महत्वाकांक्षाले असफल बनाएको त्यो विश्वकप छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 216 पटक हेरिएको

लगातारको सफलताका कारण नेपाली टिममा जोश थियो । हिम्मत थियो । कारण सन् २०१३ मा नेपाली टिमले दुई ठूला अन्तर्राष्ट्रिय सफलता हात पारेको थियो । त्यसमध्ये मेमा नेपालले बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेको थियो । विजेताकै हैसियतमा नेपाल एक दिवशीय विश्व कप छनोटका लागि योग्य भएको थियो ।

नोभेम्बरमा नेपालले पहिलो पटक टि–२० विश्वकपमा छनोट भएसँगै नेपाली खेलाडीहरुले यस्तो सोच्न थालिसकेका थिए कि हामीलाई कसले हराउने ?

टि–२० विश्वकपमा छनोट भएको दुई महिनापछि नेपालले न्युजिल्याण्डमा एकदिवशीय विश्वकप छनोट खेल्यो । श्रीलंकामा दुई साताको अभ्यासपछि उतैबाट न्युजिल्याण्ड गएको नेपाली टोलीले न्युजिल्याण्डमा यस्तो खेल्यो कि त्यस प्रतियोगितालाई टिमका कुनै खेलाडी पनि सम्झन चाहँदैनन् ।

एक पछि अर्को सफलताले बढाएको महत्वाकांक्षा न्युजिल्याण्डमा प्रत्युत्पादक बन्यो । मुख्य खेलाडीको इन्ज्युरी र विमारीलाई कारण मानिएपनि न्युजिल्याण्डमा नेपालको असफलताको मुख्य कारण ‘ओभर कन्फिडियन्स’ नै भएका टोलीका तत्कालीन विकेटकिपर तथा ओपनर सुवास खकुरेलको ठम्याई छ । भन्छन्, ‘डिभिजन थ्रीको च्याम्पियन भएसँगै हामी ट्वान्टी ट्वान्टी विश्वकपका लागि पनि छनोट भइसकेका थियौं, त्यतिबेला हामीले सोचेका थियौं कि हामीलाई कसले हराउने ?’

‘न्युजिल्याण्डमा सबै एशोसियट मुलुकहरु थिए, केहि त हामीले यसअघि पनि खेलिसकेको र जित्दै आएको टिम थियो ।’

प्रतियोगितामा नेपाल समूह ए मा थियो । स्कटल्याण्ड, हङकङ, युएई र क्यानडा सम्मिलित त्यस समूहमा नेपालले एउटै खेल पनि जित्न सकेन । विश्वकप छनोट हुने लक्ष्य लिएर न्युजिल्याण्ड पुगेको नेपाली टिम उल्टै डिभिजन थ्रीमा घटुवा पो भयो । त्यतिमात्र होइन नेपाल पहिलो प्लेअफमा नेदरल्याण्डसँग पराजित भयो भने अन्तिम खेलमा युगाण्डालाई हराएर १० टोली सम्मिलित प्रतियोगितामा नवौं भयो ।

‘हामीले धेरै अपेक्षा गर्दा हामी नराम्रोसँग चुक्यौं, इन्ज्यूरी र बिमारी गौण थिए, त्यतिबेलाका कोही पनि टिमका सदस्यले त्यस विश्वकप छनोटलाई सम्झन पनि चाहन्नौं ।’ सुवासले सुनाए ।

नेपाली टोली सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप छनोटका लागि जिम्बाबेमा छ । नेपालले आज घरेलु टोलीसँगको खेलसँगै विश्वकप छनोट यात्राको औपचारिक सुरुआत गर्दैछ ।

नेपालजस्ता एशोसियट टोलीका लागि न्युजिल्याण्ड भन्दा जिम्बावे टूर निकै कठिन छ । समूह चरणमै नेपालले दुई टेष्ट मान्यताप्राप्त टोलीहरु जिम्बाबे र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बाँकी दुई स्कटल्याण्ड र हङकङ पनि नेपालका लागि चुनौति बन्न सक्छन् ।

सन् २०१४ को विश्वकप छनोट खेलेका ५ खेलाडी अहिले पनि नेपाली टोलीमा छन् । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र सोमपाल कामी अहिलेको जिम्बाबे टूरमा छन् ।

इन्ज्यूरीका कारण टिममा नरहेका सुवास खकुरेलको जिम्बाबेमा रहेका टिममेटलाई यो सुझाव छ कि ‘हामीले रक्षात्मक भएर खेल्नुपर्छ ।’ उनले थपे, ‘प्रत्येक म्याच डे मा जसले राम्रो क्रिकेट खेल्छ उसैले जित्ने हो, क्रिकेटमा जुनसुकै बेला पनि नतिजा उलटपुलट हुनसक्छ त्यसैले नेपाली टोली धेरै महत्वाकांक्षी हुनु जरुरी छैन, हामी दवावमुक्त भएर खेल्नुपर्छ ।’

‘अवश्य पनि जिम्बाबे हामीभन्दा धेरै बलियो टिम हो । तर, उसको पछिल्लो समयको प्रदर्शन हेर्दा हामीले जित्नै नसक्ने पनि होइनौं । त्यसैले, हामीले हारेर गुमाउनु केहि छैन, फ्री भएर खेल्नुपर्छ ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey