आठौं राष्ट्रिय खेलकुदका पदक विजेताले अझैं पुरस्कार पाएनन् !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२६
  • |
  • 253 पटक हेरिएको

मुक्तिबाबु रेग्मी, काठमाडाै‌ं | प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका पदकधारी खेलाडीले प्रतियोगिता सकिएको दुई महिना वित्दा पनि अझैं पुरस्कार पाउन सकेका छैनन् । प्रदेश ५ का नेपालगञ्ज र दाङ लगायतका स्थानमा भएको आठौं राष्ट्रिय खेलकुदको कुल खर्चको फच्र्युटको काम पनि पुरा नभइसकेको अवस्थामा खेलाडीले पाउने पुरस्कार उनीहरुले हात पार्न नसेका हुन् ।

सातौं राष्ट्रिय खेलुकदका बेला पनि ४ महिनापछि मात्र खेलाडीको हातमा पुरस्कार रकम परेको थियो । जसमा आठौंका स्वर्ण जित्ने खेलाडीले कहिले उनीहरुको पदकको पुरस्कार पाउने हुन, त्यो अझैं यकिन छैन ।

३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि प्रतिस्पर्धा भएकाे थियाे । ३५ खेलमा तीन सय १३ खेलाडीले स्वर्णपदक जितेका थिए । जसमा धेरै स्वर्ण जित्नेमा गौरीका सिंह रहिन् । उनले सात वटा राष्ट्रिय किर्तीमान समेत बनाइन । राष्ट्रिय खेलकुद परिषदले प्रतियोगितामा स्वर्ण पदक जित्नेमा ब्यक्तिगत तर्फ १५ हजार र टिम इभेन्ट्समा ७ हजार एक खेलाडीलाई दिने बताएको थियो । त्यसमा राष्ट्रिय कीर्तिमान बनाउनेलाई छुट्टै २५ हजार रुपैयाँ दिन बताएको थियो ।

तर प्रतियोगिता सकिएर पनि यसको चर्चा सेलाइसकेको अवस्थामा खेलाडी भने आफूले जितेको पदकको पुरस्कार कहिले पाउला भनेर कुरिरहेका छन । आठौंमा धेरै स्वर्ण पदक जित्नेमा त्रिभुवन आर्मी क्लव हाे । उसले एक सय ४० पदक जितेको छ ।

पुलिसले ६२ स्वर्ण पदक जित्दा एपीएफले ५४ तथा प्रदेश ३ ले २२ र गण्डकीले १२ स्वर्णपदक जितेको थियो । यस्तै प्रदेश ५ ले ११ स्वर्ण जित्दा सुदूरपश्चिमले आठ, प्रदेश एकले नौ स्वर्ण, प्रदेश दुई, एनआरएनले ६–६ र कर्णालीले तीन स्वर्ण जितेका थिए ।

कसैलाई मतलव छैन : खेलाडीसंघका अध्यक्ष दीपक श्रेष्ठ

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधामन्त्री कप क्रिकेटको समापन पछि पुरस्कार राशीमा बोलेको भन्दा फरक दिएको समाचारहरु छ्याप्छयाप्ती भएपछि परिषद्को सचिवालयले प्रतियोगिता अगाडी बोलेको पुरस्कारहरु इभेन्ट ब्यवस्थापक कम्पनीबाट उपलब्ध गराउने भन्दै स्टेटस राखियो ।

त्यसको तल कराँतेका प्रशिक्षक तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ आँठौंको पुरस्कार कहिले पाउने भन्ने सारमा प्रतिक्रिया दिएका थिए । त्यो देखेर उनीसँग जान्न खोज्दा आँठौको पुरस्कार कुनै पनि खेलाडीले नगद पुरस्कार नपाएको बताए ।

सातौंमा पनि खेलाडीले झण्डै चार महिनाकाे ताकेतापछि बल्ल खेलाडीले पुरस्कार हात पारेका थिए । यस पटक पनि अहिलेसम्म पुरस्कारको कुनै अत्तोपत्तो छैन । परिषद्‌मा भन्दा उनीहरु अझै विभिन्न बाहान बनाइरहेको उनले बताए । खेलाडीको पुरस्कारका लागि परिषद्लाई खेलाडी संघले पनि कुरा गरेको तर अझैं त्यसको ठोस उत्तर नआएको बताए ।

‘खेलाडीलाई अन्योलमा राख्नु भन्दा एउटा मिति दिएर त्यो बेलासम्म हुन्छ भनेर बताए खेलाडी पनि ढुक्क हुने थिए,’ श्रेष्ठले भने ।

‘खेलकुदको जिम्मेवार निकायले आफूले दिनुपर्ने रकम दिन किन ढिलाई गरिरहेको छ, त्यो अचम्म लाग्छ’ दीपक श्रेष्ठ, अध्यक्ष नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी स‌ंघ ।

के गर्दैछन् संघहरु ?

कुनै पनि प्रतियोगितामा खेलाडीले पुरस्कार दिए पनि उनीहरुले त्यो पुरस्कार समयमा पाएका छन् की छैनन्, त्यसको रेखदेख सम्बन्धित संघले गर्नुपर्ने हो । तर आठौंको पुरस्कार आफ्ना खेलाडीले महिनौंसम्म नपाउँदा पनि संघका पदाधिकारीहरु भने कानमा तेल हालेर बसेका छन् ।

उनीहरु खेलाडीले पुरस्कार पाए कि पाएनन् भन्ने कुनै चासो नदिई बसिरहेका छन् । यतिमात्र होइन, जुन क्षेत्रलाई परिषद्ले आँठौंका लागि भनेर रकम दिएको थियो, त्यसको फर्स्याेट पनि हुन बाँकी छ । जसको असर आठौंको पूर्ण बजेट फर्स्याेटमा पनि परेको छ ।

परिषद् के भन्छ ?

आठौंका लागि मागेको पूर्ण बजेट नआएका कारण अहिले अपुग रकम निकासलागि पहल गरिरहेकाे परिषद्काे जवाफ छ । खर्च भएको रकम फर्स्याेट गर्ने काम भइरहेको र अपुग रकमका लागि पठाइएको फाइल अर्थ मन्त्रालय पुगेको हुनाले त्यसको निकासा भएपछि खेलाडीले पाउने पुरस्कार सक्दो चाँडो उपलब्ध गराउने परिषद्का सदस्‍य सचिव केशबकुमार विष्टले बताए ।

खेलाडीले पुरस्कार अवश्य पाउनेछन्, त्यमा हाम्राे दुई मत छैन, मूख्य कुरा बजेट हो, परिषदले आफूले नचाहेर नदिएको होइन । ढिलो चाँडोको कुरा हो, यसलाई ठूलो मुद्दा बनाउन जरुरी पनि छैन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey