ह्यारी केनको चोटले टोटनह्याम र इंग्ल्याण्ड चिन्तित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 172 पटक हेरिएको

फागुन २८ । इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथबिरुद्धको खेल टोटनह्यामले ४–१ ले आफ्नो पक्षमा पार्दा उसका सुपरस्टार स्ट्राइकर ह्यारी केन चोटग्रस्त भएका छन् । यसले टोटनह्यामको मात्रै होइन इंग्ल्याण्डकै चिन्ता बढाएको छ ।

२४ वर्षीय केन आइतबारको खेलको ३०औं मिनेटमा विपक्षी गोलरक्षक अस्मिर बेगेभिकसँगको ट्याकलका क्रममा चोटग्रस्त भएका हुन् । उनको दायाँ गोलीगाँठामा चोट लागेपछि त्यसको गाम्भीर्यताबारे भने सोमबार एक्स–रे गरेपछि मात्रै थाहा हुने टोटनह्यामले जनाएको छ ।

चोट लागेपछि उनलाई तत्कालै मैदानबाट बाहिर लगिएको थियो र उनी सिधै ड्रेसिङ रुपमा गएका थिए ।

‘मलाई आशा छ कि यो समस्या ठूलो होइन ।’ टोटनह्यामका प्रशिक्षक मोरिसियो पोचेटिनोले भने, ‘हामी चिन्तित पक्कै छौं, फेरि हामीलाई धैर्य गर्नुको बिकल्प पनि त छैन ।’

टोटनह्यामले आउँदो शनिबार एफ ए कपमा स्वान्सीसँग खेल्दैछ भने अर्को साता इंग्ल्याण्डले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

ग्यारेथ साउथगेटको इंग्लिस टोली आगामी मार्च २३ मा नेदरल्याण्ड्स जानेछ भने २७ मा इटलीलाई लण्डनमा स्वागत गर्नेछ ।

र, पोचेटिनोले भनेका छन्, ‘उनको पुरानै चोट बल्झिएजस्तो छ । तर, अहिले उनी खुट्टाले टेक्नसक्ने छन् । उनी सकारात्मक छन् र टिमको जितमा खुसी छन् ।’

गत सिजन पनि दायाँ खुट्टाकै गोलिगाँँठामा लागेको चोटका कारण केनले प्रिमियर लिगका १० खेल गुमाएका थिए ।

उनको उनुपस्थितिमा टोटनह्यामले एक शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बर्नमाउथबिरुद्ध ४–१ को जित निकाल्यो । टोनटह्यामको जितमा सान हुइङ मिनले २ गोल गर्दा डेले अल्ली र सर्जी औरियरले १–१ गोल गरे ।

टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । म्यान्चेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey