सदस्य सचिव विष्टको कार्यकाल आज सकिँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०९
  • |
  • 218 पटक हेरिएको

काठमाडौं, ९ असार । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी पद सदस्य सचिव केशब कुमार विष्टको चार वर्षे कार्यकाल सोमबार सकिदैं छ । २०७२ असार ९ गते सदस्य सचिवमा नियुक्त भएका विष्टले चार वर्षे कार्यकाल सफल भएको बताएका छन् । २०७२ वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएका खेलकुद संरचनाहरु चार वर्षे कार्यकालमा निर्माणको चरणमा रहेका छन् । सदस्य सचिवको पदभार ग्रहण गर्न आउने लाग्दा उनलाई तत्कालिन एमाले भित्रै बाट चर्को विरोध भएको थियो ।


खेलकुद क्षेत्रको बारेमा केही नबुझेको भन्ने आरोप लागेर सदस्य सचिवको कुर्सीमा बसेका विष्टले चार वर्षे कार्यकालमा खेलकुदको स्वर्ण युग हुन्छ भनेर पटक पटक भाषण भने गरे उनी आएपछि नेपाली क्रिकेटको विवाद भने चरम उत्कर्षमा पुग्यो । जसका कारण आईसीसीबाट निलम्बनमा परेको पनि तीन वर्ष भइसकेको छ । यस बीचमा आईसीसीले क्यान निम्लबन गर्ने तयारी गरे पनि अझै प्रक्रिया पुरा भएको छैन् ।
चार वर्षे कार्यकाल पुरा हुनै लाग्दा सदस्य सचिव विष्टले क्यानलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् ।


सदस्य सचिव विष्टले आफ्नो ४ वर्षे कार्यकालमा दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको इतिहास निर्माण गरे । यसैगरी विभन्न कामहरु सुरु गरेको बताउँदै क्रमस नतिजा आउने दावी गर्छन् ।
खेलकुदको पूर्वाधार निर्माणमा चार वर्षे कार्यकालको बढी समय खर्च भएको बताउँदै सदस्य सचिव विष्टले यसले नेपाली खेलकुदलाई भविष्यमा थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ ।
भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरत, सबैजसो खेलकूद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दावी छ ।


आफ्नो कार्यकाललाई स्वर्णकाल बनाउने लक्ष्यका साथ काम सुरु गरेको बताउँदै उनले लक्षित गन्तव्य भेटाएको पनि बताए । इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेत पत्र जारी गरेको उल्लेख गर्दे उनले दलगत स्वार्थबाट माथि उठेर खेल क्षेत्रको स्वार्थका लागि काम गरेर चार वर्ष विताएको विष्टले बताए ।
आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तराष्ट्रिय पदक जित्नेलाई आजिवन भत्ताको व्यवस्था गरिएको विष्टले बताए ।
त्यसैगरी खेलाडिको स्वाथ्य, दुर्घटना र जीवन बीमा गर्ने प्रक्रिया सुरु गरिएको विष्टले बताए । विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफूले सात सयभन्दा बढि योजना बनाएर काम गरेको उनले जानकारी दिए । विभन्न खेलका लागि आवश्यक भौतिक संरचना बनाएको, कतिपय बन्ने क्रममा रेहको र केहीको प्रक्रिया सुरु गर्न लागिएको फेहरिस्त पनि विष्टले सार्वजनिक गरे । फुटबल, कराँते, कुस्ती, बक्सिङ जस्ता खेल संघमा भएको विवाद समाधान गर्नु ठूलो सफलता भएको उनको भनाई थियो । २–२ वर्षमा गर्नुपर्नेमा राष्ट्रिय खेलकूद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफू नियमित गराएको जानकारी पनि विष्टले दिए ।


त्यसैगरी विगतमा नभएको पारा नेशनल खेल प्रतियोगिता, जेष्ठ नागरिकका लागि खेल र तेस्रो लिङ्गीलाई पनि खेल क्षेत्रमा सहभागि गराइएको विष्टले बताए । आफ्नो कार्यकालमा क्रिकेटले एक दिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तराष्ट्रिय पदक जित्न सफल भएकोमा आफू सन्तुष्ट भएको पनि विष्टले बताए । विगतमा एक सयभन्दा कम अन्तराष्ट्रिय पदक नेपाल भित्रिने गरेकोमा यस वर्ष त्यो संख्या ११ सय पुगेको पनि विष्टले दावी गरे । आफ्नो कार्यकालमा महिलालाई खेल क्षेत्रमा सक्रिय बनाउनका लागि गाउँ गाउँमा प्रशिक्षक पठाएको र आत्मरक्षाको तालिमसमेत प्रदान गरिएको उनले जानकारी दिए । आफूले खेलकूद क्षेत्रलाई पर्यटनसँग जोड्ने अवधारणा ल्याएको बताउँदै विष्टले हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि हेलम्बुमा अध्ययन भइरहेको पनि बताए ।


समग्रमा आफ्नो चार वर्षे कार्यकाल सफल भएको उनको दावी थियो । “मलाई सदस्य सचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले पनि अहिले मेरो प्रशंसा गर्न थालेका छन् ।” विष्टले भने । विष्टले दोस्रो पटक पनि सदस्यसचिवको जिम्मेवारी पाउने विश्वास गरेका छन् । आफूले पहिलो कार्यकालमा गरेको कामका आधारमा पुनः जिम्मेवारी दिने वातावरण बनेको उनको जिकिर छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey