म्यान्चेष्टर युनाइटेड विजयी हुँदा प्यालेसलाई रेलिगेसनको दबाब
- नेप्लेज
- |
- २०७४-११-२२
- |
- 169 पटक हेरिएको
फागुन २२ । क्रिष्टल प्यालेसले लिएको दुई गोलको अग्रता उल्टउँदै म्यान्चेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित हात पारेको छ ।
प्यालेसको मैदानमा भएको खेलमा नेमान्जा माटिकले अन्तिम समयमा गोल गरेपछि युनाइटेडले गुमाइसकेको खेलबाट तीन अंक खोसेको हो ।
११ औं मिनेटमा एन्द्रोज टाउन्सेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवात अग्रता दिलाए । पहिलो हाफमा सो अग्रता रक्षा गरेको प्यालेसले
४८ औं मिनेटमा दोस्रो गोल ग¥यो । यस पटक प्याट्रिक भ्यान आनहोल्टले गोल गरेका थिए ।
रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको क्रिष्टल प्यालेसले दुई गोल गरेपछि रेलिगेशनको दबाब केही कम हुने पक्का थियो ।
तर उसले सो अग्रता जोगाउन सकेन । ५५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै प्यालेसको अग्रता छोट्याएका थिए । स्मलिङले भ्यालेन्सियाको क्रसमा गोल गरे ।
७४ औं मिनेटमा माटिकको प्रहार क्रिष्टियन बेन्टेकेले क्लियर गरे । त्यसको दुई मिनेटपछि रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरीमा पुर्याए । एलेक्सिस सान्चेजको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई लुकाकुले गोलमा परिणत गरेका थिए ।
७७ औं मिनेटमा क्रिष्टियन बेन्टेकेको हेडरलाई युनाइटेडका गोलकिपर डेविड डि गियाले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयमा नेमान्जा माटिकले २५ यार्ड टाढाबाट गोल गरेपछि प्यालेस घरेलु मैदानमा स्तब्ध भएको थियो ।
तालिकामा म्यान्चेष्टर युनाइटेडले २९ खेलबाट ६२ अंक बनाएको छ । प्यालेस भने २७ अंक सहित रेलिगेशन जोनमा छ ।