । मार्सल आर्टसमा बलियो रहेको नेपालले कराते समावेश गर्नेमा दुई मत छैन ।

घरेलु मैदानमा स्वर्ण जित्दै कम्तिमा दुई वटा साग स्वर्ण जित्ने लक्ष्य राखेर विनोद प्रशिक्षण गरिरहेका छन् । उमेरले ४३ वर्षमा हिँडिरहेका छन् । उनका साथी खेलाडीहरु प्रायजसो प्रशिक्षक भइसकेका छन् भने कतिपय साथीहरु खेलकुद क्षेत्र छोडेर अन्यत्रै लागिसकेका छन् । उनी भने दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने सपना बोकेर हिँडिरहेका छन् । उनको जोश र स्टामिना देखेर युवा खेलाडीहरु पनि अचम्मित हुन्छन् । उनले यो पनि प्रमाणित गरिदिएका छन् की खेल खेल्न उमेरमात्र सबै कुरा होइन ।

आत्मविश्वास र मेहनत कायम राखेको अवस्थामा खेल्न सकिन्छ । यस्ता उदाहरण हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि देख्दै आएका छौं । तीन–चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाउने सपना बुनेका विनोद शाक्यको अभियानमा धेरै कुराहरु बाधक बने ।

‘आठौं र नवौंमा छनोट हुन सकिन, दशौंमा कास्य पदक पदक जितेँ,’ विनोद भन्छन् ।

‘१२औंमा कराते समावेश नै भएन । १३औं दक्षिण एसियाली खेलकुद नेपालमै हुने भएकाले यो प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रच्ने लक्ष्य छ,’ विनोद केही महत्वाकांक्षी पनि बनेका छन् ।

उनका उमेरका खेलाडीहरु प्राय रिटायर्ड भइसकेका छन् । कोही प्रशिक्षक, कोही रेफ्री भएर बसेका छन् । साग र एसियन गेम्स खेल्नका लागि तयारी गरेर बस्ने खेलाडी भने थोरै छन् ।

सन् १९९९मा नेपालमै आयोजना भएको सागमा ४३ वर्षको उमेरमा स्वर्ण पदक जितेर तेक्वान्दोका राजकुमार राईले सबैभन्दा बढी उमेरमा स्वर्ण पदक जित्ने कीर्तिमान बनाएका थिए ।

‘यो उमेरमा आएर पदक जितेर कीर्तिमान बनाउँछु भन्ने लक्ष्य छ,’ राजकुमार राईको कीर्तिमान तोड्ने लक्ष्यमा छन् विनोद शाक्य ।

आठौं सागको छनोट प्रतियोगितादेखि प्रयास गरेका विनोदले नवौंमा पनि प्रयास गरे । तर छनोट हुने सकेनन् । १०औंमा छनोट भए र श्रीलंकासँग पराजित भएपछि कास्य पदकमा चित्त बुझाए ।

एघारौं संस्करणमा आएर उनले स्वर्ण पदक जिते, जुन उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि थियो । त्यसबाहेक उनले धेरै अन्तर्राष्ट्रिय खेल खेल्दै पदकहरु पनि जित्दै आएका छन् ।

‘लगातार रुपमा मैले सिरिजहरु, अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छु,’ विनोद भन्छन् ।

सन् २०१७ मा अष्ट्रेलियामा भएको प्रतियोगितामा स्वर्ण पदक जिते । २०१८ मा वेलायतमा रजत पदक जितेका थिए ।

विनोद भन्छन्, ‘सागमा पनि केही राम्रो गर्छु भन्ने आशा छ ।’

साग खेल्नुभन्दा अगाडी छनोट हुनु पहिलो चुनौति हुनेछ । साथ आयोजना हुनका लागि करिव चार महिनाको समय बाँकी रहेको अवस्थामा अहिलेसम्म छनोट प्रक्रिया नै कस्तो हुने हो थाहा छैन । तर पनि, छैटौं, सातौं र आठौंको पदक विजेता र एसियाली र दक्षिण एसियाली खेलकुदका पदक विजेतालाई छनोट प्रतियोगितामा प्रतिष्पर्धा गराउने कुरा छ । त्यसैले विनोदले पनि छनोट प्रतियोगिता भिड्ने जमर्को गरेका हुन् ।

विनोदले विगत सात–आठ वर्षदेखि प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् । सागमा छनोट हुनका लागि विनोदले आफ्नै चेलाहरुसँग प्रतिष्पर्धा गर्नु पर्नेछ ।

‘खेलमा हार–जित त भइहाल्छ । मैले यो उमेरसम्म खेल्नु भनेको उनीहरुका लागि प्रेरणा पनि हुनसक्छ ।’

‘अहिलेका कतिपय खेलाडीहरु एउटा राष्ट्रिय प्रतियोगिता खेलेर अर्कोमा आइपुग्दा सेलाइसकेका छन्,’ विनोद शाक्य भन्छन् ।कतिपय खेलाडी पलायन भइसकेका छन् ।

‘फिट भयो र आत्मविश्वाश भयो भने उमेरले रोकावट आउँदैन भन्ने सन्देश दिन चाहन्छु,’ उनी प्रेरणा दिन चाहन्छन् । ‘मेरा प्रतिष्पर्धीहरुलाई पनि शुभकामना दिन चाहन्छु ।’

समयमा साग आयोजना नहुनु खेलाडीको दूर्भाग्य

विगत १५ वर्षदेखि उनी करातेका ठूला प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका छन् । दुई–दुई वर्षमा हुनुपर्ने दक्षिण एसियाली खेलकुदको सातवटा संस्करण भइसक्नु पर्ने थियो ।

तर, विभिन्न कारणले गर्दा पछिल्लो १५ वर्षमा चारवटामात्र भएको छ र आउने संस्करण पाँचौं हुनेछ । यसले गर्दा धेरै खेलाडीको भविष्य नै संकटमा पर्ने गरेको छ ।

‘आठौं र नवौं सागमा छनोट हुन सकिन । एघारौंमा आएर आफूलाई चिनाउने मौका पाएँ,’ करियरकै सबैभन्दा ठूलो उपलब्धि सम्झिन्छन् ।

‘एघारौं सागमा स्वर्ण जित्दा म ३५ वर्षको थिएँ । दुई–दुई वर्षमा साग आयोजना गरिएको भए मैले पनि ह्याट्रिक गर्थेँ की,’ लामो समयपछि हुन लागेको सागमा खेल्छु भनेर आँट गरिरहेका विनोद भन्छन् ।

विनोदमात्र होइनन्, उनी जस्ता खेलाडी धेरै छन् । कतिपय खेलाडी राम्रो फर्ममा भएका बेला प्रतियोगिता खेल्न पाएका छैनन् । मार्सल आर्टस्मा नेपाल राम्रो मानिन्छ । तर, समयमा खेलहरु नहुँदा खेलाडी पलायन हुने समस्या पनि सबैभन्दा बढी यही खेलमा छ । २०१० देखि करातेका कम्तिमा दुईवटा जेनेरेसन बाहिरिसकेको छ ।

‘अहिले टिनएजका खेलाडीको वर्चश्व छ,’ विनोदले भने ।

समयसँगै फेरिएको कराते

समयसँगै करातेको खेल्ने तरिका परिवर्तन भएको छ । पहिला पारम्पारिक तरिकाले कराते खेलिन्थ्यो । तर, अहिले करातेमा विषेश गरी टेक्निकहरु देख्न सकिन्छ । अहिले कराते ब्यावसायिक बन्न थालेको छ ।

पारम्पारिक करातेमा बेसिक (आधारभूत) कुराहरुमा ध्यान दिइन्थ्यो । जसले गर्दा खेलाडीको करियर लामो समय जान्थ्यो । ‘अहिलेका खेलाडीले बेसिक कुरामा अलि कम ध्यान दिइरहेका छन् । उनीहरु टेक्निकल पक्षमा जोड दिन थालेका छन्,’ विनोदको अनुभव छ ।

पछिल्लो समय खेलाडीले कुनै नयाँ तरिका खोजेका छैनन् । विनोदका अनुशार उनीहरुले अरु कसैको अनुकरण गरिरहेका छन् । तर, खेलाडीको स्तर भने पहिलाको भन्दा बढेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey