५० बर्षमा नबनेका पूर्वाधार मेराे पालामा बनेका छन : सदस्य सचिव विष्ट (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-११
  • |
  • 222 पटक हेरिएको

काठमाडौं, ११ जेठ । नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद्को कार्यकारी पद सदस्य सचिव केशब कुमार विष्टको चार वर्षे कार्यकाल पुरा हुँदै छ । ४ वर्ष अघि राखेपको सदस्यसचिवमा तत्कालिन नेकपा एमालेको सिफारिसमा नियुक्त भएका थिए ।

उनको नियुक्तीको विषयमा आफ्नै पार्टीभित्र आलोचना झेल्दै सदस्यसचिवको कार्यभार सम्हालेका विष्ट पछिल्लो समय ४ वर्षे कार्यकाल पुरा गर्ने दोस्रो सदस्यसचिव हुन् ।

यसअघि युवराज लामाले सर्वोच्च अदालतको पत्रका आधारमा चार वर्षे कार्यकाल पुरा गरेका थिए । त्यसअघि सरकार फेरिए पछि सदस्यसचिव फेरिने परम्पराको अन्त्य पनि भएको छ । सदस्यसचिव विष्टले ४ वर्षे कार्यकालमा २ वटा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरेर थीति बसाल्ने प्रयास पनि गरेका छन् ।

म सन्तुष्ट छु

आफैले आफैलाई मुल्यांकन गर्न गाह्रो हुन्छ । नेपाली खेलकूदको विवाद र चुरो कुरो मलाई थाहा थियो । त्यसैले विवाद समाधान देखि नेपाली खेलकूदलाई चलाएमान बनाउन सफल भए । धेरै साथीहरुले मेरो कार्यकालमा राम्रो काम भएको भन्नु भएको छ । त्यसैले म सन्तुष्ट छु । मेरो शक्तिले जे जती गर्न सके मैले राम्रो काम गरेको छु । यसको अर्थ सबै भएको छ, पर्याप्त भएको छ भन्ने कुरा होइन् । अझै काम गर्न बाँकी नै छन् ।

खेलकूदमा अपुग
खेलकूदमा अपुगको कुरा गर्ने हो, अझै खेलाडीहरुको सुविधा बृद्धि गर्न सकिएको छैन् । प्रशिक्षकहरुको दक्षता अभिवृद्धि गर्ने लगाएतका कुराहरु बाँकी नै छन् । पूर्वाधारहरु अझै धेरै बनि सकेका छैनन् । खेलकूदको गरिम बढाउन अझै बाँकी छ । खेलकूद प्रतिको आकर्षण आस्था र विश्वास पैदा गर्न बाँकी छन् । त्यता तर्फका काम गर्न बाँकी छ । धनी देशको तुलनामा हामी यो विषयमा अझै तल छौं । तर विगतको तुलनामा भन्दा यसलाई धेरै माथि उठाउने प्रयास गरेका छौं । अहिलेको हिसाबले नेपाली खेलकूद अघि बढेमा ५ वर्षभित्र नेपाली खेलकूद समृद्ध हुने दिशामा अघि बढेको छ है भन्ने सन्देश दिन सक्छौं ।

तपाईको चुनौती
खेलकूदमा आन्दोलन धर्ना कलह पर्याय नै बनेका थिए । म आउँदा सुरुमा त्यहि कुरालाई नै मैले ठूलो चुनौती मानेको थिए । खेलकूदमा अस्तव्यस्त वातावरण, अविश्वासको वातावरण लाई अन्त्य गर्ने विषयमा मलाई राम्रोसँग थाहा थियो । हामीले लेनिनको सिद्धान्त अनुसार अन्र्तविरोधको समाधान गर्ने विषय सानैदेखि अध्ययन गरेको हुनाले काम गर्न सहज भयो । मैले विवाद मिलाउन सफल भएकाले मेरो कार्यकालमा खेलकूदमा विवाद नभएको हो । मैले यहाँ जादु गरेर केही पनि गरेको होइन् ।

कर्मचारी भित्र विभेद

राखेपमा रहेक कर्मचारीहरुलाई विभेद भएको छ । १५ वर्षदेखि अस्थायीरुपमा काम गर्दै आएका छन् । त्यो समाधानका लागि लामो समय देखि पहल गरे । अहिले दरबन्दीको समस्या समाधान भएको छ । मेरो अबधि अव १ महिना मात्रै बाँकी छ । तर पनि एक महिनाभित्र बढुवाको काम शुरु गर्छु ।

बढुवा सँगसँगै करारमा रहेका कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया पनि शुरु गर्छु । अहिले भएको कर्मचारीको दरबन्दीले खेलकूदलाई पुग्दैन । त्यसकालागि नयाँ दरबन्दी थप गर्नु पर्ने आवश्यकता छ । हामीलाई दक्ष प्रशिक्षक र जनशक्तिको ठूलो खाँचो छ । हामीले लिएको लक्ष्य अनुसार खेलकूदबाट सफलता हात पार्ने हो भने त्यस अनुसारको जनशक्ति खेलकूदमा ल्याउनु पर्छ । त्यसका लागि दरबन्दी थप गर्ने विषयमा पहल भइरहेको छ ।

सगरमाथाको देश भन्दा मलाई गर्व लाग्दैन

नेपालको सबैभन्दा विश्वासको क्षेत्र भनेर खेलकूदलाई बनाउने हो । यसलाई सबैको आकर्षणको केन्द्र बनाउ भन्ने मेरो स्पष्ट मिसन पनि हो । मलाई सगरमाथाको देश नेपाल भनेर चिनाउनमा गर्व लाग्दैन । किन भने त्यो हामीले बनाएको होइन । सगरमाथा त प्रकृतिले दिएको उपहार हो । यसमा त हाम्रो रगत पसिना केही पनि परेको छैन् ।

त्यसैले नेपाललाई चिनाउनका लागि खेलकूद नै हो । अहिले के कुरा पुष्टि भएको छ भने खेलकूदलाई व्यवस्थित गर्ने हो भने यसलाई राम्रो मलजल गर्‍यौं भने खेलकूदले नेपाललाई विश्वस्तरमा चिनाउन सजिलो हुन्छ । नेपाललाई चिनाउन खेलकूद नै काफी छ । मेरो भित्रैदेखिको इच्छा शक्ति के छ भने खेलकूदलाई नै नेपालको पर्याय बनाउने हो । अहिले हामीले पयर्टनलाई अर्थतन्त्रको मेरुदण्ड मानेका छौं, त्यो भन्दा कयौं गुणा बढी नेपाली खेलकूदलाई पर्यटनसँग जोडेर जाने हो भने विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।

५० वर्षमा नभएका भौतिक पूर्वाधार बने

मेरो चार वर्ष र युवराज लामाको एक वर्ष गरि ५ वर्षे कार्यकालमा भौतिक पूर्वाधारहरु निकै बनेका छन् । राखेपको ५५ वर्षको इतिहासमा हामीले पहिलो ५० वर्ष र पछिल्लो पाँच वर्षको भौतिक पूर्वाधारको कुरा गर्ने हो पाँच वर्षमा धेरै पूर्वाधारहरु बनेका छन् । अहिले झण्डै ७ सय भन्दा बढी भौतिक पूर्वाधारहरु बन्ने चरणमा छन् । पहिला केन्द्रमा मात्रै र विकास क्षेत्रका साथै सिमित जिल्ला सदरमुकामहरुमा मात्रै बन्ने गर्थे । तर म नेतृत्वमा आइसकेपछि संघीयताको मोडल अनुसार अहिले हरेक स्थानीय तहमा खेल पूर्वाधारहरु बन्ने क्रममा छन् ।

मुलपानीको काम प्रक्रियामा

मूलपानी क्रिकेट मैदानमा १४–१५ वर्षदेखि जग्गाको मुआव्जाको विवाद रहेको थियो । त्यो विवाद समाधान भएको छ । अहिले निर्माणको एउटा खण्ड बनिसकेको छ अर्को खण्ड पनि टेण्डरको प्रक्रियामा छ । ग्राउण्डमा खेल्नका लागि योग्य भइसकेको छ । खेलाडीलाई खेल्नका लागि त भइसकेको छ । तर दर्शकहरुलाई बस्नका लागि व्यवस्था गर्न बाँकी छ । त्यसका लागि २ वर्ष अझै कुर्नु पर्ने हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey